काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले धेरै कमाउने आशाले युवाको विदेश पलायन बढ्दै गएको बताएका छन्।
अनेरास्ववियुले आयोजना गरेको विद्यार्थी महोत्सव अन्तर्गत बिहीबार विद्यार्थी पलायनको अर्थ राजनीतिक आयाम विषयक प्यानल डिस्कसनमा भाग लिँदै पाण्डेले कृषिमा भन्दा बजारमा गरिने मजदुरीबाट राम्रो कमाई हुने भएपछि गाउँबाट सहर झरेका युवा अझ बढी कमाउने आसमा विदेश जाने क्रम चलेको बताए।
‘युवा विद्यार्थी पलायनको मुख्य कारण त्यहाँ गएर अड्किएको छ, किन भने यहाँ भन्दा त्यहाँ ज्याला धेरै, त्यहाँभन्दा पर ज्याला झन् धेरै, यसको मुख्य आकर्षण ज्यालादारी हो’, उनले भने।
हिजो पहिलो विश्वयुद्ध पछि धेरै मानिसहरू युरोपबाट बाहिर पलायन भएकामा आज त्यहाँको आर्थिक अवस्था बलियो हुँदा नपढेका मात्र होइन पढेका मानिसको आकर्षण पनि युरोप बन्दै गएको उनले बताए।
आज ओर्किङ आवर कम र ज्याला दर बढी भएकोले युरोपमा आकर्षण बढेको उनले स्पष्ट पारे। नेपालबाट युरोप जाने अधिकांश मानिसहरू श्रमिककै रूपमा जाने गरेको उनले बताए।
यसलाई बुझ्न सक्दा नेपालले युवा विद्यार्थीलाई देशमा नै राख्न कस्तो पोलिसी बनाउनु पर्छ भन्ने तस्बिर आउने उनले बताए।
आज नेपाली किन विदेश गए भन्ने कुराको प्रश्न आफूले आफैँलाई गर्नुपर्ने उनको भनाइ छ।