काठमाडौँ- त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा प्राडा अजय भट्टराई नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई सेवा आयोगको सदस्यमा नियुक्त गरेका हुन्।
शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सदस्य सिफारिस समितिले भट्टराईलाई सिफारिस गरेको थियो । कुलपति प्रचण्डले समितिको सिफारिस अनुसार नै नियुक्त गरेका हुन् । उनीसँगै प्राडा सञ्जय आचार्य वैकल्पिकमा परेका थिए।
सदस्यका लागि ८ जनाले आवेदन दिएका थिए। सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । सोही आधारमा ८ जनाले आवेदन दिएका थिए।
आयोगको अध्यक्षमा गत भदौमा प्रा।डा घनश्याम भट्टराई नियुक्त भएका थिए । सदस्यका लागि प्राडाहरू खगेन्द्र प्रसाद लुइँटेल, राजनारायण यादव, मुकुन्द प्रसाद क्षेत्री, लालप्रसाद अम्गाईं, सञ्जय आचार्य, अजय भट्टराई, ज्ञानबहादुर थापा र नवराज कट्टेलको दरखास्त समितिले स्वीकृत गरेको थियो ।
प्रस्तुतीकरण, अन्तर्वार्ता र सिफारिसपछि उनीहरूमध्ये भट्टराईलाई सिफारिस गरेको थियो । त्रिविमा शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्न ३ सदस्यीय आयोग हुने व्यवस्था छ । आयोगको अध्यक्ष र एक सदस्य कुलपतिले नियुक्त गर्छन् भने एक सदस्य लोक सेवा आयोगका सदस्यबाट चयन गरिन्छ । कुलपतिबाट नियुक्त हुने अध्यक्ष र सदस्यको पदावधि ३ वर्षको हुने व्यवस्था छ । आयोगको सदस्य पद गत मङ्सिरदेखि रिक्त थियो । सदस्य पद रिक्त हुँदा आयोगले लामो समयदेखि पदपूर्ति गर्न सकेको थिएन ।