काठमाडाैँ- प्रत्येक वर्ष कक्षा १२ उत्तीर्ण गरेसँगै विद्यार्थी सुरक्षित भविष्यको खोजिमा हुन्छन्। उनीहरू उच्च शिक्षा आर्जन गर्न स्वदेशि तथा विदेशी विश्वविद्यालयका शिक्षण संस्थामा भर्ना हुने गर्छन्। पछिल्लो केही वर्ष यता विदेश अध्ययनमा जान चाहने विद्यार्थीको संख्या उल्लेख्य छ।
नेपालबाट उच्च शिक्षा अध्ययन गर्न गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार ५९३ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। वैदेशिक अध्ययनका लागि मात्र २०७९/८० मा एनओसी लिने विद्यार्थीको संख्या १ लाख १० हजार २१७ जना थियो। आर्थिक वर्ष ०७८/७९ मा १ लाख १२ हजार ९६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए । यो एनओसी लिएका विद्यार्थीको तथ्यांक मात्र हो। एनओसी लिएका सबै विद्यार्थी विदेश अध्ययनमा जान्छन् भन्ने हुँदैन। आर्थिक बर्ष २०७९/८० मा १ लाख २२ हजार ५१४ जनाले एनओसी लिन आवेदन दिएका मध्ये १२ हजार २ सय ९७ जनाको रद्द भएको थियो।
कोभिड महामारीयता हरेक आर्थिक वर्षमा विदेश पढ्न जानका लागि एक लाखभन्दा बढी विद्यार्थीले एनओसी लिँदै आएका छन्। अध्ययनका लागि विदेश जानेको संख्या बढेसँगै नेपालबाट बाहिरिने मुद्रा पनि बढेको छ। गत वर्ष ६६ देशमा ९४ विषय अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्यांक छ। २०८० साउनदेखि ०८१ असार मसान्तसम्म सबैभन्दा बढी जापानका लागि ३४ हजार ७३१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएको शिक्षा मन्त्रालयले जनाएको छ। जापानपछि नेपाली विद्यार्थीका आकर्षणमा क्रमशः क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायत परेको देखिन्छ।
मन्त्रालयको तथ्यांकअनुसार जापानपछि क्यानडा अध्ययनमा जान १५ हजार ९८२ जना विद्यार्थीले एनओसी लिएका छन्। अस्ट्रेलिया जान १४ हजार ३७२ जना, बेलायत जान १३ हजार ३३९ जना, अमेरिका जान ११ हजार २६१, दक्षिण कोरिया जान ६ हजार ८८९ जना विद्यार्थीले एनओसी लिएका छन्। यसका अलावा भारत, यूएईमा उच्चशिक्षा अध्ययनका लागि जाने विद्यार्थीको संख्या वार्षिक रूपमा २ हजारभन्दा बढी छ भने डेनमार्क, फिनल्यान्ड, फ्रान्स, न्युजिल्यान्ड जाने विद्यार्थीको संख्या पनि १ हजारभन्दा माथि छ। बाँकी मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या एक हजारभन्दा कम छ।
नेपालबाट ६६ मुलुकमा अध्ययन गर्न जान विद्यार्थीले शिक्षा मन्त्रालयबाट एनओसी लिएका छन्। शिक्षा मन्त्रालय वैदेशीक अध्ययन अनुमति(एनओसी)शाखा प्रमुख निर्प मगरका अनुसार विद्यार्थीहरू विदेशमा भविष्य सुनिश्चित गर्न वा हामीले दिन नसकेको गुणस्तरीय शिक्षा, परिवारको दवाब, व्यक्तित्व विकासको खोजिमा विदेशीयको बताउँछन्। ‘यहाँ गुणस्तर नभएर भन्दा पनि धेरै विद्यार्थी नेपालमा नभएको शैक्षिक ज्ञान, सिप र सुविधाको खोजिमा विदेशिएका छन्। विदेशमा पढ्दै कमाउन पनि सकिने भएपछि उनिहरूको आकर्षण बढेको देख्न सकिन्छ।’
गत आर्थिक वर्ष २०७९÷८० मा विद्यार्थीले ९४ वटा विषय छनोट गरि एनओसी लिएको शिक्षा मन्त्रालयले जनाएको छ । जापानिज भाषा अध्ययन गरि विदेश जानेको संख्या ३३ हजार ६९७ जना रहेको छ। त्यसैगरी कम्युटर विज्ञानमा ४ हजार ९९२ जना, म्यानेजमेन्टमा २८ हजार ८९१, विज्ञानमा ५ हजार ३८४, टेक्नोलोजीमा ५ हजार ९९१ जना, इन्जिनियरिङमा ४ हजार ४२६, बिजनेसमा १० हजार २९ जना, हस्पिटालिटिमा २ हजार ५४३ जना र एग्रिकल्चरमा ३ सय ९२ जना विद्यार्थीले वैदेशिक अध्ययनको लागि अनुमतिपत्र लिएका छन्।
किन विदेशिँदै छन् विद्यार्थी?
नेपालको शिक्षा प्रणालीमा देखिएको लापर्बाही, परिवारले विद्यार्थी माथि राखेको सपना, शिक्षण संस्थामा राजनीतिक प्रभाव, अध्ययन पश्चात रोजगारीको अवसरको कमी वा चाहेको जस्तो गुणस्तरीय शिक्षाको अभावको कारण विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या बढेको जानकारहरू बताउँछन्।
अध्ययनका लागि विदेश जानेको संख्या बढेका कारण उच्च शिक्षा प्रादायक नेपाली शिक्षण संस्थामा विद्यार्थी अभाव भएको शिक्षा मन्त्रालयका उच्चशिक्षा महाशाखा प्रमुख कमलप्रसाद पोखरेलले बताए। उनले भने,‘विद्यार्थी विदेश जानुमा सामाजिक, आर्थिक, रोजगारीका कारण पनि होलान् तर यहाँको पढाइको गुणस्तर सुधार गरेर पनि त्यसलाई रोक्नसक्ने अवस्था भने छैन। रोजगारीको अवसर पनि सृजना गर्न सक्नुपर्छ।’ पढाइसँगै काम पनि गर्न पाइने भएकाले धेरै विद्यार्थीमा विदेश आकर्षण देखिएको बुझाइ सरोकारवालाको छ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू)का अनुसार विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम पनि बढेको छ। विद्यार्थीले विदेशी विश्वविद्यालयमा अध्ययन पश्चात अवसरहरू प्राप्त गरेका छन्। विदेश अध्ययन प्रति विद्यार्थी एंव अभिभावकको पनि आकर्षण बढेको देखिन्छ।
काठमाडौँ विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. बालचन्द्र लुइटेलका अनुसार विश्वविद्यालय शिक्षालाई राम्रो बनाउनुपर्छ भन्ने विषयमा सरकारले ध्यान दिनुपर्छ। देशको शिक्षा नीति समयानुकूल बनाउनुपर्छ। पढाइसँगै काम पनि पाइने भएपछि अभिभावकले पनि विदेश पठाउन सम्पत्ति नै बेचेर भएपनि आफ्नो सन्तानको भविष्यका लागि लगानी गर्दै आएका छन्। सरकार र विश्वविद्यायहरूले पनि विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्ने कुनै योजना ल्याउन सकेका छैनन्।
प्राध्यापक लुइटेल भन्छन्,‘हाम्रोमा शैक्षिक क्यालेन्डरसमेत व्यवस्थित छैन । शैक्षिक बेथितिका कारण पनि निराश भएर विद्यार्थीले विदेश जाने विकल्प रोजेका छन्। नयाँ विषय लागू गरेर यहीँ आकर्षित गर्न सकिएको छैन। चार वर्षमा सकिनुपर्ने कोर्स नतिजा आउँदासम्म ५ देखि ६ वर्ष पनि लाग्ने गरेको छ। पाठ्यक्रम परिमार्जनमा पनि समस्या देखिने गरेको छ। यहीँ विषयलाई ध्यानमा राख्दै काठमाडौँ विश्वविद्यालयले नयाँ विषय थप गर्ने योजना अघि सारेको छ। राज्यले युवा विद्यार्थीलाई स्वेदशमै अवसरको सम्भावना देखाउन सके विदेश जानेको संख्यामा कमी ल्याउन सकिन्छ।’
विद्यार्थीलाई रोजगारीको अवसर सृजना गर्न सकियो भने मात्र विद्यार्थीलाई नेपालमा रोक्न सकिने पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोया नारायण पौडेलले बताए।
‘विद्यार्थीलाई नेपालमा रोक्न युवा केन्द्रित कार्यक्रमको आवश्यकता छ। नेपाली उत्पादनलाई विश्ववजारमा विक्न सक्ने बनाउन सकिन्छ। नेपालमा पनि रोजगारीको अवसर सृजना गर्न सक्नुपर्छ। विश्वविद्यालय शिक्षा तर्फ ‘ड्रप आउट रेट’ बढेको छ भने विद्यार्थीको नतिजामा पनि सुधार हुन सकेको छैन।’, उनले भने,‘ यसलाई रोक्न सरकार जिम्मेवार बन्नुपर्छ। अध्ययनका नाममा नेपालबाट बाहिरिने श्रमशक्तिका सम्बन्धमा राज्यले छुट्टै नीति बनाउनुपर्छ। नेपालमा पनि अवसर छ भन्ने जानकारी प्लस टु तह पास गरेका विद्यार्थीमा पुर्याउनुपर्छ।’
नेपालमा पनि अध्ययनसँगै रोजगारीका अवसर प्रदान गर्ने हो भने विदेश जाने विद्यार्थीको संख्यामा कमी आउने उनको बुझाइ छ।