काठमाडाैँ- पछिल्लो समय इन्जिनियरिङ शिक्षा अध्ययन गर्न विद्यार्थी विदेशीने क्रम बढ्दो छ। विद्यार्थी विदेशीने क्रम बढेसँगै नेपालका शिक्षणसंस्था पनि धरासायी बन्न पुगेका छन्। सरकारले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै रोजगारीको अवसर सिर्जना गर्न नसक्दा यस्तो अवस्था आएको तर्फ सरोकारवालाको बुझाइ रहेको छ। इन्जिनियरिङ शिक्षाको पछिल्लो अवस्था, कलेजले भोग्नुपरेका समस्या, समाधानको उपाय, अध्ययन पश्चातका अवसर लगायतका विषयमा एक्मी इन्जिनियरिङ कलेजका संस्थापक प्राचार्य एवं अध्यक्ष वसन्तचन्द्र मरहट्टासँग गरिएको कुराकानीको मुख्य अंश।
पछिल्लो समय इन्जिनियरिङ शिक्षाको अवस्था कस्तो पाउनुभएको छ?
इन्जिनियरिङ शिक्षाको पछिल्लो अवस्थाको कुरा गर्दा नेपालको समग्र शिक्षा प्रणाली नै अफ्ट्यारो स्थितिबाट गुज्रिएको अवस्था छ। पछिल्लो समय इन्जिनियरिङ शिक्षा तर्फ देखिएको राजनीतिक प्रभावका कारण समस्या बढ्दै गएको छ। सरकारले समग्र शिक्षा प्रणालीलाई ध्यान दिन नसक्दा निजी शिक्षणसंस्था धरासायी हुने अवस्थामा पुगेका छन्। इन्जिनियरिङ कलेजको संख्या बढेसँगै यसमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ। विश्वविद्यालयले पनि बजारको आवश्यकता र शिक्षणसंस्थाको पूर्वाधार हेरेर मात्र विषय अध्यापन गर्न दिनुपर्छ। स्नातक तहमा इन्जिनियरिङ शिक्षा अध्ययनका लागि विद्यार्थी विदेशिने क्रम बढेसँगै संख्यात्मक रुपमा नेपाली शिक्षणसंस्थामा विद्यार्थीको संख्यामा कमी आएको छ।
नेपाली इन्जिनियरिङ शिक्षण संस्था धरासायी हुनुको कारण के देख्नुहुन्छ?
विद्यार्थी पढ्न भन्दा पनि अवसरको खोजिमा विदेश गएका हुन्। विद्यार्थी विदेशीनुको प्रमुख कारण विकास निर्माणका काम हुन नसक्दा रोजगारीको अवसर कम हुनु नै हो। समग्र रुपमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्यामा कमि आएसँगै नेपालका कलेजमा विद्यार्थी संख्या घटेको हो। विश्वविद्यालयले शिक्षामा सुधार गर्दै लगेको अवस्था छ। तर अध्ययन पश्चात अवसरको सुनिश्चितता नहुदा विद्यार्थी नेपालमा बस्न चाहिरहेका छैनन्।
विश्वविद्यालयको पठनपाठन र पाठ्यक्रमका कारण त विद्यार्थी विदेशीयका होइनन् नि?
विद्यार्थी विदेशीनुको कारण नेपाली विश्वविद्यालयको शैक्षिक गुणस्तरमा प्रश्न उठाएर होइन नेपालमा भविष्य नदेखेर हो। त्यसैले राज्यले शैक्षिक गुणस्तरमा सुधार गर्दै अवसरको सृजना गर्न सक्नुपर्छ। विश्वविद्यालयको शैक्षिक गुणस्तरको हिसाबले पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थीको आकर्षण छ। इन्जिनियरिङ शिक्षा तर्फ पाठ्यक्रमको कारणले उतारचढाब त हुन्छ तर पाठ्यक्रम वा पठनपाठनका कारणले यसमा फरक परेको होइन। यसको प्राथमिकतामा कलेज अनुसार फरक पर्छ। यस्तो हुनुको कारण शैक्षिक प्रणालीमा देखिएको समस्या नै हो।
विद्यार्थी इन्जिनियरिङ शिक्षातर्फ नेपालमा अध्यापन नहुने विषय पढ्न पनि त विदेश गएका छन् नि?
विश्वविद्यालयले बजारको माग अनुसारका नयाँ कार्यक्रम थप गर्दै लैजानुपर्छ। त्यसका लागि हामीले पनि भन्ने गरेका छौँ। नयाँ विषय थप गर्ने सवालमा विश्वविद्यालय नै जिम्मेवार हुनुपर्छ। इन्जिनियरिङ काउन्सिलले पनि यस विषयलाई गम्भिरतापूर्वक ध्यान दिनुपर्छ। थोरै विद्यार्थी मात्र नेपालमा नभएका विषय अध्ययन गर्न विदेश गएका छन्।
पछिल्लो समय इन्जिनियरिङ शिक्षा प्रादायक निजी लगानीका कलेजले के - कस्ता समस्या भोग्नुपरेको छ?
इन्जिनियरिङ कलेजमा गरेको लगानी गुम्ने अवस्था छ। हामीले गरेको लगानीको सुरक्षा गर्ने दायित्व राज्यको हो। राज्यले विद्यार्थीलाई नेपालमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा संभव छ भनेर बुझाउन सक्नुपर्छ। रोजगारीको अवसर दिनुपर्छ। स्नातक तहमा विद्यार्थी विदेशमा गएर त्यति सहज हुँदैन। प्रसस्त मात्रामा दुःख गर्नुपर्छ। कुनै पनि विश्वविद्यालयको डिग्रीलाई विश्वभर मान्यता दिनुपर्छ। विद्यार्थी स्नातक तह उत्तीर्ण गरेर मात्र विदेश जानुपर्छ भन्ने विषयमा पनि राज्यले ध्यान दिनुपर्छ। निजी शिक्षण संस्था धरासायी हुँदा राज्यले पनि असहज परिस्थितिको सामना गर्नुपर्छ।
नेपाललाई एजुकेसन हब बनाउन के गर्नुपर्छ?
नेपाललाई एजुकेसन हबको रुपमा विकास गर्न सकिन्छ। नेपालका शिक्षण संस्थालाई दक्षिण एसियाकै नमुना अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिन्छ। दक्षिण एसिया बाहेक अन्य मुलुकबाट पनि नेपालमा पढ्न आउने वातावरण बनाउन सकिन्छ। यसमा राज्यले ध्यान दिन आवश्यक छ। नेपालमा अन्य मुलुकबाट इन्जिनियरिङ शिक्षा अध्ययन गर्न आउने अवस्था बन्यो भने नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीको संख्यामा पनि कमि आउछ।
एक्मी इन्जिनियरिङ कलेजलाई विद्यार्थी रोज्नुपर्ने केहि कारण छन्?
एक्मी इन्जिनियरिङ कलेज उपत्यका भित्र दक्ष अुनुभवि टिमबाट सञ्चालित पुरानो कलेज हो। यहाँ विद्यार्थी ढुक्क भएर पढ्नसक्ने विद्यार्थी मैत्री वातावरण छ। उपत्यकाका अन्य कलेजमा तुलनामा उत्कृष्ट भौतिक शैक्षिक पूर्वाधार, प्रयोगशाला, अनुभवि दक्ष शिक्षक र प्रविधि मैत्री शिक्षा प्रणालीको व्यवस्था हुनुका साथै एक्मीमा २० वर्ष देखि निरन्तर सक्रिय फ्यागल्टी छ। यहाँका विद्यार्थीले अध्ययन पश्चात प्राप्त गरेका उपलब्धी नै एक्मीको सफलताको कडि हो। हामीले अनुसन्धानमा आधारित शिक्षालाई जोड दिएका छौँ। एक्मीमा अध्ययन गरेका विद्यार्थीले विदेशमा पनि राम्रो उपलब्धी हासिल गरेका छन्।