काठमाडाैँ- चिकित्सा शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। विद्यार्थीको रोजाइ, अभिभावकको चाहना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा दक्षजनशक्तिको मागले विद्यार्थीको आकर्षण बढेको जानकारहरू बताउँछन्।
चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोगले स्नातक तहमा १४ वटा विषय अध्ययन गर्न विद्यार्थीलाई ७ हजार ६५९ सिट निर्धारण गरेको छ। स्नातक तहमा ब्याचलर अफ नर्सिङ (बीएनएस) अध्ययन गर्न १ हजार ३१० कोटा निर्धारण गरेको छ। मिडवाइफीमा १३०, परफ्युजन टेक्नोलोजीमा पाँच, आयुर्वेद चिकित्सा (बाम्स) मा ८०, अडियोलोजी र भाषा प्याथोलोजी (बीएएसएलपी) मा ६, डेन्टल सर्जरी (बीडीएस) मा ५६०, अप्टोमेट्रीतर्फ ७० जनाका लागि कोटा निर्धारण गरिएको छ।
स्नातक तहमा ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) मा ८४०, फार्मेसीमा ८१५, फिजियोथेरापी (बीपीटी) मा १४०, बीएससी एमआईटीमा ७७, बीएससी एमएलटीमा ३८१, बीएससी नर्सिङमा १ हजार ३५०, एमबीबीएसमा १ हजार ८९५ सिटसंख्या निर्धारण गरिएको छ।
एकीकृत प्रवेश परीक्षा अनिवार्य
आयोगले प्रत्येक वर्ष स्नातक तहमा एकीकृत प्रवेश परीक्षा लिने गरेको छ। प्रवेश परीक्षामा उत्तीर्ण भएपछि मात्र चिकित्सा शिक्षातर्फका विषय अध्ययन गर्न पाइन्छ। त्यसैले छात्रवृत्ति कोटामा नाम निकाल्न प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थी धेरै छन्।
छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि परीक्षामा सहभागी भएर असफल भएका विद्यार्थीले अर्को पटकको परीक्षाका लागि पनि तयारी गर्छन्। तीमध्ये कतिपयले अन्य विषय पढ्न लाग्छन् भने कोही भने विदेश जाने गरेका छन्।
नेपाली विश्वविद्यालयमा सीमित सिट भएका कारण विद्यार्थी मेडिकल शिक्षा आर्जन गर्न विदेश जाने गरेको सरोकारवालाको बुझाइ रहेको छ।
मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थी चीन, बंगलादेश, फिलिपिन्सलगायतका मुलुकमा जाने गरेका छन्। नर्सिङ, जनस्वास्थ्य शिक्षा, प्रयोगशाला विज्ञान (मेडिकल ल्याब्रोटरी टेक्नोलोजी) लगायतका विषय अध्ययन गर्न भने नेपाली विद्यार्थी भारत, अस्ट्रेलिया, बेलायत जाने गरेका छन्।
नेपालमा एक दर्जनभन्दा बढी चिकित्सा शिक्षाका अध्ययन संस्था छन्। ती शिक्षण संस्थामा ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी (एमबीबीएस) पढाइ हुन्छ।
आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ मा नेपालबाट अन्य मुलुकमा उच्चशिक्षा अध्ययन गर्न जाने व्यक्तिले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ अनुसार विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र दिने अधिकार आयोगलाई मात्र छ।
विदेश अध्ययनमा जानुपूर्व आयोगको अनुमतिपत्र लिनैपर्छ। त्यसपछि स्टेटमेन्ट अफ निड, नो अब्जेक्सन लेटर, गुड स्ट्यान्डिङ सटिर्फिकेटजस्ता सिफारिसपत्र लिन पाइन्छ।
आवश्यक योग्यता, खर्च र छात्रवृत्ति
चिकित्साशास्त्र अध्ययन गर्न मुख्य विषय बायालोजी लिएर कक्षा १२ मा उत्तीर्ण हुनुपर्छ। त्यसपछि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा दिन पाइन्छ। उत्तीर्ण विद्यार्थीले मेरिटका आधारमा कलेजमा भर्ना हुन फाराम भर्नुपर्छ।
चिकित्सा शिक्षा अध्ययन गर्न खर्चिलो छ। काठमाडौँ उपत्यकाबाहिर एमबीबीएस पढ्न ४५ लाख ९५ हजार ७२० रुपैयाँ तोकिएको छ। यस्तै उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको आयोगले जनाएको छ। यस्तै बीडीएसको १० लाख ९२ हजार २९० तोकिएको छ।
सरकारले चिकित्सा शिक्षातर्फ छात्रवृत्ति उपलब्ध गराउँछ। एमबीबीएसमा ४३०, डेन्टल सर्जरी (बीडीएस) मा १०८, बीएसीएमआईटीमा २६, नर्सिङ साइन्स (बीएनएस) मा ४९२ जनालाई छात्रवृत्ति कोटा निर्धारण गरिएको आयोगले जनाएको छ।
मिडवाइफीमा ८४, परफ्युजन टेक्नोलोजीमा तीन, आयुर्वेद चिकित्सा (बाम्स) मा ६०, अडियोलोजी र भाषा प्याथोलोजी (बीएएसएलपी) मा चार, अप्टोमेट्रीमा ५२ जनाले छात्रवृत्तिमा पढ्न पाउँछन्।
स्नातक तहमा ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) मा २१२, फार्मेसीमा १९०, फिजियोथेरापी (बीपीटी) मा २८, बीएसीएमआईटीमा ७७, बीएससी एमएलटीमा १२१, बीएससी नर्सिङमा ४३९ विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ।
छात्रवृत्तिको मेरिटबाहेक पूर्ण शुल्क तिरेर विद्यार्थीले कलेजको बाँकी सिटमा मेरिटकै आधारमा भर्ना हुन पाउँछन्। गरिब, दलित, जनजाति वर्गले पनि ‘मेरिट’का आधारमा पूर्ण छात्रवृत्ति पाउने व्यवस्था छ।
विदेशी शिक्षण संस्थामा अध्ययनका लागि पनि सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। सम्बन्धित मुलुकका दूतावासमार्फत लिइने परीक्षामा नाम निकाल्ने हो भने विदेशमा सस्तोमै अध्ययन गर्न सकिन्छ। चीन, बंगलादेश, रुसलगायतका मुलुकमा पूर्ण छात्रवृत्तिमा पढ्न जान पाइन्छ।
एमबीबीएस
नेपालमा एमबीबीएस अध्ययनको लागि विद्यार्थीको संख्या बढ्दो क्रममा छ। विश्वविद्यालयमा सिमित कोटा भएका कारण सबै विद्यार्थीले एमबीबीएस अध्ययन गर्न पाएका छैनन्। नेपालमा सन् १९७२ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुरु भएको चिकित्सा अध्ययन संस्थान अन्र्तगतको एमबीबीएसको पठनपाठनका लागि प्रत्येक वर्ष प्रवेश परीक्षा सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने प्रवेश परीक्षामा ३० हजार भन्दा बढी विद्यार्थीले आवेदन दिने गरेका छन्। मेडिकल शिक्षालाई अन्य विषयको तुलनामा सबैभन्दा महंगो शिक्षाको रुपमा लिने गरिन्छ।
नेपाल सरकारले चिकित्सा शिक्षालाई मध्यनजर गरी एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
बीडीएस
नेपालमा चिकित्सा शिक्षा अन्तर्गत दन्त चिकित्सा (बीडीएस) विद्यार्थी माझ लोकप्रिय विषय हो। ब्याचलर अफ डेन्टल सर्जरी नेपालमा ५.५ वर्षको कार्यक्रम हुन्छ जसमा ४ वर्ष ६ महिनाको पूर्ण समय अध्ययन र १ वर्ष अनिवार्य इन्टर्नशिप गर्नुपर्ने हुन्छ। नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीडीएस अध्यापन हुन्छ।
नेपाल सरकार चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्रका लागि बीडीएस कार्यक्रमका लागि प्रत्येक वर्ष ५-६ सय सिट निर्धारण गर्छ।
बीएससी नर्सिङ
नर्सिङ शिक्षा करिअर र स्कोपका हिसाबले विश्वबजारमा नै रोजगारीको अवसर भएको विषय हो। नेपालमा नर्सिङमा स्नातक तह (बीएससी नर्सिङ) त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तर्गतका संस्थाहरुमा अध्यापन हुन्छ। विद्यार्थीले नर्सिङ अध्ययनको लागि कक्षा १२ मा जीवविज्ञान विषय लिएर उत्तीर्ण भएको हुनुपर्छ। विद्यार्थीले कक्षा १२ मा जीवविज्ञान विषय लिएर (ए–लेभल)मा ५० प्रतिशत वा समग्रमा सिप्लस वा सो बराबरको योग्यता आवश्यक हासिल गरेको हुनुपर्छ। नेपालमा बीएससी नर्सिङ चार वर्षे स्नातक तहको कोर्स हो।
सूचना प्रविधि क्षेत्रको तिव्रतर विकासले नर्सिङमा आकर्षण बढेको र नेपालका विश्वविद्यालयले समयानुसार पाठ्यक्रम पनि परिमार्जन गर्दै लगिरहेको भएता पनि नर्सिङमा विद्यार्थीले आफ्नो भविष्य विदेशमा नै तय गर्न रुचाउँछन्। नेपालको ग्रामीण क्षेत्रहरुमा कतिपय विद्यार्थीले आजको समयसम्म चाहेर पनि नर्सिङ विषय पढ्न पाएका छैनन्।
२०२४ मा, सरकारले नेपालमा नर्सिङमा बीएससी पढ्न चाहने विद्यार्थीहरूको लागि ५३५ छात्रवृत्ति सिट निर्धारण गरेको छ। उपलब्ध छात्रवृत्ति सीटहरू सामान्य छात्रवृत्ति (५५प्रतिशत अर्थात्, २९४ सीटहरू) र आरक्षण छात्रवृत्ति (४५ प्रतिशत अर्थात्, २४१ सीटहरू) निर्धारण गरिएको छ।
नेपालमा स्नातक तहमा नर्सिङ अध्ययन गर्न ८ लाख देखि १६ लाख रुपैयाँसम्म खर्च हुन्छ।