काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा नेकपा एमाले नेतृ विद्या भट्टराई नियुक्त भएकी छिन्। साेमबार राष्ट्रपति निवासमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका हुन्।
सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन्। साेमबार विस्तारित मन्त्री परिषद्मा एमाले नेतृ भट्टराईले शिक्षा मन्त्रीका रुपमा सपथ लिएकी हुन्।
नेतृ भट्टराई नेपाली राजनीतिज्ञ र नेपालको संघीय संसदको प्रतिनिधि सभाको सदस्य हुन्। २०१९ फेब्रुअरीमा हेलिकप्टर दुर्घटनामा परी श्रीमान् मन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनले रिक्त भएको निर्वाचन क्षेत्र कास्की -२ को उपनिर्वाचनमा उनी विजयी भएकी थिइन्।त्यसपछि २०७९ मंसिरमा भएकाे निर्वाचनमा साेही क्षेत्रबाट नेकपा एमालेबाट निर्वाचित भएकी हुन्।
त्रिविकाे उपप्राध्यापकदेखि शिक्षामन्त्रीसम्म
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दुःखद निधन हुनुअघि दुई सन्तानकी आमा विद्या भट्टराई रत्नराज्य क्याम्पसमा उपप्राध्यापक थिइन्।समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिलसम्मको अध्ययन गरेकी उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको उपप्राध्यापक छाडेर उनी सांसद भएकी हुन्। २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलो पटक मन्त्री बनेकी हुन्।
उपप्राध्यापककाे जागिर छोडेर प्रत्यक्ष राजनीतिमा हाेमिएकी उनी दाेस्राेपटक निर्वाचित भएसँगै मन्त्री बन्ने अवसर प्राप्त गरेकी हुन्।
एमाले विदेशविभाग प्रमुख डा राजन भट्टराईकी सहोदर बहिनीसमेत रहेकी भट्टराई गत ०७९ सालको आम निर्वाचनमा पनि कास्की २ बाटै लगातार दोस्रो पटक सांसद निर्वाचित भएकी थिइन् ।