काठमाडाैँ- विद्यार्थीले कक्षा ११ मा विषय र विद्यालय रोज्दा ध्यान दिनुपर्छ। विद्यार्थीले आफूले रोजेको विषयले नै आफ्नो भविष्यको रुपरेखा कोर्ने भएकाले विषय रोज्दा आफ्नो रुचि र अभिभावकको क्षमतालाई पनि ध्यान दिन विज्ञले सुझाब दिएका छन्। कक्षा १२ सम्म विद्यालय शिक्षा भएकाले आफूले अध्ययन गरेकै विद्यालयमा आफूले पढ्न चाहेको विषय अध्यापन हुन्छ भने त्यहीँ अध्यापन गर्न उपयुक्त हुने सुझाब उनीहरूको छ।
विद्यार्थीले कक्षा ११ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित विषय अध्ययन गर्न पाउँछन्। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये भने एउटा विषय भने रोज्नुपर्ने हुन्छ।
विद्यार्थीले अनिवार्य अन्तर्गत तीन विषय पढ्नुपर्छ तर अनिवार्य गणित पढ्ने विद्यार्थीले ऐच्छिक गणित भने पढ्न नपाउने व्यवस्था पाठ्यक्रममा छ। ऐच्छिक अन्तर्गत पहिलो, दोस्रो, तेस्रो र चौथो समूहका विषय रोज्न पाइनेछ। तीन अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय विद्यार्थीले अध्ययन गर्न पाउँछन्।
कक्षा ११ मा विद्यार्थीले विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाउँछन्। कक्षा ११ मा रोज्ने विषयले विश्वविद्यालय शिक्षाको अधारशिला तय हुने भएकाले भविष्य केन्द्रित भएर विषय र विद्यालय छनोट गर्न विज्ञले सुझाव दिएका हुन्।
एसईई परीक्षा सकेर नयाँ शिक्षणसंस्थाको खोजिमा भएका प्रत्येक विद्यार्थीले विषय र विद्यालय छनोटमा ध्यान दिन सकेमात्र आफ्नो भविष्यको रूपरेखा कोर्न सहज हुने तर्क राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको रहेको छ।
उनले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई आफूले पढ्न चाहेको विषय रोज्न र नजिकको विद्यालयमा भर्ना पढ्न सुझाब दिएका छन्। उनी भन्छन्, ‘विद्यार्थीले विषयअनुसार विद्यालय छनोट गर्न पाउने भएकाले आफूले रोजेको विषय पढाइ हुने विद्यालय छनोट गर्नुपर्छ। विद्यालय परिवर्तन गर्नुपर्छ भन्ने छैन। आफूले पढेको विद्यालय नजिक छ, आफूले पढ्न चाहेको विषय पनि छ भने त्यही पढ्नु उपयुक्त हुन्छ। यदि आफूलाई अध्ययन गर्न मन लागेको विषय नभए अर्को विद्यालयमा अध्ययन गर्न जानुपर्छ।’
विश्वविद्यालयको पूर्वतयारी कक्षाका रूपमा रहने कक्षा ११ र १२ मा राम्रो नतिजा ल्याउन सके विद्यार्थीलाई विश्वविद्यालयमा आफूले चाहेको विषयको ढोका खोल्न सहज हुन्छ। कक्षा ११ मा विद्यार्थीले छनोट गरेको विषयले उसको भविष्यको रूपरेखा कोर्ने हुँदा यसप्रति विद्यार्थी सजग हुनुपर्छ। त्यसैले विद्यार्थीले आफू अध्ययन गर्ने विद्यालय र विषय छनोट गर्दा निकै ध्यान दिनुपर्ने भनाइ शर्माको छ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश शिलवालले विद्यार्थीको रुचि, उक्त विषय पढ्नका लागि लाग्ने खर्च, अभिभावकको आर्थिक हैसियत, शैक्षिक क्षमता बुझेर मात्रै विद्यालय र विषय छनोट गर्न कक्षा १० उत्तीर्ण गर्ने विद्यार्थीलाई सुझाव दिएका छन्।
कक्षा ११ मा भविष्यमा चिकित्सक, इन्जिनियर, पाइलट, सूचना प्रविधी विज्ञ, बनस्पति विज्ञ लगायत विज्ञानसँग सम्बन्धित विषयमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीले विज्ञान तर्फका अनिवार्य अंग्रेजी, फिजिक्स, बायोलोजी, केमेस्ट्रि, कम्प्युटर, म्याथम्याटिक्स लगायतका विषय अध्ययन गर्नुपर्ने हुन्छ।
विज्ञान तर्फका विषय अध्ययन गरेका विद्यार्थीले स्नातक तहमा अन्य संकाय अन्तर्गतका विषय पढ्न पाउने भएकाले पनि यस तर्फ विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ। अध्ययन पश्चात रोजगारीका हिसाबले पनि विज्ञान तर्फका विषय अध्ययन गर्नु उपयुक्त मानिन्छ। त्यसैले यि विषयलाई प्राविधिक र व्यवसायिक विषयका रुपमा लिइन्छ।
विज्ञान अन्तर्गतका विषयका अलावा व्यवस्थापन तर्फका विषय अध्ययन गर्ने विद्यार्थीका लागि पनि अवसरहरू छन्। व्यवस्थापन संकाय अध्ययन गरेका उत्पादनहरू जुनसुकै क्षेत्रमा गएर काम गर्न सक्छन्। बैकं तथा वित्तीय संस्थामा मात्रै होइन, कुनै पनि कार्यालयमा गएर व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न सक्छन्। व्यवस्थापकीय सीप सिकाउने विषय नै व्यवस्थापन हो। यसभित्र कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, इकोनोमिक्स, बिजनेस म्यानेजमेन्ट लगायतका विषय पढ्न सकिन्छ। व्यवस्थापन संकाय भित्र अनिवार्य अंग्रेजी र नेपाली सँगै अर्थशास्त्र, एकाउन्टेन्सी, होटलम्यानेजमेन्ट, कम्प्युटर, गणित, फाइनान्स, कोअपरेटिभ, ग्रामिणविकास, मार्केटिङ लगायतका विषय अध्ययन गर्न पाइन्छ।
कक्षा ११ मा एच्छिक विषयको रुपमा मानविकी संकाय तर्फका विषयहरू दर्शनशास्त्र, अर्थशास्त्र, पत्रकारिता, राजनीतिशास्त्र, समाजशास्त्र, वातावरण, भूगोल, धर्म, संस्कृति लगायतका विषय अध्ययन गर्न सकिन्छ। यस्तै शिक्षा संकाय तर्फका विषय पढेर शिक्षण पेसामा लाग्ने ढोका खुल्छ। यसमा शिक्षण पेशासँग सम्बन्धित अंग्रेजी र नेपालीसँगै मूल्याङ्कन, चाइल्ड डेभ्लपमेन्ट लगायतका विषय अध्यापन गराइन्छ।
एसईईपछि विद्यार्थीले कक्षा एघारमा भर्ना नभएर यसको विकल्पका रुपमा ‘एलेभल’ पढ्न सक्छन्। यो बेलायती शिक्षा हो। बेलायत स्थित विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) कार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रममा विद्यार्थीले साईन्स र ननसाईन्स गरी दुईवटा संकायमा अध्ययन गर्न गर्न पाउँछन्। यसमा विज्ञान र व्यवस्थापन दुबै संकाय उपलब्ध छ। विश्वभरी नै एकै किसिमका ेपढाई र परीक्षा हुने एलेभल विश्वका थुप्रै देशमा सञ्चालनमा रहि एउटै पाठ्यक्रममा आधारित छ।
कक्षा दश अध्ययन पश्चात प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले व्यवसायिक र प्राविधिक दुबै विषय अध्यापन गराउँदै आएको छ। एसईई उत्तिर्ण गरेका विद्यार्थीले तिन वर्षे डिप्लोमा तहमा नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन पढ्न सक्छन्। त्यस्तै इन्जिनियरिङ तर्फ सिभलि, इलेक्ट्रोनिक्स, मेकानिकल, आईटी, कम्प्युटर, अटो मेकानिकल विषय अध्ययन गर्न पाउँछन्। यसका अलावा कृषीमा प्लान्ट साइन्स, एनिमल साइन्स, आर्युर्वेद चिकित्सा लगायतका विषय अध्ययन गर्न सक्छन्।
कस्तो विद्यालय राम्रो विद्यालय?
विद्यार्थीले कक्षा ११ अध्ययन गर्ने विद्यालय छनोट गर्दा विद्यालयको गुणस्तर, विगतको नतिजा, त्यहाँबाट उत्तीर्ण विद्यार्थीको जीवनशैली र रोजगारीको अवसरका बारेमा ध्यान दिदैँ विद्यालयले विद्यार्थीलाई प्रदान गर्ने सेवासुविधा, फ्यागल्टी मेम्बर, शिक्षक, छात्रवृत्ति लगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ।
विद्यार्थीले विद्यालय छनोट गर्दा ध्यान दिनुपर्ने १० कुरा
१. विद्यार्थी एंव अभिभावकले सर्वप्रथम कुशल व्यवस्थापन र दक्ष अनुभवि शिक्षक भएको विद्यालय छनोट गर्नुपर्छ।
२. विद्यालयले आफ्नो लामो अनुभवबाट अभिभावकसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विश्वसनियता हासिल गर्न सकेको विद्यालय रोज्नुपर्छ।
३. अध्ययन अध्यापनलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिबिधीबाट मुक्त विद्यालय विद्यार्थीका लागि उपयुक्त हुन्छ।
४. विद्यार्थीले आफू बस्ने घर देखी विद्यालय सम्मको दुरी कम भएको विद्यालय रोज्नुपर्छ।
५. अभिभावकले धान्न सक्ने शैक्षिक शुल्क भएको विद्यालयमा आफ्ना छोराछोरीलाई अध्यापन गराउनु नै उपयुक्त हुन्छ।
६. विद्यालयको कक्षा कोठा र विद्यालय परिसरको वातावरण विद्यार्थीमैत्री र प्रविधी मैत्री हुनुपर्छ।
७. विद्यार्थीले विद्यालयले आन्तरिक क्रियाकलाप, अध्ययन, अध्यापनसँगै बाह्य क्रियाकलापमा जोड दिने विद्यालय छनोट गर्नुपर्छ।
८. विद्यालयले रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई कसरी उपयोग गरेको छ भन्ने विषयमा अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्छ।
९. विद्यार्थीले आफू अध्ययन गर्न जान चाहेको विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको स्थिति कस्तो छ? त्यहाँका उत्पादनले स्वदेशी तथा विदेशी विश्वविद्यालयमा भर्ना पाएका छन् कि छैनन्? रोजगारीको अवस्था के छ ध्यान दिनुपर्छ।
१०. विद्यालयको भौतिक शैक्षिक पूर्वाधार, ल्याब, लाइब्रेरी, खेल मैदान जस्ता कुरामा पनि ध्यान दिनु जरुरी छ।