काठमाडाैँ- विद्यालय शिक्षाकाे संरचना परिवर्तन भएसँगै कक्षा १२ सम्मकाे विद्यालय शिक्षाकाे अधिकार स्थानीय तहसँग छ। शिक्षाकाे गुणस्तर सुधार गर्ने सवालमा राज्यका तीनवटै निकाय जिम्मेवार छन्। विद्यालय शिक्षामा सुधारकाे आवश्यकता पनि छ। केही व्यक्तीले आफ्नाे अथक प्रयासबाट शिक्षणसंस्थालाई नमुना विद्यालयकाे रुपमा स्थापित गर्न सफल भएका छन्। यस्तै उदाहरणीय व्यक्तिले शिक्षामा गरेकाे प्रयास, विद्यार्थीले विद्यालय र विषय छनाेट गर्दा ध्यान दिनुपर्ने कुरा, पाठ्यक्रम, शिक्षामा प्रविधिकाे प्रयाेग र शैक्षिक गुणस्तरमा आएकाे परिवर्तनका विषयमा पिनाकल एकेडेमी, ललितपुरका प्राचार्य डा ऋषि तिवारीसँग ईडीयू सवाल डटकमले गरेकाे कुराकानीकाे मुख्य अंश।
कस्तो विद्यालय राम्रो विद्यालय?
संस्कार र सिपयुक्त दक्ष जनशक्ती निर्माणमा पहल गर्ने अतिरिक्त क्रियाकलापमा जोड दिने विद्यालय नै राम्रो विद्यालय हो। कक्षा ११ मा अध्ययन गर्न विद्यार्थीले विद्यालय छनोट गर्दै गर्दा उनीहरूलाई अहिलेको अवस्थामा समाजमा घुलमिल हुन सक्ने संस्कार र सिप सहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको आवश्यकता हो।
राम्रो विद्यालय हुनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने, समायानुकुल प्रविधिमैत्री शैक्षिक पूर्वाधार, भौतिक संरचना, प्रयोगशाला, पुस्तकालय लगायतको व्यवस्था भएको हुनुपर्छ। यसका साथै उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीले अध्ययन पश्चात प्राप्त गरेका अवसर, परीक्षाको नतिजा, छात्रवृत्ति कोटामा मेडिकल र इन्जिनियरिङ शिक्षातर्फ विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीको संख्या नै महत्वपूर्ण कुरा हो।
कक्षा ११ र १२ अध्ययन पश्चात विद्यार्थीले सफ्ट स्कील, कम्युनिकेशन स्कील र शिक्षण सिकाइ उपलव्धी पनि हासिल गरेको हुनुपर्छ। विद्यार्थीको भविष्य सुनिश्चित गर्न सहयोग गर्ने शिक्षणसंस्था नै उपयुक्त विद्यालय हो।
कक्षा १० को परीक्षा दिएर कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू के – के छन्?
विद्यार्थीले कक्षा ११ मा कुन विषय कहाँ पढ्ने भन्ने विषयमा ध्यान दिनुपर्छ। विद्यार्थीले आफ्नो रुचि अनुसारको मन पर्ने विषय छनोट गर्नुपर्छ। विद्यार्थीलाई कक्षा ११ मा विद्यार्थी ऐच्छिक बाहेक विभिन्न विषय अध्ययन गर्न पाउँछन्।
संस्था हेर्ने भन्दा पनि आफूलाई उपयुक्त र पायक पर्ने गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षणसंस्था रोज्नुपर्छ। पहिलो कुरा उक्त विद्यालयले प्राप्त गरेको नतिजा, एकेडेमीक टिम, विद्यालय सञ्चालन गर्ने संस्थापक पनि प्रमुख हुन्छ। विद्यार्थीले विद्यालयको स्थायीत्व पनि हेर्नुपर्छ।
कति कलेज किनबेच भएर नाम परिवर्तन हुँदा विद्यार्थीले दुःख पाएका छन्। विद्यार्थीले आफू अध्ययन गर्न चाहेको विद्यालयको सञ्चालकको पृष्ठभूमिलाई पनि हेर्नुपर्छ। विद्यालयमा विद्यार्थी आफू अध्ययन गर्ने विषयका लागि आवश्यक पुर्वाधार छ कि छैन ध्यान दिनुपर्छ। विद्यार्थीले आफू पढ्न जान चाहेको विद्यालयमा विद्यार्थी मैत्री वातावरण, पारिवारिक वातावरण भए/नभएको हेुनुपर्छ।
विद्यार्थीलाई यातायातका हिसाबले सहज हुनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको विद्यार्थीले आफूलाई अध्ययनको क्रममा सहज महसुस गर्ने विद्यालयको वातावरण हुनुपर्छ। उक्त विद्यालयलाई समाजले हेर्ने दृष्टिकोण र उक्त विद्यालयलाई समाजमा हेरिने दृष्टिकोणका बारेमा जानकारी लिनुपर्छ।
विद्यार्थीले कक्षा ११ मा विद्यालय परिवर्तन गर्न आवश्यक छ कि छैन?
विद्यार्थीले कक्षा ११ मा विद्यालय परिवर्तन नै गर्नुपर्छ भन्ने त हुँदैन तर पाठ्यक्रम अनुसारको गुणस्तरीय शिक्षा आर्जन गर्न आफूलाई उपयुक्त हुने गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय छनोट गर्नुपर्छ। कक्षा ११ र १२ पढेपछि विद्यार्थी सिधै विश्वविद्यालय शिक्षामा प्रवेश गर्ने भएकाले यो विश्वविद्यालय शिक्षाको आधार विन्दु र प्रवेशद्वार हो। विद्यार्थीलाई पनि कक्षा १० सम्म एउटै विद्यालयमा अध्ययन गर्दा एउटा खुट्किलो पार गरेपछि कलेज जाने किसिमबाट मनोभावना जागृत भएको हुन्छ। जसका कारण विद्यालय परिवर्तन गर्न दिनुपर्छ।
यो विश्वविद्यालयको व्रिजिङ कोर्स भएकाले पनि यसलाई स्कुले वातारण भन्दा थोरै भिन्न राख्नपर्ने भएकाले पनि विद्यालय परिवर्तन गर्न सकिन्छ। कक्षा दशसम्म अध्ययन गराएका शिक्षकले कक्षा ११ र १२ मा आवश्यक शिक्षा प्रदान गर्न सक्छन् भन्ने पनि हुँदैन। विद्यार्थी नयाँ ठाउँमा जादाँ असहज हुन्छ भन्ने हुँदैन। विद्यार्थी पारिवारिक वातावरण भएको विभेद रहित नयाँ विद्यालयको नयाँ परिवेशमा विद्यार्थी रमाउन सक्छन्।
कक्षा ११ र १२ को पाठ्यक्रमलाई विश्वविद्यालय शिक्षासँग जोडेर अध्यापन गराउन आवश्यक छ कि छैन?
कक्षा ११ र १२ को पाठ्यक्रम आफैमा विश्वविद्यालय शिक्षासँग जोडिएको छ। अहिलेको नयाँ पाठ्यक्रम भन्दा उच्चमाध्यमिक हुँदाको पाठ्यक्रम अझ बढि विश्वविद्यालय शिक्षासँग जोडिएको थियो।
मेडिकल र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई व्रिजिङ कोर्स आवश्यक छ। करिकुलम अनुसार विद्यार्थीलाई स्कील सिकाउन पनि आवश्यक छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा विद्यालयले ध्यान दिनुपर्छ। कक्षा १२ उत्र्तीण गरेको विद्यार्थी विश्ववजारमा गएर आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने किसिमबाट तयार हुनुपर्छ।