स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिका - ९ फूलबारीकी रेनुका भुसाल भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छिन्। एकचालीस वर्षीया उनी चापाकोट - ९ स्थित गङ्गालाल माविमा अध्ययन गर्छिन्। रेनु भन्छिन्,'१४ वर्षमा विवाह भएपछि अध्ययन गर्न पाइन । भित्रभित्रै पढ्ने एकदम इच्छा थियो, पढ्ने उमेरमा विवाह भयो, पढ्ने चाहना भएर पनि पढ्न सक्ने अवस्था भएन, अहिले छोरी ठूला भए अनि सानैदेखिको पढ्ने चाहना पूरा गर्न विद्यालय जान थालेँ।'
गत वर्ष कक्षा ८ मा भर्ना भएकी भण्डारीले सो तहमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण गरेकी थिइन्। उनी विद्यालयका अन्य विद्यार्थीजस्तै विद्यालय पोशाकमा झोलामा कापी-किताब बोकेर नियमित रुपमा विद्यालय जान्छिन्। 'मानिसका लागि शिक्षाको महत्व धेरै रहेछ, जति बुझ्यो उति यसको महत्व र आवश्यकता देखेँ', उनी भन्छिन्, 'शिक्षा आर्जन गर्न उमेरले छेक्दैन भन्ने लाग्यो अनि गत वर्षदेखि विद्यालय भर्ना भएर जान थालेकी हुँ।'
अन्य विद्यार्थीले जस्तै कक्षाकार्य तथा गृहकार्य गरेर विद्यालय जाने गरेको उनी बताउँछिन्। पढ्न रुचि लागेर आएकाले यसलाई निरन्तरता दिँदै कक्षा १२ सम्म अध्ययन गर्ने रेनुको सोच छ।
'आफ्ना छोरीको उमेरका बालबालिकासँग एउटै कक्षामा बसेर अध्ययन गर्दा कतै रमाइलो त कतै अप्ठ्यारो महसुस हुने गरेको छ', रेनु भन्छिन्, 'धेरै विद्यार्थीले त राम्रो दृष्टिले हेर्छन्, केहीले हजुरआमा, ‘आन्टी’ भनेर जिस्क्याउने गर्छन्, उनीहरूलाई सम्झाउँदै अगाडि बढेकी छु।'
भण्डारी रेनुले अन्य विद्यार्थीजस्तै विद्यालय पोशाकमा उपस्थित भएर मेहनतका साथ अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई बताँउछन्। अन्यत्र विद्यालयमा कक्षा ५ पढ्दापढ्दै छाडेकि रेनु यहाँ कक्षा ८ मा भर्ना भएको उनले बताए।
'कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएको र यही मेहनतलाई कक्षा ९ र १० मा पनि निरन्तरता दिन सकेको खण्डमा माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण हुन्छिन्',प्रधानाध्यापक भट्टराईले भने।
सैद्धान्तिक शिक्षा लिनका लागि उनी यस विद्यालयमा आएर पनि सिकाइ अनिवार्य र जहिले पनि सिक्न सकिन्छ भन्ने सन्देश दिएको प्रअ भट्टराई बताउँछन्। रेनुका तीन छोरीमध्ये जेठीले स्नातक तह, माइलीले कक्षा १२ पूरा गरेकमा छन् भने कान्छी गंगालाल माविमा कक्षा ७ मा अध्ययनरत छिन्।