काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको विश्वासकाे मत पाएका छन्।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे। विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो।संसदमा आइतबार २६३ जना उपस्थित थिए।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन्।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन्। नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे। ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत परेकाे थियाे।
बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो। प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको समर्थन प्राप्त भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए।
प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भन्नेमा १ मत आएको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाएका हुन्।
नेकपा (एमाले) का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री ओलीले आइतबार विश्वास मत लिएका हुन्।
गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनेलगायत ७ बुँदे सहमति भएको थियो। जसअनुसार पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ।