काठमाडौँ - एसईई २०८०को पुनर्योगमा चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने र त्यसमा पनि चित्त नबुझे पुन परीक्षण गर्न पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा एसईई २०८०को पुनर्योगको नतिजा क्रमश सार्वजनिक गरिरहँदा मानवीय त्रुटि हुन सक्ने भएकाले यस्तो सुविधा राखिएको बताएका छन्।
‘हामी पनि मानव हौँ पक्कै पनि मानवीय त्रुटि हुनसक्छ। त्यसकारण कुनै पनि विद्यार्थी अन्यायमा नपरोस भन्नका लागि पुनर्योग, उत्तरपुस्तिका हेर्ने तथा पुनःपरीक्षण गर्न पाउने सुविधा राखिएको हो,’ उनले भने, ‘ त्यसका लागि विद्यार्थीहरूले आवेदन दिनु पर्ने हुन्छ।’
अध्यक्ष शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले २३ साउनदेखि हुने ग्रेडवृद्धि परीक्षा सकिएपछि आवेदन लिने तयारी गरेको छ। शर्माले एसईईको उत्तरपुस्तिकामा रहेको प्रश्नउत्तर जाँच्न छुटेको, उत्तरपुस्तिकाभित्र रहेको अंक बाहिर चढाउन छुटेको, अंक जोड्दा त्रुटि भएको, भित्रको र बाहिरको अंक रुजु नभएको, परीक्षकले जोडेको अंकभन्दा सम्परीक्षकले फरक अंक चढाएको लगायतको त्रुटि देखिएको खुल्ला स्वीकार गरे।
अनलाइन आवेदन दिन पाउने व्यवस्था भएकोले पनि यस वर्ष पुनर्योग गर्नेको संख्या बढी र पुनर्योगपछि नतिजामा फरक देखिनेको प्रतिशत घटेको उनले दाबी गरेका छन्। परीक्षा बोर्डले एसईई नतिजाको पुनर्योगपछि चार जनाको ४ जीपीए र चार जनाको एनजी आएको विषयमा ए प्लस आएको जनाएको छ।
‘चार जनाको जीपीए ४ भएको छ र चार जनाको भने एनजी आएको विषयमा ए प्लस आएको देखिन्छ,‘ बोर्डका अध्यक्ष शर्माले भने,‘ए, बी प्लस ग्रेड आएका विद्यार्थीले नतिजामा चित्त नबुझी पुनर्योग गराउँदा ए प्लस आएको छ र समग्रमा ४ जीपीए नै ल्याएको हो।’
बुधबार (साउन ९ गते) सम्म ११ हजार ४८६ विषयको नतिजा प्रकाशन हुँदा ६२१ विषयमा नतिजा परिवर्तन भएको छ। पुनर्योगका लागि १८ हजार ५०६ आवेदन परेको शर्माको भनाइ छ।