काठमाडौं – पाठ्यक्रम विकास केन्द्रले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्नेमा केही प्रकाशन गृहले मनलाग्दी रुपमा पाठ्यपुस्तक प्रकाशन गरेर विक्रिविरतरण गरेको भन्दै त्यस्ता प्रकाशन गृहलाई कारवाहि गरिने चेतावनि दिएको छ ।
केन्द्रले शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा ८ मा विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्ने व्यवस्था रहेको र शिक्षा नियमावली २०५९को नियम ३५ अनुसार पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका पाठ्यसामग्रीहरुको सूचीमा परेका पाठ्यसामग्री वा पाठ्यपुस्तक मात्र प्रयोग गर्नुगराउनु पर्ने व्यवस्था रहेकोमा त्यस्तो स्विकृति नलिई विक्रिवितरण गर्ने प्रकाशगृहलाई कारवाही गर्ने जनाएको हो ।
विभिन्न प्रकाशक, पुस्तक व्यवसायीहरूले पाठ्यसामग्रीमा नेपालको संशोधित मानचित्र समावेश नगरेको, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत सूचीमा नरहेको, स्वीकृति प्रदान नगरिएको, नियमानुसार परिमार्जन नभएको, अद्यावधिक नगरेका पाठ्यसामग्री प्रकाशन र बिक्रीवितरण गरेको भन्ने गुनासो पाइएकोले यसप्रति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको सुचना मार्फत जनाएको छ ।
स्वीकृति प्राप्त पाठ्यसामग्रीहरुमा नेपालको संशोधित नक्सा समावेश नगरी तथा विद्यालय तहको पाठ्यकम अनुसार प्रचलित कानुनबमोजिम स्वीकृति प्राप्त गरेर मात्र पाठ्यसामग्रीहरुको प्रकाशन, विकीवितरण र प्रयोग गर्नुपर्ने व्यवस्थाको प्रतिकूल हुनेगरी प्रकाशन, विकीवितरण र प्रयोग नगर्नु नगराउनु हुन प्रकाशक, पुस्तक व्यवसायी, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई केन्द्रले अनुरोध गरेको छ ।