काठमाडौँ – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले नयाँ शैक्षिक सत्रको भर्ना अभियान यहि आउदो बैशाख महिनामा सञ्चालन गरिसक्न स्थानिय तह र विद्यालयलाई आग्रह गरेको छ। केन्द्रले ‘सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सञ्चालन गर्न सबै स्थानिय तह र देशभरका विद्यालयलाई निर्देशनात्मक अग्रह गरेको हो ।
केन्द्रले प्रत्येक स्थानीय तहको शिक्षा शाखाको एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी सूचना, समन्वय र सहजीकरण गर्न लगाउने, स्थानीय एफएम रेडियो लगायत स्थानीय स्तरका सञ्चार माध्यमहरुवाट सकेसम्म स्थानीय भाषामा विद्यार्थी भर्ना सम्वन्धी सचेतानामूलक सूचना, विज्ञापन प्रसारणको व्यवस्था मिलाउन स्थानिय तहलाई आग्रह गरेको छ ।
यसका साथै स्थानिय तहमा सक्रिय गैरसरकारी संस्थालाई विद्यालय बाहिर रहेका बालबालिका पहिचान गरी भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्न लगाउने, अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता बालबालिकाहरुको पढाइमा निरन्तर सहयोग गर्न चाहनेहरुको उचित पहिचान र सम्मान गर्ने तथा अभिलेख राख्ने व्यवस्था गर्ने केन्द्रले जारी गरेको सुचनामा उल्लेख छ ।
केन्द्रले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक अध्ययन केन्द्रहरुलाई विद्यालय बाहिर रहेका बालबालिकाहरुको लगत संकलन, भर्नाको समय, स्थान र प्रक्रिया बारे प्रचार प्रसार, सञ्चार र समन्वय आदिमा परिचालन गर्न स्थानिय तहलाई निर्देशनात्मक आग्रह गरेको छ ।
यसका साथै केन्द्रले भर्ना अभियानका कारण विद्यालयमा भर्ना भएका बालबालिकाको उमेरगत विवरणसहितको प्रतिवेदन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने, आफ्नो क्षेत्र भित्र विद्यालय उमेरका शतप्रतिशत बालबालिका समयमै विद्यालयमा भर्ना गराई भर्नासकिए लगत्तै विद्यालयबाहिर बालबालिका नभएको स्वघोषणा गर्नुपर्ने जनाएको छ ।
केन्द्रले विद्यालयलाई निर्देशन दिदै भर्ना कार्यक्रम २०७९ बैशाख महिनामा नै सञ्चालन गर्ने, भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गर्ने र निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने, विद्यार्थी भर्नाका लागि आफ्नो सेवाक्षेत्रभित्र व्यापक रुपमा प्रचार प्रसार गर्न निर्देशन दिएको छ ।
केन्द्रले शिक्षा शास्त्र विषयमा कक्षा ११ र १२ मा अध्यापन गराएका विद्यालयहरूले सो तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक कार्यको रुपमा आफ्नो सेवा क्षेत्र भित्रका विद्यालय रहेका बालबालिकाको लगत संकलन, विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा परिचालन गर्न निर्देशन दिएको छ ।