काठमाडाैँ- कक्षा १२ को परीक्षा दिएसँगै विद्यार्थीले आफ्नो आगामी शैक्षिक गन्तव्यको खोजी गर्छन्। स्वेदशी तथा विदेशी विश्वविद्यालयमा उच्च शिक्षा आर्न गर्न विद्यार्थीले विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। त्यसका लागि विद्यार्थी पूर्वतयारी कक्षामा सहभागी हुन्छन्।
विश्वविद्यालय शिक्षा तर्फ कुन विषय कहाँ पढ्ने, कस्तो शिक्षणसंस्था छनोट गर्ने भन्ने विषयमा अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्ने हुन्छ। जसले गर्दा आफूले रोजेको विषय र त्यसमा हासिल गर्ने दक्षताले नै एक दक्ष नागरिक बन्ने अवसर प्राप्त हुन्छ।
विद्यालय तह पार गरिसकेपछि स्नातक तहमा विश्वविद्यालय प्रवेश गर्नुअघि विद्यार्थीले नतिजा आउनु अघिको खालि समय उपयोग गर्न शिक्षण सिकाइसँगै अन्य बाह्य आफ्ना रुचिका क्रियाकलापमा जोड दिन विज्ञले सुझाएका छन्।
शिक्षाविद् डा.विद्यानाथ कोइरालाका अनुसार विद्या र कर्म सँगै लैजान सकियो भने मात्रै जिवन सार्थक हुन्छ। आफूले सिकेको सिप र ज्ञान व्यवहारमा लागू गर्न सकियो भने मात्र शिक्षाको उपयोगिता हुन्छ। त्यसैले विद्यार्थीलाई काम सँगै पढाउनुपर्छ। विश्वविद्यालयका कक्षालाई दैनिक जिवनसँग जोडेर देखाउनुपर्ने र सिपमुलक शिक्षामा जोड दिनुपर्ने सुझाब उनको छ।
कक्षा १२ को परीक्षा पश्चात विद्यार्थीलाई स्वदेशी विश्वविद्यालयमा पढ्ने वा विदेशी विश्वविद्यालयका सम्बन्धनमा नेपालमा सञ्चालित कलेजमा उच्च शिक्षा आर्जन गर्ने वा विदेशी विश्वविद्यालयको डिग्री लिने भन्ने अन्योल छ।
यसका लागि विदेशी भाषा शिक्षाको कक्षामा सहभागी हुने वा नेपाली विश्वविद्यालयका विभिन्न विषय केन्द्रित प्रवेश परीक्षाको तयारीमा जुट्ने विकल्प विद्यार्थीसँग हुन्छ। विदेशी विश्वविद्यालयको कोर्स पढ्छु भन्नेका लागि पनि ४५ भन्दा बढी कलेजले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त एकसयभन्दा बढी कोर्स नेपालमै अध्यापन गराइरहेका छन्। विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने सोच भएका विद्यार्थीलाई पनि विभिन्न मुलुकका शैक्षिक गन्तव्यका विकल्प छन्।
पूर्व तयारी कक्षा आवश्यक
कक्षा १२ उत्तिर्ण गरेपछि स्नातक तह अध्ययन गर्नका लागि स्वदेश तथा विदेशमा विभिन्न अवसरहरू छन्। जसमा विद्यार्थीले स्वदेशमै रहेका विभिन्न ११ वटा केन्द्रीय विश्वविद्यालय र तीनका सम्बन्धन प्राप्त कलेजमा आफूले रोजेको विषय अध्ययन गर्न सक्छन्। यसका अलावा प्रादेशिक विश्वविद्यालयले पनि बजारको माग अनुसारका नयाँ विषय अध्यापन गराएका छन्। आफूले रोजेको विषय अध्ययन गर्न त्यसकै प्रवेश परीक्षाको तयारीमा जुट्नुपर्छ।
विद्यार्थीले कक्षा १२ को परीक्षा दिएपछि विज्ञान तर्फका विषय अध्ययन गरेका विद्यार्थीले विश्वविद्यालय शिक्षा तर्फ मेडिकल र इन्जिनियरिङ विषयका प्रवेश परीक्षामा सहभागी हुन पिईए एसोसियसनका सिईओ लक्ष्मण पोखरेलले सुझाब दिएका छन्। उनका अनुसार ‘विश्वविद्यालय शिक्षातर्फ मेडिकल, इन्जिनियरिङ लगायतका विषय अध्ययन गर्न चाहने विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेपछि खालि बस्नुहुँदैन। उनीहरूले विश्वविद्यालय र आयोगले लिने प्रवेश परीक्षाको तयारीमा जुट्नुपर्छ। त्यसका लागि प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गरिरहेका संस्थाहरू विकल्प हुन सक्छन्।’
विषयगत विविधता
पछिल्लो समय करिअरका हिसाबले इन्जिनियरिङ र मेडिकल जत्तिकै व्यवस्थापन र मानविकी संकायको स्कोप छ। नेपालका विश्वविद्यालयले चिकित्सा शिक्षा तर्फका एमबीबीएस, बीडीएस कार्यक्रम सँगै पारामेडिकल तर्फका नर्सिङ, बीएमएलटी, पब्लिक हेल्थ, फर्मास्युटिकल्स साइन्स, फार्मेसी लगायतका कार्यक्रम सञ्चालन गरेका छन्। यस्तै इन्जिनियरिङ तर्फ सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेशन, बायोमेडिकल, जियोमेटिक्स जस्ता कार्यक्रमम सञ्चालनमा छन्। विज्ञान तर्फका बीएससी इन इन्भायरोन्मेण्टल साइन्स, बीएससी इन ह्युमन बाइलोजी, बीएससी इन एप्लाइड फिजिक्स लगायतका विषय अध्यापन हुन्छ।
यस्तै व्यवस्थापन संकायका बीबीएस, बीबीए, बीएचएम, बीटीटीएम (ट्राभल एण्ड टुरिजम),बीबीएम, बीआईएम, ब्याचलर अफ डेभलपमेण्ट स्टडिज, ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट लगायतका कार्यक्रम सञ्चालनमा छन्।
विज्ञान विषय पढ्नेकालागि इन्जिनियरिङ र चिकित्सा शिक्षाका विषय प्राथमिकतामा भएजस्तै व्यवस्थापन संकायमा पनि राम्रो करिअर भएको पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित भिएस एजुकेशनका प्रमुख कार्यकारी अधिकृत सिईओ रञ्जित कुमार पण्डितको भनाइ रहेको छ। उनका अनुसार ‘व्यवस्थापन संकायतर्फ बीबीए अध्ययन गर्ने विद्यार्थी बेरोजगार हुनु पर्दैन। स्वरोजगार र उद्यमी भएर पनि काम गर्न सक्छन्। यसले विद्यार्थीलाई उद्यमशिल बनाउछ।’
यसका साथै व्यवस्थापन संकाय अध्ययन गर्नेका लागि बैंक तथा वित्तीय क्षेत्रसँगै होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम लगायतका क्षेत्रमा पनि रोजगारीका अवसर छन्। आफै पेसा व्यवसाय सञ्चालन गरेर उद्यमशिल बन्न चाहने, बैंक तथा वित्तीय संस्थामा रोजगारी गर्न चाहनेका लागि व्यवस्थापन संकायका बीबीए, बीबीएम, बीएचएम जस्ता विषय उत्तम विकल्प हुन्। नेपालमा स्नातक तहमा ३ देखि ५ वर्षसम्मका कार्यक्रम सञ्चालित छन्।
पछिल्लो समय सूचना प्रविधि (आईटी) अध्ययन गरेका जनशक्तीको माग रोजगारबजारमा बढेसँगै यस विषय तर्फ विद्यार्थीको आकर्षण पनि बढेको छ। चिकित्सा शिक्षा र इन्जिनियरिङ शिक्षाका अलावा विज्ञान संकाय तर्फ भौतिक विज्ञान, रसायन शास्त्र, जिव विज्ञान, कृषि, वन, वातावरण, माइक्रोबायोजोजी लगायतका विषय विद्यार्थीको रोजाइमा पर्ने गरेका छन्। उनीहरूले विभिन्न विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेर यी विषयमा आफ्नो भविष्य कोर्ने गरेका छन्।
विज्ञान संकाय अन्तर्गत नै अध्यापन हुने सूचना प्रविधि शिक्षा विद्यार्थीको रोजाइको विषय हो। नेपालमा सुचना प्रविधि तर्फ बीएससी सीएसआईटी (कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी), बीआईटी (ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी), बीआईएम (ब्याचलर इन इनफर्मेसन म्यानेजमेन्ट), बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन) लगायतका विषय अध्यापन हुन्छ। विभिन्न विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्न विद्यार्थीले यस लागि पनि तयारी गरेर उत्कृष्टता हासिल गर्नुपर्ने हुन्छ।
उता कृषी तथा वन विश्वविद्यालयले बीएससी एजी, बीएससी फरेष्ट्री तथा बीएससी भेटेरिनरी साइन्स एण्ड एनिमल हस्वेण्डरी लगायतका विषय अध्यापन गराइरहेको छ।तुलनात्मक रूपमा अन्य संकायभन्दा कम लगानी र मेहनत लाग्ने मानविकी र शिक्षा संकाय पनि सेवाको क्षेत्र बढी भएकाले रोजगारीको अवसर छन्।
राजनीति गरी देश बनाउँछु भन्नेका लागि राजनीतिशास्त्र, समाज बुझ्छु र बुझाउँछु भन्नेका लागि समाजशास्त्र, मानव अध्ययनका लागि मानवशास्त्र, इतिहास, पत्रकारिता वा साहित्य, फेसन डिजाइनिङ लागयतका विषय पढेर आफ्नो रुचिको क्षेत्रमा भविष्य बनाउन सक्छन्।यस्तै शिक्षण पेशामा लाग्नेका लागि शिक्षा संकाय उपयुक्त विकल्प हो। शिक्षक बन्न अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने भएकाले पनि बीएड गर्ने विद्यार्थीका लागि सहज हुन्छ।