काठमाडौँ- बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थीहरू काठमाडौँ फर्किन थालेका छन्।
६ गते आईतबार केही विद्यार्थी काठमाडौँ विमानस्थलमा अवतरण गरेका छन्। बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन्।
सरकारले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएको छ।
बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने यकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले स्पष्ट रुपमा जनाएको छ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न लगाउनाका साथै ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिएका छन्।
परराष्ट्रमन्त्री डा राणा आफैँले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न निर्देशन दिए। साथै नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन पनि उहाँले निर्देशन दिए।
परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो। मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ।
दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने र सहयोगका लागि दूतावासमा सम्पर्क गर्न विद्यार्थीलाई सूचित गरेको छ।
सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेशमा अशान्त र विद्रोह रहेको छ। देशभर कर्फ्यु आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ।
आन्दोलनको चपेटामा परेको बंगलादेशबाट शनिवारसम्म करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन्। हवाई तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
केही दिन अघिदेखि नै स्थलमार्गबाट पनि नेपालीहरू स्वदेश फर्किने क्रम बढिरहेको थियो। जिल्ला प्रशासन कार्यालय झापाका अनुसार विगतमा स्थलमार्गबाट ८-१० जना आउजाउ हुने गरे पनि केही दिन यता बंगलादेशबाट स्वदेश फर्किनेहरूको संख्या ह्वात्तै बढेको छ।
कार्यालयका अनुसार साउन ३ गते ६५ जना र ४ गते २५ जना नेपाली बंगलादेशबाट फर्किएको तथ्यांक छ। झापाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी नेपालीहरू स्थलमार्ग हुँदै बंगलादेश आउजाउ गर्दछन्। यसअघि भारतका सञ्चार माध्यमहरूले केही नेपाली विद्यार्थीहरू भारतको मेघालय हुँदै स्वदेश फर्किरहेको उल्लेख गरेका थिए।