काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम तयारी गरिरहेको छ। सिर्जनात्मक सिकाइका लागि महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म पाठ्यक्रम तयार गरिरहेको हो।
सामुदायिक विद्यालयमा अभ्यास गरिएको बुक फ्री फ्राइडे कार्यक्रमका सञ्चालक काठमाडौँ विश्वविद्यालय सहित अन्य साझेदार ५४ वटा संघसस्थाको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले, गत मंसिर २६ गते विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको थियो।
अघिल्लो शैक्षिक सत्र २०८० सालमा कक्षा ९ का विद्यार्थीहरुलाई शिक्षामा सिप कार्यक्रम अन्तर्गत नमूनाका रुपमा सुरु गरिएको बुक फ्री फ्राइडे कार्यक्रम अहिले कक्षा ४ देखि १२ सम्म सञ्चालन भइरहेको छ।
बुक फ्री फ्राइडेअन्तर्गत महानगरपालिकाभित्र सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ देखि १२ सम्म शिक्षामा सिप कार्यक्रम सञ्चालन हुने गरेको छ। यसमा १० विधा रहेका छन्।
सम्झौतामा उल्लेख भएको टिचर कलेज कार्यक्रमअन्तर्गत आवश्यकता पहिचान गर्ने, पाठ्यक्रम तथा शिक्षण सिकाइ विधि तयार गर्ने, अनुगमन मूल्याङ्कन, तथ्याङ्क र अभिलेखन र आगामी योजना निर्माण गर्ने काम विश्वविद्यालयले गर्ने उल्लेख छ। यही सम्झौताका आधारमा पाठ्यक्रम तयार भइरहेको महानगरपालिका प्रमुखको सचिवालयले जानकारी र्दिएको छ।
विद्यार्थीको रुचि, संख्या, विद्यालयको भौतिक सुविधाअनुकुल हुने गरी प्रधानाध्यापक, शिक्षक र सम्बन्धित सरोकारवालाको पृष्ठपोषणका आधारमा हरेक विद्यालयमा एउटा बाल समूह र १५ वटा विधागत उपसमूह गठन गरिएको शिक्षा विभागका प्रमुख गोविन्द प्रसाद शर्माले जानकारी दिए। उनका अनुसार हरेक उपसमूहका लागि एक जना फोकस शिक्षक तोकिएको छ।
विषयसँग सम्बन्धित उपसमूहमा बालबालिका तथा वातावरण, विज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित स्टिम, भित्ते चित्र म्युरल, संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापनसहितका १५ विधा छन्। एनिमेसन र गेमिफिकेसन, नाट्य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन, र कोड उपसमूहका विधा हुन्। यी विषयको शिक्षण विधिमा एकरुपता कायम गर्न र मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन पाठ्यक्रम तर्जुमा गर्न लागिएको हो।