गण्डकी- गण्डकी विश्वविद्यालयले एआई अर्थात् कृतिम बौद्धिकता विषय पढाउने भएको छ। विश्वविद्यालयले कम्प्यूटर इन्जिनियरिङ विषयको स्नातकोत्तर (मास्टर्स अफ कम्प्यूटर इञ्जिनियरिङ-एमआईटी) अन्तर्गत नै एआई (मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्ट्लीजेन्स) अध्यापन गराउन लागेको हो।
विद्यार्थीका लागि निकै सीमित कोटा बढीमा २० खुल्ने छ। स्नातकोत्तर तहमा बीएस्सी, इन्जिनियरिङ र आईटी सम्बद्ध विषय पढेकाहरूले मात्र एमआईटी एआई पढ्न पाउने छन्। यो विषय पढ्ने विद्यार्थीहरूले रकम तिर्नुपर्दैन। बरु विश्वविद्यालयले नै मासिक २० हजार रुपैयाँ विद्यार्थीलाई दिनेछ।
नयाँ विषय र नयाँ मोडालिटीमा यो कक्षा सञ्चालन हुनेछ। कुलपति गणेशमान गुरुङले गण्डकी एआई अध्यापन गराउने नेपालको मात्र नभएर एसियाकै पहिलो विश्वविद्यालय भएको दाबी गरे। उनका अनुसार पठन पाठन चाहिँ चालु अंग्रेजी वर्षको सेप्टेम्बर महिनाबाट हुनेछ। उनले इच्छुक विद्यार्थीहरूलाई सो विषय पढ्न आग्रह पनि गरे।
चार सेमेस्टरमा यो विषयको अध्ययन हुने विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाले बताए।
यो विषय सुरु भएसँगै विश्वविद्यालयले विभिन्न आईटी क्षेत्रका कम्पनीहरूसँग सहकार्य गर्नेछ। उनीहरूको आवश्यकता अनुसार विद्यार्थीहरूले अध्ययनबाहेक काम पनि गर्नेछन्। सोही कामबापत उनीहरूले मासिक २० हजार रुपैयाँ पाउने तिमिल्सिनाले जानकारी दिए।
निजी र सरकारीलगायत विभिन्न क्षेत्रसँग आवश्यक समन्वय गरिने पनि उनले बताए। विश्वविद्यालयले पाठ्यक्रम तयार गरिसकेको छ। विश्वविद्यालयको महेन्द्रपुलमा रहेको हुलाक भवनमा पढाइ हुनेछ।
विश्वविद्यालयका डिन कपिल अधिकारीले एमआईटी एआइको आवश्यकता ठानेर नै कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे। विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको र एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी नपर्ने उनको भनाइ छ।
गण्डकीका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले विश्वविद्यालयले थप गरेको नयाँ विषय सार्वजनिक गर्दै प्राविधिक विषयको पढाइले विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्र हुन भन्ने गुनासोको सम्बोधन गर्ने बताए।
बजारको आवश्यकता अनुसारको जनशक्ति तयार हुँदा विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री थापाले बताए। विदेश नै गएको अवस्थामा पनि प्राविधिक ज्ञान र सिपले दक्ष भएर जाँदा योग्यता अनुसारको काम पाउन सकिने उनको भनाइ छ।
“अहिलेको अवस्थामा एआईको ठूलो स्कोप छ। गुणस्तरीय शिक्षामा विश्वविद्यालय अघि बढेको छ। विद्यार्थी अब रोजगारीका लागि भौँतारिनुपर्ने अवस्थाको निर्मूल हुनुपर्छ। विश्वविद्यालयले गरेको मेहनतबाट म खुसी छु्,” उनले भने।
विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले स्नातकबाट मास्टर्स लेबलमा प्रवेश गर्दा बल्ल विश्वविद्यालयको अनुभूति भएको बताए। प्रदेश सरकारले बनाउन लागेको आईटी पार्क विश्वविद्यालयलाई दिएमा विदेशी निकायसँग मिलेर सूचना प्रविधि सम्बन्धमा काम गर्न सकिने उनको भनाइ थियो। दुई वर्ष भन्दा बढी समयपछि मात्रै कार्यक्रम सार्वजनिक भएको जानकारी उनले दिए।
विश्वविद्यालयले पोखरा ३२ मा आफ्नै संरचना खडा गरी आईटी र फार्मेसीको क्षेत्रमा अध्ययन अध्यापन गराउँदै आएको छ। विश्वविद्यालयले आविष्कार केन्द्रको समेत स्थापना गरेको छ। गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको आबद्धता रहेको उनले उल्लेख गरे।विश्वविद्यालयको नाममा अहिले ५७६ रोपनी जग्गा छ।