काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गर्ने भएको छ।काठमाडौंको भृकुटीमण्डपमा हुने महोत्सव जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर उत्प्रेरणा दिन महोत्सव गर्न लागिएको जानकारी दिए।
महोत्सवमा अहिलेका विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने उनको भनाइ छ।
महोत्सवका संयोजक तथा अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुको साथै शिक्षा प्रणाली सुधार गर्न के-के आवश्यक छ भनेर सुझावसमेत लिने बताए।
महोत्सवमा नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणाली लगायतका विषयमा जानकारी दिइनेछ।
महोत्सव संयोजक गिरीका अनुसार महोत्सवमा विद्यार्थीलाई कसरी उत्पादनँंग जोड्ने र र पढ्दै-कमाउँदै गर्ने सम्भावनाका बारेमा पनि छलफल गरिनेछ। महोत्सवमा २५० भन्दा बढी शैक्षिक, पर्यटक र सांस्कृतिक स्टल राखिने छन्।
महोत्सवमा उपत्यकाकासहित बाहिरबाट करिब एक लाख विद्यार्थीलाई अवलोकन गराइनेछ। महोत्सवमा सातै प्रदेशका रहनसहन, भेषभुषा झल्कने सांस्कृतिक कार्यक्रम पनि दिउँसो ३ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।
यस्तै महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको वहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने अनेरास्ववियुले जनाएको छ।