काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षा सुधार माग लिएर १० दिनदेखि माइतीघर मण्डलामा उभिएर एकल धर्ना दिइरहेका नेपाल समाजवादी पार्टी (नेसपा) को भातृ संगठन समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँसँग अझै सहमति हुन सकेको छैन।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयसँग भएको वार्ता पनि निष्कर्षविहीन बनिरहेका छन्। शिक्षामन्त्री सुमना श्रेष्ठले हिजो मात्रै चापागाईँसहित प्रतिनिधिलाई शिक्षामन्त्रालय सिंहदरबारमै वार्तामा बोलाएकी थिइन्।
शिक्षामन्त्री श्रेष्ठले वार्ताका लागि पर्याप्त तयारी नगरेको युनियनले जनाएको छ।
मन्त्रालय बालविकास शिक्षा सुधारमा गम्भीर नभएको युनियनले जनाएको छ।
यस्ता छन् माग
१. बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, मूल्यमान्यता र देशको अवस्था हेरेर नीतिगत रूपमा नै सच्याएर कम्तिमा तीन तहको हुने व्यवस्था हुनुपर्ने,
२. बाल विकास केन्द्रमाआबद्ध शिक्षकको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयोचित हुनुपर्ने,
३. प्रत्येक तहमा सहयोगी शिक्षक, कर्मचारीको व्यवस्था गरी हाल सेवा प्रदान गरिरहेका शिक्षक, कर्मचारीलाई तत्काल बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने,
४. यसै आर्थिक वर्षबाट बालविकास केन्द्रको भौतिक संरचना, सिकाइ सामग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन तथा नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने,
५. विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि छुट्याइएको प्रतिविद्यार्थी १५ रुपैयाँ बजेट अन्यन्त न्यून र प्रतिविद्यार्थी ५० रुपैयाँ बनाउनुपर्ने र,
६. विद्यालयमा खाना पकाउने, खुवाउने सामग्रीलगायत कर्मचारीको व्यवस्था गरी थप प्रभावकारी बनाउनुपर्ने र तीन तहको सरकार बनेपछि भएको समन्वनगत जटिलता समाधानको लागि तहगत क्षेत्राधिकार साथै कर्तव्य र जिम्मेवारी स्पष्ट रूपमा तोकी पालना गराउन पहल गर्नुपर्ने।