काठमाडौँ- पाँच महिना पछि शिक्षा विधेयक माथिकाे छलफल सुरु भएकाे छ। नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईले संसदीय समितिलाई आग्रह विधेयक संसदमा पेस गर्न आफूले सक्दाे पहल गर्ने बताएकी छन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबार भएको छलफलमा मन्त्री भट्टराईले प्राथमिकताका साथ छलफल गरेर विद्यालय शिक्षा विधेयकलाई चाँडो टुङ्ग्याउनुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘विद्यालय शिक्षा विधेयक चासोको विषय बनेको छ। यसलाई छलफल गरेर चाँडै टुंगाेमा पुर्याउनु पर्छ। यसका लागि मन्त्रालयले सक्दाे सहयाेग गर्छ।'
विद्यालय शिक्षा विधेयक बने पछि अहिले देखिएको शिक्षाको समस्या समाधान हुने उनले दावी गरिन्। आफुले मन्त्रालयको जिम्मेवारी सम्हाले पछि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विश्वविद्यालय अनुदान आयोग पाठ्यक्रम विकास केन्द्रको ब्रिफिङ् लिएको उनले बताइन्। त्यस्तै अब राष्ट्रिय परीक्षा बोर्डसँग जाँडै नै छलफल गर्ने उनले बताइन्।
छलफलका क्रममा नेकपा एमाले सांसद प्रतिक्षा तिवारीले शिक्षाको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब बाहेक मासिक खाजा खर्च दिने व्यवस्था गर्न प्रस्ताव गरेकी छन्।
विद्यालय शिक्षा विधेयकमा संशोधन हालेकी उनलाई समितिले छलफलका लागि बोलाएको थियो। ‘शिक्षकको तलब भत्ता न्यून छ। त्यसैले सरकारले मासिक दुई हजार खाजा खर्च दिन सक्यो भने गुणस्तर सुधार हुन सक्छ,’उनले भनिन् ‘यसले गर्दा शिक्षकहरु विद्यार्थीसंग नजिक हुन सहयोग पुर्याउँछ।’
त्यस्तै प्रधानाध्यापकको भत्ता पनि तलबको १५ प्रतिशत हुनु पर्ने उनको प्रस्ताव छ। अहिले सरकारले ५ सय रुपैयाँ उपलब्ध गराएको भत्ता टेलिफोन खर्च पनि नपुग्ने उनले बताइन्। त्यस्तै आन्तरिक प्रतिस्पर्धामा अनुत्तिर्ण हुने राहत शिक्षकहरुलाई निजले गरेको सेवा अवधिको आकारमा आर्थिक सुविधा दिने व्यवस्था विधेयकमा राख्नु पर्ने उनको प्रस्ताव छ।