काठमाडाैं - उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा कविता सुनुवार ट्युसन पढ्न हिँडेको समयमा यसोदा खोला नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कोशी जनता माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनुवार मङ्गलबार बिहान ५ बजे ट्युसन पढ्न भनेर घरबाट हिँडेकी थिइन्। घरबाट हिँडेको दुई घण्टापछि उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
किशोरीको टाउकोमा ठूलो चोट रहेको र ढुंगा प्रहार गरेर हत्या गरिएकाे प्रहरीले जनाएको छ । स्थानीय रमेश बस्नेत भैँसीलाई खोलामा लैजाने क्रममा बिहान ६ बजेतिर शव देखेका थिए । त्यसपछि प्रहरीलाई खबर भएको थियो ।
घटनामा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कवितासँगै अध्ययन गर्ने किशोरी र उनका दाजु विनोद ढकाल छन् । दुईसँग सोधपुछ गर्दा कुरा बाझिएपछि उनीहरूलाई पक्राउ गरेको उदयपुर प्रहरी प्रमुख सुवास बोहराले बताए । प्रहरीका अनुसार उनीहरुबीच पुरानो मनमुटाब रहेको पाइएको छ ।
कबिता अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार ती साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन् । तर, उनी बिच बाटोबाटै घर फर्किएको पाइएको छ । साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ । स्कुलले बिहान सवा ६ बजे अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ ।
ढुंगा प्रहारबाट कविताको अनुहार क्षतविक्षत छ । उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ । घटनापछि स्थानीय र विद्यार्थी आक्रोशित छन् । उनीहरूले इलाका प्रहरी कार्यालय रामपुर घेराउ गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक शाहले अनुशासित र मेहेनती छात्राको हत्या हुँदा विद्यालय परिवार नै स्तब्ध बनेको बताउँदै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यसरी भयाे कविताकाे हत्या
प्रहरीका अनुसार पाँच बजेतिर कविता घरबाट निस्किइन।उनीहरु पढ्ने कोशी जनता मावि, रामपुर कविताको घरबाट तीन किलोमिटर अगाडि थियो । ‘तर स्कुल पुग्न ६/७ सय मिटर बाँकी रहँदै उनीमाथि आक्रमण भयो । बेलका–३ का वडाध्यक्ष भरतकुमार मगर भन्छन्, ‘स्कुल नपुगेपछि खोजी भइरहेको थियो, यशोदा खोलामा विभत्स अवस्थामा शव भेटियो ।’
जिल्ला प्रहरी कार्यालय, उदयपुरका एसपी बोहोराका अनुसार मृतकको शरीरमा पछाडि पट्टीबाट धारिलो वस्तुले प्रहार गरेको प्रारम्भिक अनुसन्धान देखिएको छ । ‘पछाडिबाट टाउको र खुट्टाहरुमा प्रहार गरेको देखिएको छ । घटनास्थलबाट वियरको बोतल र ढुंगा पनि बरामद गरेका छौं ।’
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार केहिपरबाट वियरको बोतल बोकेर हिँडेर अनिताका दाइ ढकालले कवितालाई पछाडिबाट आक्रमण गरेको पाइएको छ । ‘पहिले वियरको बोतलले आक्रमण गरेर ढुंगाले हानेको जस्तो देखिन्छ’ एक अधिकृत भन्छन्, ‘यो प्रारम्भिक अनुमान हो, विस्तृत त पोष्टमार्टम रिपोर्टले बताउला ।’
अधिकृतहरुका अनुसार मंगलबार हत्या गर्ने योजना अनुरुप नै कवितालाई घरबाट बोलाइएको देखिन्छ । तर हत्या पछाडिको कारण चाहिँ अझै स्पष्ट भइसकेको छैन । एसपी बोहोरा भन्छन्, ‘बुधबारबाट बयान लिन थाल्छौं, प्राविधि पक्षको पनि अनुसन्धान हुन्छ, त्यसपछि थप स्पष्ट होला ।’
प्रहरीले अहिले किशोरीहरुको सम्बन्ध केलाउन मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), अन्य साथीहरुसँग बयान र सामाजिक सञ्जालमा पनि अनुसन्धान गरिरहेको छ । प्राविधिक अनुसन्धानको नेतृत्व संघीय प्रहरी इकाइ कार्यालय, धरानले गरिरहेको छ ।
शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । विद्यार्थीहरुले चाहिँ दोषीभन्दा कडा कारबाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् भने इलाका प्रहरी कार्यालयमा पनि धर्ना दिएका छन् ।