काठमाडाैँ- नेपालबाट विदेश अध्ययनका नाममा गएकाे ९ महिनामा एक लाख विद्यार्थीले करिब १ खर्ब रुपैयाँ विदेश लगेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको हाे। अघिल्लो वर्ष ६७ अर्ब १९ करोड रुपैयाँ विदेशिएकाेमा यस वर्ष याे रकममा वृद्धि भएकाे छ।
शैक्षिक यात्राको नाममा दैनिक जसो हजारौँ बौद्धिक युवाहरू विदेशी रहेको र यसले ठुलो आर्थिक पलायन समेत गराइरहेको प्रति पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चिन्ता व्यक्त गरेका छन्।
‘९ महिनामा नै शैक्षिक यात्राको नाममा १ खर्ब रुपैयाँ बाहिरिनु सानो कुरा होइन। यसलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ,’ उनले भनेका छन्।
केही समय अघि अर्थ समितिमा मुलुकको अर्थतन्त्रको अवस्था र सुधारका विषयमा छलफल बैठकमा भाग लिएका पाण्डेले सरकारले बौद्धिक पलायन रोक्न र मुलुक भित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सिर्जना गर्न सरकार लाग्नुपर्ने बताएका थिए। नत्र, बौद्धिक पलायनलाई रोक्न नसकिने उनको तर्क थियो।
शिक्षाका लागि अधिक रकम विदेशिँदा भ्रमण व्यय समेत अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको पाइएको छ। यस वर्ष ९ महिनामा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ। यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन्।
यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो। सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो।
९ महिनाको अवधिमा सेवा खाता ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा छ। सेवा खाता अघिल्लो वर्षको यसै अवधिमा ६३ अर्ब ९१ करोड रुपैयाँले घाटामा थियो। यस वर्ष पर्यटन आय भने बढेकाे छ।
वृहत् योजना बनाउँदै छु : मन्त्री श्रेष्ठ
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शैक्षिक क्षेत्रको सुधारसँगै युवा लक्षित कार्यक्रमका लागि आफूले वृहत् योजना बनाउँदै गरेको बताएकी छन्।
९ महिनाको अवधिमा एक लाख बढीले वैदेशिक शिक्षाका लागि एनओसी लिएको र १ खर्ब बढी बाहिरिएको सन्दर्भमा यस्तो स्थितिको समाधानका लागि आफूले अध्ययन गरिरहेको र छिट्टै वृहत् योजना ल्याउने बताइन्।
‘मुलुकको समग्र शैक्षिक क्षेत्र सुधारका लागि त्यसको नीतिगत र व्यवहारिक पक्षको ग्रास रुटदेखि नै सुधारको खाँचो छ। विश्वविद्यालय शिक्षा सुधारका लागि हामीले पहल गरेका छाैँ। यसैको एक अंश वैदेशिक शिक्षामा बढ्दो आकर्षण हो। यसलाई रोक्न र देशमा नै सुधारिएको शैक्षिक प्रणालीको विकास गर्न वृहत् योजना बनाउँदैछु,’ मन्त्री श्रेष्ठले भनिन्।