काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले १९ हजार ६०० विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाको अंक पुर्नयोग गर्न लागेकाे जनाएकाे छ। आवेदन परेकामध्ये कार्यालयले साउन १ गतेसम्म चार हजार २९७ जनाको नतिजा सार्वजनिक गरेको छ। जसमा २८२ विद्यार्थीको नतिजा परिवर्तन भएको छ।
नतिजा परिवर्तन भएकामध्ये ५९ जनाले ४ जीपीए ल्याएका छन्। तीमध्ये पनि दुईजना नन ग्रेडेड भएका विद्यार्थीको नतिजा परिवर्तन भएर ४ जीपीए आएको छ। यीबाहेक अन्य नन ग्रेडेड भएका विद्यार्थीको नतिजा परिवर्तन हुँदा १.६ देखि ३.६ जीपीएसम्म आएको छ।
यो वर्ष अनलाइनमार्फत् नै आवेदन दिन मिल्ने व्यवस्था गरिँदा पुनर्योग गर्न धेरै आवेदन परेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा बताउँछन्। आवेदन दिएका सबै विद्यार्थीको पुनर्योगको नतिजा साउन २३ भन्दा अगाडि निकालिसक्ने शर्माले जानकारी दिए।
यता प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भने एसईईको नतिजामा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड हुनु राज्यको लज्जाको विषय भएको भन्दै उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन प्रक्रियामाथि प्रश्न उठाएको छ। पुनर्योगमा धेरै विद्यार्थीको नतिजा परिवर्तन भएको पनि समितिको बुझाइ छ।
बिहीबारको समिति बैठकबाट एसईईको उत्तरपुस्तिका जाँच र समग्र प्रक्रियाबारे राष्ट्रिय परीक्षा बोर्डलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ। साथै, पुनर्योगको नतिजामा आएको परिवर्तनबारे पनि के कसो भएको हो भनि बोर्डलाई आवश्यक तथ्यांक बुझाउन निर्देशनदिने निर्णय भएको समिति सभापति अम्मरबहादुर थापाले बताए।
एकदेखि सबै विषयमा नन ग्रेडेड भएका विद्यार्थीका निम्ति साउन २३ देखि ३१ गतेसम्म पूरक परीक्षा गरिँदैछ।
केही विद्यार्थीलाई मानवीय त्रुटिका कारण वर्ष २०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना नन ग्रेडेड भएका थिए। तीमध्ये एक विषयमामात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ। ४८ हजार ३८ विद्यार्थी दुई विषयमा र एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका छन्।