काठमाडौँ- वर्तमान संविधान संशोधन नगरे अझै देश अस्थिरतामा फस्ने राजनीतिक नेताहरूले बताएका छन्।
वर्तमान व्यवस्थाअनुसार एक दलको बहुमत नपुग्ने र समीकरण बनाएर सरकार बनाउँदा राज्य अस्थिर हुने नेताहरूले बताएका छन्।
अनेरास्ववियुद्वारा आयोजित ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ विषयमा बोल्दै नेताहरुले निर्वाचन प्रणालीका विषयमा विकल्प सोच्नुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै नेकपा एमाले सचिव योगेश भट्टराईले प्रणाली परिवर्तन गरेर भए पनि देशलाई स्थिर बनाउनुपर्ने धारणा राखे।
उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा गठन गरेर र राष्ट्रिरयसभालाई समानुपातिक बनाएर भए पनि स्थिरता बनाउन सकिने सुनाए। उनले देशमा विभिन्न समयमा स्थिर सरकार बन्दा पनि टिक्न नसकेको सुनाए।उनले २०४८ साल, २०६४ र २०७४ सालमा स्थिरता प्रत्याभूति हुने सरकार बन्न खोजेको तर सम्भव नभएको सुनाए।
उनले स्थायीत्वका लागि चुनावपूर्व नै समीकरण निश्चित गर्नुपर्ने र समीकरणभित्र प्रधानमन्त्री र कार्यक्रम पनि संयुक्त ल्याउनुपर्ने सुझाव दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारको स्थायित्व खोज्न नेतृत्वले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताए। पौडेलले राजनीतिक अस्थिरताको कारण व्यवस्था नभई नेतृत्व भएको बताए।
‘पछिल्लो समय भएका राजनीतिक अस्थिरताका कारण अहिले व्यवस्थाको कारणले होइन । यो व्यवस्था सबै भन्दा उत्कृष्ट छ । तर, यसको ड्राइभ गर्ने नेतृत्वको स्वार्थका कारण अस्थिरता पैदा भएको छ,’ उनी भन्छन् ।
कहिले गठबन्धन बन्ने र फुट्ने विषय कुनै दार्शनिक चिन्तन मिलेर नभएको उनको भनाइ छ । ‘सबै दलका मुख्य नेतृत्वको सत्ता मोहका कारण यस्तो भएको हो । जबसम्म नेतृत्वको केन्द्रीकृत व्यवहार परिवर्तन हुँदैन तबसम्म राजनीतिक स्थिरता आउँदैन,’ पौडेलले भने ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराईले स्थायीत्वका लागि शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्ने सुझाव दिइन्।
उनले राजनीतिक स्थायीत्व दिनका लागि आफूहरू वैकल्पिक शक्ति निर्माणमा जुटेको बताइन्। उनले स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने बताइन्। उनले संसद्लाई विधायिकारूपमा स्थापित हुनुपर्ने सुझाव दिइन्।