काठमाडौँ - काठमाडाैँ महानगरपलिकाले सञ्चालन गरेकाे कक्षा ११ काे छात्रवृत्ति परीक्षाकाे नतिजा सार्वजनिक भएकाे छ। महानगरले गत शुक्रबार ३ गते लिएको छात्रवृत्ति वितरण परीक्षाको नतिजा साेमबार सार्वजनिक गरेकाे हाे।
महानगरले ४ हजार ६२९ सिटका लागि लिएको परीक्षामा ११ हजार २८१ जना विद्यार्थीले आवेदन दिएका थिए। जसमध्ये परीक्षामा ८ हजार १९७ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। नतिजा अनुसार विज्ञान समूहको छात्रवृत्तिका लागि १ हजार ५५७ सिटमा ६ हजार ७ सय २० जना उत्तीर्ण भएका छन्। विज्ञानमा आवेदन दिनेको संख्या ८ हजार ४ सय ९७ जना रहेको थियो।
त्यसैगरी, व्यवस्थापनको सिट संख्या २ हजार ४९३ छ भने उत्तीर्ण विद्यार्थी संख्या १ हजार ३८१ जना रहेका छन्। यो विषयमा २ जनाको परीक्षा रद्द भएको थियाे। कानुनमा सिट संख्या १ सय ६३ छ भने उत्तीर्ण संख्या ७३ जना रहेको छ। त्यसैगरी शिक्षामा छात्रवृत्तिका लागि सिटसंख्या ७० तोकिएको छ भने उत्तीर्ण संख्या १५ रहेको छ। शिक्षा विषयमा पनि ५५ जनाको सिट रित्तै भएको छ। त्यस्तै मानविकीमा १ सय ७३ सिट तोकिएको छ तर परीक्षामा भने ८ जना मात्र उत्तीर्ण भएका छन्। यो विषयमा १६५ सिट रिक्त रहने देखिएको छ ।
उच्चतम अंक आउनेलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अंक भएमा एसईईको जीपीए, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी, सामान्यज्ञानमा प्राप्त गरेको अंक र यि सबै कुराहरू पनि बराबर भएमा उमेरका आधारमा कनिस्टलाई योग्यताक्रममा अघि राख्ने निर्णय गरिएको महानगरपालिकाले जनाएकाे छ।
विद्यार्थीले योग्यता सूचीमा नाम समावेश नभएको वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा दाबीविरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिनुपर्ने जानकारी दिएका छन्।
छात्रवृत्ति वितरण परीक्षा र परीक्षार्थीहरूले अनलाइनमार्फत छानेका शिक्षण संस्थाहरूका योग्यता एवं प्राथमिकताका आधारमा भर्ना हुनका लागि परीक्षार्थीलाई साउन १३ गते शिक्षण संस्थाहरू सिफारिस गरिने महानगरले जनाएकाे छ।
योग्यता एवं प्राथमिकताका आधारमा छात्रवृत्ति प्राप्त गर्न प्रतीक्षामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति कोटा खाली रहेका विद्यालयहरूमा पुनस् म्याचिङ गर्ने अवसर दिइने जनाइएको छ। यस्तो पुनस् म्याचिङ गर्दा एउटा विषय समूहमा आवेदन दिएको परीक्षार्थीले अर्को विषय समूहमा पनि शिक्षण संस्था रोज्न पाउने व्यवस्था छ। पुन म्याचिङ गर्ने समय पछि प्रकाशन गरिने सूचनामा उल्लेख गरिएको छ।