काठमाडाैं – त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अत्याधुनिक भवन निर्माण सुरु भएको छ। भवन ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ रुपैयाँ ३७ पैसा लागतमा निर्माण सुरु भएको हो। २०७८ पुस ६ देखि १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केसी हनुमान जेभी ललितपुरले ठेक्का पाएको छ।
२०७२ को विनाशकारी भूकम्पबाट पुस्तकालय भवनको केही भाग क्षतिग्रस्त भएपछि त्यहाँ बसेर पढ्नेका लागि समस्या भएको थियो। भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा क्षेत्र परियोजनाको भूकम्पपछि पुनर्निर्माण कार्यक्रमअन्तर्गत कीर्तिपुरस्थित गान्धी भवनसँगै ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा भवन भन्न लागेको छ। भवनमा आधुनिक सुविधासहितको विपद् प्रतिरोधी ढाँचामा तीन तलाको लिफ्ट तथा हिटिङ कुलिङ सुविधा हुनेछ।
भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्था हुनेछ। साथै ई–लाइबे्ररी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रदर्शनी कक्ष आदिको व्यवस्था रहनेछ।
२०१६ मा केही थान पुस्तक र दुईवटा कोठाबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय स्थापना भएको थियो। पुस्तकालय स्थापनासँगै पठन संस्कृतिको पनि विकास भएको जानकारहरू बताउँछन्। त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठ केन्द्रीय पुस्तकालयले आफ्नो साख जोगाउन अथक प्रयत्न गरिरहनुपरेको बताउँछन्।
उनी भन्छन्, ‘पुस्तकालयलाई नयाँ प्रविधिको प्रयोगमा ल्याएर सर्वसुलभ पहुँच विस्तार गर्न लागिपरेका छौं। भौतिक संरचना निर्माण गर्दै यसलाई विस्तार गर्न सहयोग जुटाउनेदेखि कर्मचारी व्यवस्थापनका समस्यासमेत छन्। यसलाई अघि बढाउन चुनौतीपूर्ण छ।’
पुस्तकालय स्थापना भएसँगै यसले थुप्रै आरोहअवरोह सामना गर्दै अघि बढेको उनको भनाइ छ। भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्था हुनेछ। साथै ई–लाइबे्ररी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रदर्शनी कक्ष आदिको व्यवस्था रहनेछ।
भवन निर्माणको सम्पूर्ण व्यवस्थापकीय पक्ष नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले हेर्नेछ। पुस्तकालय निर्माणपछि एकै पटक पाँच हजारभन्दा बढीले अध्ययन गर्न सक्ने त्रिवि पुस्तकालयले जनाएको छ।
नेपालमा आफ्नो छुट्टै भवन भएको यो पहिलो पुस्तकालय हो। त्रिभुवन विश्वविद्यालय पुस्तकालयका सम्बन्धमा बनेको विनियम २०३० अनुसार यो पुस्तकालयको नाम त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय रहन गएको हो। स्थापनाकालको ८ वर्षपछि भारत सरकारको अनुदान सहयोगमा पुस्तकालयका लागि कीर्तिपुरमा छुट्टै भवन बनाइएको थियो।
केन्द्रीय विभागमा मात्र सीमित रहेको पुस्तकालय अन्य क्याम्पसका पुस्तकालयको अनुगमन गर्ने तथा प्राविधिक सरसल्लाह दिने साथै सर्वसाधारण स्वदेशी तथा विदेशी अनुसन्धानकर्तालाई पनि सेवा दिने दायित्वसहित यसले आफ्नो सेवा विस्तार गरेको छ। जसअनुरूप त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता, कर्मचारीका साथै अन्य स्वदेशी तथा विदेशी पाठकले पनि पुस्तकालयको सदस्यता लिन पुस्तकालय प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
पुस्तकालयमा हालसम्म नियमित १४ हजारभन्दा बढी सदस्य छन् भने पुस्तकालयले सदस्यता विना पनि जोसुकैले पनि अध्ययन गर्न पाउने भएकाले दैनिक लगभग ८ सय देखि १ हजारसम्मको संख्यामा पाठक अध्ययन लागि आउने गरेको पुस्तकालय प्रमुख श्रेष्ठ बताउँछन्।
त्रिवि पुस्तकालयमा १ लाख ५० हजारभन्दा बढी पुस्तक सफ्टवेयको प्रयोग गरी कम्प्युटर अटोमेसन गर्ने काम सम्पन्न भइसकेको छ ।
पुस्तकालयमा ४ लाख ३० हजार भन्दा बढी पुस्तकका साथै वाउन्ट भोलुम पिरियोडिकल छन्। विश्वविद्यालयले निर्माण गरेको पाठ्यक्रमका साथै पाठकको आवश्यकताअनुसारका पुस्तक, जर्नल, अखबार आदि ज्ञान सामग्री खरिद गर्दै आएको छ।
यस्तै १ लाख ५० हजारभन्दा बढी पुस्तक सफ्टवेयको प्रयोग गरी कम्प्युटर अटोमेसन गर्ने काम सम्पन्न भइसकेको छ। यसका साथै ७ हजार ५ सयभन्दा बढी शोधपत्रहरू डी–स्पेस सफ्टवेयरमा राखी ओपन एक्सेसमार्फत पाठकले फुल टेक्स डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको छ।
पुस्तकालयले सन् १९६४ देखि युएनको डिपोजिटरी लाइब्रेरीका रूपमा रही युएन र युएनअन्तर्गतका एजेन्सीहरूका प्रकाशन संकलन गरिरहेको छ। त्यसैगरी १२ माघ २०५६ देखि आइएसबीएनको राष्ट्रिय एजेन्सीका रूपमा जिम्मेवारी समाल्दै आइरहेको छ।
२०७७ असारदेखि आईएसबीएन प्रदान गर्ने सेवालाई अनलाइनमार्फत वितरण गर्ने कार्य थालिएको छ। पुस्तकालयले २००७ सालदेखि नेपालका विभिन्न शैक्षिक तथा व्यावसायिक संस्थाद्वारा नियमित र क्रमबद्ध रूपले प्रकाशन गरिने विज्ञसमीक्षित जर्नलहरूका लागि डाटाबेस व्यवस्थापन गर्ने कार्यको सुरुवात गरेको श्रेष्ठले बताए। ती जर्नलहरू अनलाइनका माध्यमबाट पाठकलाई निःशुल्क अध्ययन सेवा प्रदान गर्ने गरेको छ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीको समयमा पाठकहरूलाई अध्ययन सेवा प्रदान गर्न २०७७ मंसिर ५ देखि रिमोट एक्सेससहित प्रोक्वेस्ट डाटाबेस सेवा सुरुवात गरेको छ। प्रोक्वेस्ट बहु विषयलाई समेटेको डाटाबेस हो जसमा ४ लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसनका साथै हजारौं शीर्षकका जर्नल, म्यागजिन तथा रिपोर्ट छन्।
यसका साथै त्रिविले सन् २०२१ मा एसियन विकास बैंक र नेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग अनलाइन ई–रिसोर्सेस प्रयोगका लागि सम्झौता गरिसकेको छ। एसियाली विकास विकास बैंकको डाटाबेसमा ३ लाखभन्दा बढी रिसोर्सेस उपलब्ध छन् जसमा अधिकांश बैंककै विभिन्न विषयमा प्रकाशनहरू पुस्तक तथा रिपोर्ट छन्।