काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख २२ हजार ६९३जना विद्यार्थी अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको जानएको हो।
परीक्षामा सहभागी २ लाख ४२ हजार ९२ जनाले नतिजा ननग्रेड आएको छ। परीक्षाको नतिजा अनुसार १८६ जनाले ४.० जिपीए ल्याउन सफल भएका छन्। २२१ जना विद्यार्थीको परीक्षा रद्द भएको छ।
बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ।
कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन्।
एसईई २०७९ को नतिजा
०७९ सालको एसईईमा चार लाख ८४ हजार ९३९ परीक्षार्थी सहभागी थिए। उक्त वर्ष पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गरिएको थियो। नतिजाअनुसार, ३.६ देखि ४ ग्रेड (ए प्लस) ल्याउने परीक्षार्थीको संख्या २२ हजार ४७५ थियो। कुल परीक्षार्थी संख्याको यो ४.६३ प्रतिशत हो।
यस्तै, ३.२० देखि ३.६० ग्रेड (ए) ल्याउने परीक्षार्थीको संख्या ५५ हजार ६९ अर्थात् ११.३६ प्रतिशत थियो।
२.८ देखि ३.२ जीपीए (बी प्लस) ल्याउनेको संख्या ७२ हजार ३६२ अर्थात् १४.९२ प्रतिशत थियो।
२.४ देखि २.८ जीपीए (बी) ल्याउनेको संख्या ८९ हजार ३३१ थियो। कुल परीक्षार्थी संख्याको यो १८.४२ प्रतिशत हो।
उक्त वर्ष सबैभन्दा धेरै एक लाख दुई हजार २९३ परीक्षार्थीले २ देखि २.४ जीपीए (सी प्लस) ल्याएका थिए। कुल परीक्षार्थी संख्याको यो २१.०९ प्रतिशत हो ।
१.६ देखि २.० जीपीए (सी) ल्याउने परीक्षार्थी १८.२४ प्रतिशत थिए। उक्त वर्ष आठ हजार ४४७ परीक्षार्थीले ‘सी’ ग्रेड ल्याएका थिए।
१.२० देखि १.६० जीपीएसहित डी प्लस ल्याउने परीक्षार्थीको संख्या तीन हजार ७७० थियो। कुल विद्यार्थी संख्याको यो ७.९९ प्रतिशत हो।
उक्त वर्ष कुल विद्यार्थी संख्याको ०.४५ प्रतिशतले ०.८० देखि १.२० जीपीए अर्थात् डी ग्रेड ल्याएका थिए। यो संख्या दुई हजार २०० थियो।
वर्ष ०७९ को एसईई नतिजामा १३ हजार ९९२ अर्थात् २.८९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका थिए।
उक्त वर्ष गणितमा परीक्षार्थीले सबैभन्दा कम जीपीए ल्याएका थिए। वर्ष ०७८ भन्दा ०७९ को नतिजामा सुधार थियो।