काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक प्रमाण पत्र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ।शैक्षिक प्रमाण पत्रको समकक्षता सहज बनाउन कार्यविधि बनाइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
कार्यविधिमा विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यालयबाट जारी भएका शैक्षिक योग्यता प्रमाण पत्रको प्रमाणीकरण तथा समकक्षता प्रमाण पत्रको प्रमाणीकरण सम्बन्धी व्यवस्था गरिएको छ।
विद्यालयको शैक्षिक योग्यता प्रमाणीकरण गर्न विद्यालय शिक्षाका कक्षा १ देखि कक्षा ९ सम्म तथा कक्षा ११ को प्रमाणपत्र प्रमाणीकरणको लागि सम्बन्धित विद्यार्थी वा अभिभावकले निवेदन दिन सक्नेछन्।
निवेदनका साथ मार्कसिट, ट्रान्सफर तथा माइग्रेसन प्रमाण पत्र, सम्बन्धित स्थानीय तहको शिक्षा शाखा, महाशाखा वा अधिकृतस्तरको कर्मचारीबाट ‘भेरिफाइ’ गरी पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
कक्षा १० तथा १२ को प्रमाणपत्रको प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयबाट ‘भेरिफाइ’ गराउनु पर्नेछ।
उच्च शिक्षाको लागि सम्पूर्ण प्रमाण पत्र बुझाएपछि माइग्रेसन जारी गर्न अधिकारप्राप्त निकायबाट ‘भेरिफाइ’ भए शाखा प्रमुखले प्रमाणीकरण गरिदिन सक्ने कार्यविधिमा उल्लेख छ।
विदेशी विश्वविद्यालयबाट पढेको भए सम्बन्धित मुलुकको नेपालस्थित कूटनीतिक नियोगको भेरिफाइ गर्नुपर्ने त्यो सम्भव नभए स्वघोषणा गरेर निवेदन दिन सकिने व्यवस्था गरिएको छ।