काठमाडाैँ- पछिल्लाे समय विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै नेपालका शिक्षणसंस्था धरासायी बन्न पुगेका छन्। नेपालकाे शैक्षिक गुणस्तरलाई सुधार गर्दै विश्वविद्यालय शिक्षामा विद्यार्थी आकर्षण गर्ने सवालमा आवाज पनि उठ्ने गरेकाे छ। तर यसका लागि ठाेस समाधानकाे खाेजी हुन सकेकाे अवस्था छैन। नेपालकाे इन्जिनियरिङ शिक्षालाई व्यवस्थित बनाउन के गर्नुपर्छ?, आकर्षण घट्नुकाे कारण के हाे? नेपाललाई एजुकेसन हबको रुपमा विकास गर्न गर्नुपर्ने काम र याेजनाका विषयमा नीजी लगानिमा सञ्चालित इन्जिनियरिङ कलेजहरूकाे छातासँगठन (एकाेन)का अध्यक्ष एंव काठमाडौँ इन्जिनियरिङ कलेजका प्राचार्य हिरेन्द्रमान प्रधानसँग गरिएकाे कुराकानिकाे मुख्य अंश।
इन्जिनियरिङ शिक्षालाई व्यवस्थित बनाउन के गर्नुपर्छ?
सिभिल इन्जिनियरिङमा ४८ जना विद्यार्थी भर्ना गरेर आजभन्दा ३० वर्ष अघि पुलचोक इन्जिनियरिङ क्याम्पसबाट नेपालमा इन्जिनियरिङ शिक्षाको सुरुवात भएको हो। नेपालमा सरकारी क्याम्पसमा हुने इन्जिनियरिङ शिक्षालाई तुलनात्मक हिसाबले निजी इन्जिनियरिङ क्याम्पसलाई भन्दा प्राथमिकता दिँदै आइरहेको पाइन्छ। पछिल्लो समय कक्षा १२ उत्तीर्ण गरेसँगै विद्यार्थी अध्ययनका लागि विदेश जाने प्रचलन बढ्दै गएको अवस्थामा निजी शिक्षणसंस्थामा विद्यार्थी भर्नादर कम छ।
विद्यार्थीहरू पनि लहलहैमा लागेर नेपालमा पढेर के हुन्छ, भन्दै विदेश गएको अवस्था पनि छ। विद्यार्थीलाई अध्ययनकै क्रममा पनि रोजगारीको अवसरका विषयमा आवाज उठ्ने गरेको छ। नेपालमा विद्यार्थीले अध्ययन पश्चात रोजगारीको अवसरको सुनिश्चितता गर्न नसक्दा विद्यार्थीले विदेशका शैक्षिक गन्तव्य रोजेको अवस्था पनि छ।
सरकारले युवाका लागि रोजगार, अवसर तथा आम्दानीको स्रोतबारे योजना ल्याउन नसक्दा त्यसको मारमा इन्जिनियरिङ शिक्षा पनि परेको छ। राज्यको शिक्षा नीति स्पष्ट हुनुपर्छ। शिक्षालाई राजनीतिक गतिविधीबाट मुक्त बनाइ, अर्थतन्त्रमा सुधार गर्दै गुणस्तरीय शिक्षा दिन सके मात्र नेपालको इन्जिनियरिङ शिक्षालाई व्यवस्थित बनाउन सकिन्छ।
नेपाली विश्वविद्यालयको पाठ्यक्रम सयम अनुसार परिवर्तन नहुँदा नेपालको इन्जिनियरिङ शिक्षाप्रति आकर्षण घटेको हो?
म यो कुरामा सहमत छैन, विद्यार्थी गुणस्तरीय शिक्षा भन्दा पनि अवसरको खोजिमा विदेशियका हुन्। नेपालमा स्नातक तहमा इन्जिनियरिङ शिक्षा अध्ययन गरेका विद्यार्थीले अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता मुुलुकका विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि तहमा अध्ययनको लागि सिधै भर्ना पाएका छन्। नेपाली विश्वविद्यालयको पाठ्यक्रम समयअनुसार परिमार्जन हुँदै गएको छ। नेपालबाट नै लिएको शिक्षालाई गुणस्तरीय शिक्षा होइन भन्न मिल्दैन। उदाहरणको लागि हाम्रो काठमाडौँ इन्जिनियरिङ कलेजलाई नै हेर्नुस् हाम्रो विद्यार्थी विश्वको विभिन्न मुलुकका विश्वविद्यालयमा गएर उच्च शिक्षासँगै पेसालाई पनि अघि बढाउँदै गएका छन्।
नेपाली विद्यार्थीमा नेपालमा पढेर के हुन्छ?, काम पाइदैन भन्ने मानसिकताका कारण पनि आकर्षण कम भएको हो। विद्यार्थीले निजि इन्जिनियरिङ शिक्षण संस्थालाई विश्वास नगरी सरकारी इन्जिनियरिङ संस्थाहरूको मात्र भर परेको कारण पनि विद्यार्थी संख्या कम भएको छ।
शिक्षा र स्वाथ्य सरकारको विषय हो भनेर सोच्नु ठिक हो, तर सरकारले नै इन्जिनियरिङ शिक्षा प्रति विद्यार्थीलाई आकर्षण गर्न सकेको अवस्था छैन। अहिलेको ग्लोबल मार्केटमा विश्वभर नै अवसर हुन्छ। नेपालमा भन्दा राम्रो अवसर छ भने विद्यार्थीले त्यस ठाउँलाई नै आफ्नो भविष्यको गन्तव्य बनाउँछन्।
नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा संभव छ? एजुकेसन हबको रुपमा विकास गर्न के गर्नुपर्छ?
नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा संभव छ, र हामीले नेपालबाट इन्जिनियरिङ शिक्षा अध्ययन गरेका विद्यार्थीले विश्ववजारमा रोजगारीको अवसर प्राप्त गर्न सक्छन् भन्ने बझ्नुपर्छ। तर यसलाई व्यवस्थित गर्न सरकारको ढाँचामा पनि परिवर्तन गर्नुपर्छ। अहिले शिक्षालाई विश्वजारमा प्रतिस्पर्धी बनाएर दक्ष जनशक्ती उत्पादनमा जोड दिनुपर्छ।
शिक्षामा राजनीति देखिएपछि समयमा परीक्षा नहुने, नतिजा प्रकाशन नुहुनुले समग्र शिक्षा प्रणालीमा नै असर परेको छ। जसकारण नेपाल शैक्षिक हबको रुपमा विकास हुन सकेको छैन। यहाँको वातावरण इन्जिनियरिङ शिक्षाको लागि उपयुक्त छ जसले गर्दा शैक्षिक नीतिमा परिमार्जन गर्न सके नेपाललाई इन्जिनियरिङ एजुकेसन हबको रुपमा विकास गर्न सकिन्छ।
एकोनले इन्जिनियरिङ शिक्षाको प्रवद्र्धनका लागि के- कस्तो पहल गर्दे आएको छ?
इन्जिनियरिङ शिक्षालाई व्यवस्थित गर्न उपयुक्त वातावरण सिर्जना गर्दै गुणस्तर सुधारको लागि एकनले पहल गर्दै आएको छ। एकोनले विभिन्न अन्तरक्रियात्मक कार्यक्रम मार्फत इन्जिनियरिङ शिक्षालाई थप प्रभावकारी बनाउन र नेपालमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा संभव छ भन्ने विषयलाई हामीले विद्यार्थी र अभिभावक माझ परिचित गराउने प्रयत्न गरेका छौँ।
इन्जिनियरिङ शिक्षा तर्फ विश्वविद्यालयले अनुमति दिएको विषय नै शिक्षण संस्थाले अध्यापन गराउने हो। तर बजारको माग अनुसार नै विषयगत कोटा थपघट हुुनुपर्छ। तुलनात्मक हिसाबले हेर्ने हो भने नेपालको हालको बजारमा आइटी पढ्ने विद्यार्थीको संख्या बढ्दो क्रममा छ। विश्वविद्यालय र परिषद्लाई हामीले विषय घपघटको विषयमा पनि सुझाब दिने काम गरेका छौँ। सरकारले पनि इन्जिनियरिङ शिक्षा तर्फ भएको लगानीलाई सुरक्षित गर्ने तर्फ ध्यान दिनुपर्छ।
काठमाडौँ इन्जिनियरिङ कलेज नै किन रोज्ने?
काठमाडौँ इन्जिनियरिङ कलेजले सुरुदेखि नै विद्यार्थीलाई इन्जिनियरिङ पेसासँग जोडेर अध्ययन अध्यापन गराउछ। दैनिक रुपमा निरन्तर कक्षा सञ्चालन गर्दै आएको छ। कलेजले विद्यार्थीको आवश्यकतालाई हेरि त्यहि अनुरुपको क्लास, योगा तथा मेडिटेसन क्लास पनि सञ्चालन गर्दै आएको छ।
यसले व्यक्तीको रिस, डाहाँ, सम्झन सक्ने क्षमतालाई ब्यालेन्स गराउँछ। काठमाडौँ इन्जिनियरिङ कलेजले विद्यार्थीलाई अधययनका अलावा अतिरिक्त क्रियाकलापमा पनि जोड दिदैँ आएको छ। काठमाडौँ इन्जिनियरिङ कलेजले महिला र पुरुषलाई फरक–फरक होस्टेलको व्यवस्था गरेको छ। लामो समय देखि इन्जिनियरिङ शिक्षामा खटिएका अनुभवि, दक्ष पूर्णकालिन शिक्षकद्वारा अध्यापन हुनुका साथै विषय अनुसार प्रयोगात्मक कक्षा सञ्चालन हुन्छ।
यस क्याम्सपमा अध्ययन पश्चात् विद्यार्थीले प्राप्त गरेका उपलब्धी, अवसर र यहाँको विद्यार्थी मैत्री भौतिक शैक्षिक वातावरणका कारण आम अभिभावक र विद्यार्थीको रोजाइमा काठमाडौँ इन्जिनियरिङ कलेज पर्न सफल भएको छ।