काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति प्राप्त गरेर सञ्चालनमा रहेका तर २०७४ यता नवीकरण नभएका शैक्षिक परामर्श दातृ संस्थाको नवीकरण गर्ने निर्णय गरेको छ।
निर्देशिका बमोजिम संस्था नवीकरण गर्नुपूर्व स्थलगत अनुगमन गरेर मात्र संस्था नवीकरण गरिने मन्त्रालयले जनाएकाे हाे।
मन्त्रालयबाट सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरि सञ्चालनमा रहेका संस्थाको विवरण, नामसारी तथा ठाउँसारीको अवस्था, सेवा प्रदान गरेका विद्यार्थीको विवरण हेरेर मात्र नविरण गर्ने मन्त्रालयले जनाएकाे छ।
लामाे समयदेखि अनुगमन तथा नियमन समेत नभएकाे र दर्ता नै नभइ परामर्श व्यवसाय सञ्चालनमा आएकाे गुनासाे आएपछि मन्त्रालयले चासाे दिएकाे हाे।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ अनुसार १ हजार ४७३ वटा शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने गरी शिक्षा मन्त्रालयमा दर्ता भएका छन्। तर, २०७४ साल साउन १६ गतेबाट संस्था दर्ता तथा सो का लागि आवेदन, नवीकरण लगायतका कार्यहरू रोकिएको थियो भने शैक्षिक मेला सञ्चालन अनुमति समेत दिइएको थिएन।
अब नवीकरण भएका संस्थालाई मात्रै शैक्षिक मेला सञ्चालनको अनुमति दिईनेछ। विना अनुमति आफूखुशी सञ्चालन भएका शैक्षिक मेलालाई कारवाही गरिने समेत मन्त्रालयले निर्णय गरेको छ।