काठमाडाैँ- पछिल्लो समय नेपाली विद्यार्थीहरू माझ आकर्षणको केन्द्रको रुपमा स्थापित भएको गन्तव्य हो ‘युके’। युकेको शैक्षिक गुणस्तर विश्वमाझ सुपरिचित छ। अक्सफर्ड र क्याम्ब्रिज जस्ता प्रतिष्ठित विश्वविद्यालयको घर युकेले शिक्षामा आर्जन गरेको प्रतिष्ठा आज पर्यन्त कायम राखेको छ। विद्यार्थीमैत्री वातावरण, अध्यायन पश्चात रोजगारीको अवसर र सुरक्षित शैक्षिक गन्तव्यले गर्दा युके अन्तर्राष्ट्रिय विद्यार्थीमाझ ऐतिहासिक रुपमै लोकप्रिय छ।
एकसमय झण्डै विश्वभर एकछत्र राज गरेको बेलायतसँग वेल्स, उत्तरी आयरल्याण्ड र स्कटल्याण्ड मिलेर बनेको संयुक्त अधिराज्यको साँस्कृतिक प्रभाव अझैपनि विश्वभर विद्यमान छ। त्यसका बाछिटा हाम्रो देश नेपालमा पनि नदेखिएको भने होइन। यही कारणले गर्दा नेपाली विद्यार्थीहरू युकेमा साँस्कृतिक रुपमा सहजै अभ्यस्त हुनसक्छन्।
साथै युकेका शैक्षिक संस्थाहरूले अवलम्बन गर्ने शिक्षण शैली, पाठ्यक्रम र नेपालसँग मिल्दोजुल्दो हावापानीले गर्दा पनि नेपाली विद्यार्थीहरू युकेतिर आकर्षित भएका हुन्। यी र यस्तै तमाम विरासत नै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले युकेलाई शैक्षिक गन्तव्यका रुपमा रोज्नुपर्ने असंख्य कारणहरू भित्र पर्छन्।
चारवटा छुट्टाछुट्टै राष्ट्रहरू मिलेर बनेको ठूलो राज्य भएका कारण यहाँको शैक्षिक प्रणाली भिन्न छ। उदाहरणका लागि बेलायत र स्कटल्याण्डको उच्च शिक्षा प्रणाली एकअर्कासँग मेल खादैन। तसर्थ युके जान चाहने हरेक विद्यार्थीले म संयुक्त अधिराज्यको कुन राष्ट्रमा जाँदैछु र त्यहाँको शिक्षा प्रणाली कस्तो छ भन्ने कुरा प्रष्टसंग बुझेर मात्रै जानुपर्छ।
स्वास्थ्य क्षेत्र, बिजनेस म्यानेजमेन्ट, नर्सिङ लगायतका विषय अध्ययन गर्न नेपालबाट विद्यार्थी युकेमा जाने गरेका छन्। यि विषयहरूको अध्ययनले अध्यायन पश्चात विद्यार्थीका लागि विश्ववजारमा अवसरको ढोका खुल्छ। प्रचुर संभावनाका ढोका खोल्ने भएका कारण विद्यार्थीलाई उनीहरूकै रुची र योजना अनुसार विषय रोज्न सुझाव दिने गरेका छौँ।
युकेको स्नातक र स्नातकोत्तर अवधी पनि तुलनात्मक रुपमा छोटो हुन्छ। स्नातक ३ वर्षको हुन्छ भने स्नातकोत्तर १ वर्षको मात्रै हुन्छ। यद्यपी युकेको शिक्षा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि महंगो पर्ने भएकाले आर्थिक रुपमा सबल विद्यार्थीले मात्रै युकेमा अध्ययनको लागि तयारी गर्नुपर्छ।
युकेले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षक एंव उदार छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ। जेहेन्दार विद्यार्थीका लागि युकेको महंगो शुल्क तगारो नबनोस भन्ने उद्देश्ले विद्यार्थीलाई युकेले छात्रवृत्ति प्रदान गरेर प्रोत्साहित गर्ने गरेको छ। ३ भन्दा माथी जीपीए ल्याउने विद्यार्थीलाई अझ आकर्षक छात्रवृत्तिको व्यवस्था गरेको पाइन्छ। अंग्रेजी भाषा परीक्षामा विद्यार्थीहरूले राम्रो अंक प्राप्त गर्नु भनेको युकेका प्रतिष्ठित विश्वविद्यालयमा आफ्नो स्थान सुरक्षित गर्नु मात्रै नभएर त्यहाँको दैनिक जीवनमा आइपर्ने भाषिक चुनौतीलाई अवसरमा बदल्नु पनि हो। यद्यपी अन्य मुलुकमा भन्दा भर्नाका लागि पृथक मापदण्ड युकेले तोकेको छ।
आईइएलटिएस र पीटीईजस्ता भाषागत परीक्षाहरू नदिएका विद्यार्थीलाई पनि कक्षा १२ को अंग्रेजी विषयमा प्राप्त गरेको ग्रेडका आधारमा भर्ना दिने गरेको छ। यदि कक्षा १२ को अंग्रेजी विषयको शैद्धान्तिकतर्फ विद्यार्थीले ‘बी’ अथवा बीप्लस हासिल गरेको छ भने अंग्रेजी भाषाको दखलता थप प्रमाणित गरिराख्नु पर्दैन। तर यो मापदण्ड पूरा नगर्ने विद्यार्थीले भने अनिवार्य अंग्रेजी भाषा परीक्षा दिनैपर्छ। आईइएलटिएसमा कम्तिमा पनि ६/५.५ र पीटीईमा ५९ ल्याउनै पर्नेहुन्छ।
विद्यार्थीका लागि महत्वपूर्ण कुरा
युकेले मुख्यतया दुईटा इन्टेकमा विद्यार्थी भर्ना लिने गर्छ। जनवरी र सेप्टेम्बर। केहि सिमित शैक्षिक संस्थाले अरु महिनामा पनि केहि विषयका लागि आवेदन आहवान गर्छन् तर मुख्य इन्टेक चाहिँ सेप्टेम्बर नै हो। युके जानुपूर्व विद्यार्थीले आफ्नो तर्फबाट पनि युकेका बारेमा पर्याप्त अध्ययन अनुसन्धान गर्नु जरुरी छ।
कसैको लहलहैमा लागेर युके जानु घातक हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै युके आफ्ना लागि उपयुक्त गन्तव्य हो कि होइन भनेर विचार गर्नु अति आवश्यक हुन्छ। भाषिक, साँस्कृतिक र आर्थिकजस्ता जटिलताले गर्दा आफ्नो जीवन कष्टकर त बन्छ नै परिवारलाई आर्थिक भार पनि पर्दछ। तसर्थ विद्यार्थीले आवेदन दिनुपूर्व उचित परामर्श लिनुका साथै अध्ययन अनुसन्धान गरेर मात्रै ठोस निर्णय लिनु पर्छ। पहिलो वर्ष कै अध्ययन शुल्क सरदर १५ देखी २० लाख र सम्पूर्ण खर्च करिब २५ लाख जति पुग्ने भएकाले मजबुत आर्थिक व्यवस्थापन गरेर मात्रै युके पढ्न जाने तयारी गर्नु बुद्धिमनि हुन्छ।
युके नै किन?
पछिल्लो समय युके नै पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा झण्डै २० प्रतिशतले बढेको देखिन्छ। अस्ट्रेलिया, क्यानेडाजस्ता मुलुकले भिसा प्रवाहमा कडिकडाउ गरिसकेपछी यो स्थिति सिर्जना भएको हो। अस्ट्रेलिया, क्यानडाको तुलनामा भिसा प्रक्रिया सहज, आर्थिक कागजातको झन्झट कम र उत्साहजनक भिसा प्रवाहका कारण युके जाने विद्यार्थीको संख्यामा उल्लेखनीय वृद्धि भएको हो।
३ वर्ष मै पूरा हुने स्नातक तह र एक वर्ष मै सम्पन्न हुने स्नातकोत्तर तहको अध्ययन सम्पन्न गरी प्रतिस्पर्धात्मक बजारमा आफूलाई उभ्याउन सक्ने जनशक्तिको उत्पादन गर्ने भएकाले पनि युके नेपाली विद्यार्थी माझ लोकप्रिय शैक्षिक गन्तव्यका रुपमा स्थापित हुँदै गएको हो। साथै निश्चित वर्ष अध्यायनको क्रमभंगता भएका विद्यार्थीलाई पनि सहजै भर्ना दिने अभ्यास युकेका शैक्षिक संस्थाहरूले गर्दै अएका छन्। अझ स्नातकत्तोरका लागि त केहि विश्वविद्यालयले १० वर्षसम्मको ग्याप पनि स्विकार गर्दछन्। कक्षा १२ पछिको चार पाँच वर्षको ग्याप पनि स्नातक तह अध्ययनका लागि समस्या बनेको देखिदैन।
अवसरको संभावना
अध्यायनसँगै युके पढ्न जाने विद्यार्थीका लागि रोजगारी पनि महत्वपूर्ण पाटो हो। युकेले अन्तर्राष्ट्रिय विद्यार्थीको सहजताका लागि साप्ताहिक २० घन्टा काम गर्न पाउने अधिकार दिएको छ। नेपालमा सिप विकास तथा सम्बन्धित काममा अनुभव बटुलेर गएका विद्यार्थीका लागि केहि सहज हुनसक्छ। तर स्वदेशमा केहि पनि ज्ञान सिप हासिल नगरि हतार हतार युके जान हतारिने विद्यार्थीले अनेकौ हैरानी बेहोर्नु पर्ने अवस्था आउन सक्छ।
तसर्थ यी तमाम चुनौतीहरूँंग जुध्ने पूर्वतयारी सहित विद्यार्थीहरूले युकेमा शिक्षा आर्जन गर्नेबारे सोच्नुपर्छ। र अन्त्यमा यही अगस्त २२ तारिखमा बिग एजुकेसन कन्सलटेन्सिको परिसरमा युके लगायत विभिन्न शैक्षिक गन्तव्यबारे सत्य–तथ्य सूचना सम्प्रेषण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एजुकेसन फेयरमा सहभागी भई लाभान्वित हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु।