काठमाडाैँ - एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणका क्रममा मार्कस्लिपमा अंक चढाउँदा र कम्प्युटरमा चढाउँदा त्रुटि भएको पाइएको छ।
२०८० सालको एसईईको नतिजाप्रति चित्त नबुझी पुनर्योगका लागि आवेदन दिएकाहरूको नतिजा परिवर्तन हुँनुकाे कारण मार्कस्लिपमा अंक चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा बढी त्रुटि भएको पाइएकाे हाे।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० मा २०८० सालको एसईईको नतिजालाई लिएर पुनर्योगका लागि १८ हजार ६१२ निवेदन दिएका विद्यर्थीहरू मध्ये १८ हजार ९६ को नतिजा सार्वजनिक भइसकेको छ।जस अनुसार ८४३ विषयमा नतिजा परिवर्तन भएको छ। सो भनेको कुल आवेदनको ४.६ प्रतिशत हुन आउँछ।
पनिकाले दिएको जानकारी अनुसार परिवर्तन भएको ४.६३ प्रतिशतको कारण पत्ता लगाइएको छ। परीक्षणमा त्रुटि ०.७० प्रतिशत, उत्तरपुस्तिका बाहिर अङ्क चढाउँदा त्रुटि भएको ०.९४ प्रतिशत, बाहिर अङ्क जोड्दा त्रुटि भएको ०.८७ प्रतिशत, मार्कस्लिपमा अंक चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा त्रुटि भएको १.१४ प्रतिशत, परीक्षण गर्दा र जोड्दा दुवैमा त्रुटि भएको ०.०४ प्रतिशत, उत्तरपुस्तिका बाहिर चढाउँदा र जोड्दा त्रुटि भएको ०.९२ प्रतिशत, जोड्दा र इन्ट्री गर्दा त्रुटि भएको ०.०१ प्रतिशत र परीक्षण गर्दा, अंक चढाउँदा र जोड्दा त्रुटि भएको ०.०१ प्रतिशत रहेको तथ्यांकले जनाएको छ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले पुनर्योगकाे नतिजा परिवर्तन हुनुकाे कारण सबैभन्दा बढी उत्तरपुस्तिका परीक्षककै त्रुटि देखिएको बताए। 'उत्तरपुस्तिका परीक्षणमा हतार गरिएको छ' उनले भने। उनले यसपटक बढीको नतिजा परिवर्तन भएको भनि गलत प्रचार भएको दावी गरे।
२०७९ सालको एसईईको नतिजाप्रति चित्त नबुझेपछि पुनर्योगका लागि तीन हजार ४५६ को आवेदन परेकोमा ९६४ अर्थात् आवेदनको २५ प्रतिशत र २०७८ सालमा ६४१ को आवेदन परेकोमा २९८ अर्थात् ४.९३ प्रतिशतको नतिजा परिवर्तन भएको थियो।