चितवन - चितवनको नारायणगढ - मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ। केही यात्रुहरु समेत बेपत्ता छन्।वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना सवार गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो।पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ र ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए। यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ। दुवै बस र यात्रुहरूको अवस्था अज्ञात छ। प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी घटनास्थलमा छौँ, पहिरो पन्छाउँदै खोजी कार्य जारी छ।’
जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको टोली खटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको पनि बताएको छ। खसेको बस खोज्न गोताखोर परिचालन भएका छन् र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको बताएका छन्।पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो र अहिले खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी खड्कबहादुर खत्रीले दिएको जानकारी अनुसार कालीखोलामा माथिबाट ठूलो पहिरो झरेकोले पन्छाउन समय लाग्ने देखिएको बताएका छन्।उनका अनुसार मुग्लिनबाट काठमाण्डौँ सडकखण्डको मौवाखोलामा सडक एकतर्फी छ। रातिदेखि विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध हुँदा सडकहरूमा यात्रुवाहक तथा मालबाहक सवारीको लामो जाम लागेका छन्।
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ। बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको एसपी खत्रीले बताए।