काठमाडाैँ- गएको आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा विदेशीनेको संख्या ६ लाख ८२ हजार पुगेको छ।
चालु आर्थिक वर्ष २०८० - ८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन्। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो।
वैदेशिक रोजगार विभागका अनुसार जेठ महिनामा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेशिएको पुष्टि भएको छ। जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला रहेका छन्। गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश बाहिरिएका थिए।
गत आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार रहेको थियो।
चैत महिना यता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्कले पुष्टि गरेको पाईन्छ। यो तथ्याङ्कअनुसार साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्यामा कमी नआएको बताए । अधिकारीले भने, ‘यो वर्ष पनि विदेश जानेको संख्या गत वर्षकै नजिक पुग्ने देखिन्छ।’
यूएई पहिलो गन्तव्य
विभागका निर्देशक सुवेदीले रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक भएको बताए। उनका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालीहरुकोयूएई पहिलो श्रम गन्तव्य बनेको पाईन्छ।
यूएईका लागि जेठसम्म १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै जेठसम्म ८७ हजार जना मलेसिया गएका छन्।
जेठमा मात्र संयुक्त अरब इमिरेट्स (यूएई)मा २० हजार ४२४ जना गएका छन्। त्यस्तै मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन्।
कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन्। पछिल्लो वर्षमा नेपाली श्रमिकको नयाँ गन्तव्य युरोप बन्न थालेको पाईनछ। जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन्।
खाडी राष्ट्रको तुलनामा सेवासुविधा र श्रमिकमैत्री कानुन भएकाले पनि युरोप नेपालीहरूको आकर्षक गन्तव्य बनिरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताएको हुन्।
विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ रोजगारीका लागि विदेशिएका छन्।
मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली विदेश गएका छन्। त्यस्तै माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ६ सय ८१ जना रोजगारीका क्रममा विदेशिएको तथ्याङ्क रहेको छ।