काठमाडाैँ- फिनल्यान्ड युरोपको उत्तरी भागमा अवस्थित सेन्जेन क्षेत्र भित्र रहेको सुन्दर मुलुक हो। सुरक्षित करिअर र स्थाइ बसोबासका हिसाबले फिनल्यान्ड नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्यका रुपमा परिचित छ। फिनल्यान्ड विश्वभर नै ‘वल्ड ह्यापियस्ट कन्ट्रि’ को पहिलो नम्बरमा छ।
पछिल्लो समय फिनाल्यान्ड नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ। सन् २०१७ सम्म विदेशी विद्यार्थीले फिनल्यान्डमा निशुल्क रुपमा शिक्षा लिन पाउथे। त्यस पश्चात भने विदेशी विद्यार्थीले शिक्षण शुल्क तिरेर मात्र अध्ययनका लागि अनुमति पाउँछन्।
फिनल्यान्डमा नीजी विश्वविद्यालय नभएकाले अन्य मुलुकमा भन्दा फरक शिक्षा प्रणाली रहेको छ। फिनल्यान्डमा १३ वटा विश्वविद्यालय र २३ वटा अप्लाइड साइन्सका विश्वविद्यालय सञ्चालनमा छन्। यी सबै सरकारद्वारा सञ्चालित विश्वविद्यालय हुन्।
उच्च शिक्षालाई फिनल्यान्डमा दुई भागमा विभाजन गरिएको छ। एउटा युनिभर्सिटी र अर्को युनिभर्सिटी अफ अप्लाइड साइन्सेस। फिनल्यान्डका विश्वविद्यालयले अनुसन्धानमा जोड दिदैँ शैद्धान्तिक कुरामा जोड दिन्छन् भने अप्लाइड साइन्सका विश्वविद्यालयले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन्छन्। नेपालबाट फिनल्यान्डमा विशेष गरेर व्यवहारिक र प्रयोगात्मक सिप मुलक शिक्षा आर्जन गर्न जाने प्रचलन छ। स्नातकोत्तर तहका केही विषयमा अध्ययन गर्न विश्वविद्यालयमा पनि विद्यार्थी जाने गरेका छन्।
अप्लाइड साइन्सका विश्वविद्यालयमा स्नातह तहमा अध्ययन गर्न जान कक्षा १२ उत्तिर्ण गरी अंग्रेजी भाषा परीक्षा उत्तिर्ण गरेको हुनुपर्छ। अंग्रेजी भाषा परीक्षा आईईएलटिएसमा न्युनतम स्कोर ६, पिटिईमा ५५, टोफलमा ६० अंक प्राप्त गरेका व्यक्तीले आवेदन दिन पाउछन्।
फिनल्यान्डमा तीन वटा तरिकाबाट विद्यार्थी भर्ना हुुन्छन्। प्रवेश परीक्षामा आधारित भर्ना प्रक्रिया हुन्छ। जहाँ विद्यार्थीले अनलाइन माध्यमबाट सञ्चालन हुने प्रवेश परीक्षामा ल्याएको स्कोरको आधारमा विद्यार्थी भर्ना हुन्छ। अर्को विद्यार्थीको शैक्षिक प्रमाणपत्रको आधारमा लिइने विद्यार्थी भर्ना प्रक्रिया हो। फिनल्यान्डमा अंग्रेजी भाषा परीक्षामा राम्रो अंक ल्याएका विद्यार्थीले सहज रुपमा भर्ना पाएका छन्। अर्को स्याट स्कोर वेस्ड एड्मिसन पनि हुन्छ। विद्यार्थीले स्याटमा १००० प्लस ओभरअल स्कोर ल्याएको छ भने सिधै भर्ना पाउछन्।
फिनल्यान्डमा रहेका एप्लाइड साइन्सका विश्वविद्यालयले अनलाइन माध्यमबाट प्रवेश परीक्षा सञ्चालन गरी भर्ना प्रक्रिया अघि बढाउछन्। स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीको हकमा अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा ६.५, पीटीई ६२ र टोफलमा ९२ अंक ल्याएको हुनुपर्छ। अन्य सरकारी विश्वविद्यालयले स्नातकोत्तर तहमा भने विद्यार्थीलाई प्रवेश परीक्षा लिदैनन्। विद्यार्थीको शैक्षिक योग्यता र भाषागत दक्षताको आधारमा विद्यार्थी भर्ना हुन्छन्।
फिनल्यान्डमा फिनिस भाषासंगै स्वीडिस र अंग्रेजी भाषा पनि बोलिन्छ। शैक्षिक उद्देश्य, भिसा प्रपोज र प्रशासनिक कामका लागि फिनिस भाषा आवश्यक पर्दैन तर काम गर्नको लागि स्थानीय भाषा आवश्यक पर्ने भएकाले फिनिस भाषा जान्न आवश्यक छ।
नेपालमा फिनिस भाषा अध्यापन हुने आधिकारिक ठाउँ नै छैन। विद्यार्थीले चाहेमा अनलाइनबाट मात्र पढ्न सक्छन्। फिनल्यान्डका विश्वविद्यालयले वर्षमा एउटा मात्र अगस्ट इन्टेकमा विद्यार्थी भर्ना लिन्छन्। केही सिमित विश्वविद्यालयले केही विषयमा जनवरीमा पनि विद्यार्थी भर्ना लिन्छन्।
नेपालबाट फिनल्यान्डमा अध्ययन गर्न जान चाहने विद्यार्थीले अगस्ट, सेप्टेम्बर इन्टेकका लागि तयारी गर्नुपर्ने हुन्छ। फिनल्यान्डको भिसा प्रोसेसिङको समय लामो हुन्छ। त्यसैले गर्दा अगस्ट इन्टेकका लागि विद्यार्थीले नोभेम्बर डिसेम्बरबाटै प्रक्रिया थाल्नुपर्ने हुन्छ। जनवरी सम्ममा विश्वविद्यालयमा आवेदन दिएपछि विद्यार्थीले उक्त विश्वविद्यालयमा भर्ना पाए नपाएको मार्च अप्रिलमा मात्र थाहाँ हुन्छ। जुन विद्यार्थीले भर्ना पाएका हुन्छन् उनीहरूले त्यसपछि मात्र भिसाको प्रक्रिया थाल्नुपर्ने हुन्छ।
फिनल्यान्डको भिसा एप्लाई गर्न धेरै फाइनान्सियल डकुमेन्ट आवश्क पर्दैन। विद्यार्थीले भर्ना पाएको पत्र आएपछि शिक्षा मन्त्रालयबाट नो अव्जेक्सन लेटर लिएर एक वर्षको शिक्षण शुल्क विद्यार्थीको खाताबाट सम्बन्धित विश्वविद्यालयमा पठाउनुपर्ने हुन्छ।
भिसा अप्लाई गर्न विद्यार्थी नेपाल बाहिर जानु पर्दैन। फिनिस राजदुताताबास नेपालमै भएकाले विद्यार्थीलाई सहज हुन्छ। तर भिसा दिने निर्णय फिनिस इमिग्रेसन सर्भिसले गर्छ। आर्थिक कागजात ठिक छ भने फिनल्यान्डमा भिसा रिजेक्सनको संभावना हुँदैन। पछिल्लो तीन वर्षको फिनल्यान्डको भिसा सक्सेस रेट ९० प्रतिशत भन्दा माथि छ। स्नातक तहमा इन्जिनियरिङ र आईटीमा ४ वर्षको कोर्स हुन्छ। बिजनेस, नर्सिङ, सोसियल सर्भिस, टुरिजम लगायतका कोर्स साढे ३ वर्षको हुन्छ। उनीहरूले साढे तिन वर्षकै भिसा पाउँछन्। फिनल्यान्डमा अध्ययन गर्न जान इयर ग्यापले खासै असर गर्दैन।
छात्रवृत्तिको व्यवस्था
फिनल्यान्डका सबै विश्वविद्यालयले विदेशी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका हुन्छन्। स्नातह तह अध्ययन गर्न जाने विद्यार्थीले कुनै पनि विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाउँदैनन्। केहीले पहिलो समेस्टरमा ‘अर्लि वड स्कोलरसिप’ भनेर कुल शिक्षण शुल्कमा दश प्रतिशत छात्रवृत्ति प्रदान गर्छन्।
पहिलो वर्षमा ३० प्रतिशत र दोस्रो वर्षदेखि विद्यार्थीको नितिजाको आधारमा दश देखि ५० प्रतिशतसम्म छात्रवृत्ति उपलव्ध गराउछन्। नेपालबाट गएका शैक्षिक योग्यता राम्रो भएका र भाषागत दक्षता हासिल गरेका विद्यार्थीले फिनिस स्कोलरसिप पाउँछन्। जसले शिक्षण शुल्क तिर्नु पर्दैन। स्नातकोत्तर तहमा अध्ययन गर्न गएका विद्यार्थीलाई विश्वविद्यालयले रिलोकेसन ग्रान्ट भनेर ५ हजार युरो दिन्छ।
आवश्यक कागजपत्र
विद्यार्थीले भर्ना पाएपछि विश्वविद्यालयको खातामा एक वर्षको शिक्षण शुल्क बापतको रकम विद्यार्थीकै खाताबाट जम्मा गर्नुपर्ने हुन्छ। एक वर्षको बसोबास खर्च बापत आवश्यक पर्ने रकम ६ हजार ७२० युरो (नेपाली दश लाख रुपैयाँ अनुमानित) रकम विद्यार्थीको खातामा डिपोजिट भएको हुनुपर्छ।
फिनल्यान्ड सरकारले अभिभावकको आम्दानीको स्रोतको आधारका लागि बैंक स्टेटमेन्ट बुझाउनुपर्ने हुन्छ। अभिभावकको नियमित आम्दानिको स्रोत खुलाउनुपर्ने हुन्छ। आम्दानीको स्रोत पारदर्शी छ, कर समयमा तिरेको छ भने विद्यार्थीको भिसा रिजेक्ट हुने संभावना हुँदैन।
आवश्यक कागजपत्र पुरा भए विद्यार्थीले एक महिनादेखि ३ महिना भित्र भिसा प्राप्त गर्छन्। विद्यार्थीले ट्राभल कार्ड बनाएर पैसा बोकेर जानुपर्ने हुन्छ। फिनल्यान्ड पुगेपछि बाँकी पैसा रिर्टन गर्न पनि मिल्छ। स्नातकोत्तर तहमा अध्ययन गर्न जाने विद्यार्थीले २ वर्षकै भिसा प्राप्त गर्छन्।
लागत खर्च
शिक्षण शुल्क विद्यार्थीले प्राप्त गरेको छात्रवृत्ति र विषय अनुसार फरक विश्वविद्यालयमा फरक हुन्छ। सामान्यतया स्नातक तह अध्यापन गराउने विश्वविद्यालयको शिक्षण शुल्क ८ हजार देखि १० हजार युरो हुन्छ। स्नातकोत्तर तहको शिक्षण शुल्क सामान्यतया १० देखि १२ हजार युरो हुन्छ। फिनल्यान्डमा अधिकांश विश्वविद्यालयमा एकै पटक एक वर्षको शिक्षण शुल्क तिर्नुपर्ने हुन्छ।
शिक्षण शुल्क बापत १२ लाख रुपैयाँ, ४ लाख रुपैयाँ ईन्सुरेन्स, टिकट, सपिङ बापत खर्च हुन्छ। विद्यार्थी फिनल्यान्ड जाँदा दश लाख रुपैयाँको ट्राभल कार्ड बनाएर बोकेर जानुपर्छ। जसले गर्दा करिब २६ लाख रुपैयाँको जोहो गर्नुपर्ने हुन्छ।
रोजगारीको अवसर
फिनल्यान्डमा विद्यार्थीको हकमा हप्ताको ३० घण्टा काम गर्न पाउछन्। विद्यार्थी र डिपेन्डेन्टले एकैपटक अप्लाई गर्न पाउँछन्। फिनल्यान्डमा स्नातक तह अध्ययन गर्न जाने विद्यार्थीले पनि डिपेन्डेन्ट लान पाउँछन्। डिपेन्डेन्टले पूर्णकालिन रुपमा काम गर्न पाउछन्।
अध्ययन पश्चात विद्यार्थीले दुईवर्ष पोस्ट स्टडी वर्क पर्मिट पाउँछन्। स्कील फिल्डमा दुई वर्ष भित्र काम पाएको खण्डमा विद्यार्थीले वर्क पर्मिट पाउछन्। वर्क पर्मिट पाएको केही समयमा नै स्थायी बसोबासका लागि आवेदन दिन सकिन्छ। ४ देखि ६ वर्ष सम्म फिनल्यान्डमा बसोबास गरेर सरकारलाई कर तिरे पछि पिआर अप्लाई गर्न सहज हुन्छ।
फिनल्यान्डका प्रमुख सहरमा रोजगारीको अवसर पाएपनि साना सहरमा रोजगारीको अवसर पर्याप्त हुँदैन। फिनल्यान्डको राजधानीमा सहजै काम पाइन्छ। विद्यार्थीले सुरुमा अनस्किल काम पाएको अवस्था छ। विशेष गरेर नेपाली विद्यार्थीले हस्पिटालिटी सेक्टरमा काम पाउँछन्। सुरुका दिनमा विद्यार्थीले वेटर, वार टेन्डर , क्लिनर, स्टोरकिपर र फुड डेलिभरी लगायतको काम गर्छन्। अन्य क्षेत्रमा रोजगार पाउन फिनिस भाषा जान्दा सहज हुन्छ।
आईटी, इन्जिनियरिङ र नर्सिङ क्षेत्रमा काम गर्न पाउने संभावना रहन्छ। फिनल्यान्डमा मासिक आम्दानी १६ सय युरो भए वर्क पर्मिट पाइन्छ। फिनल्यान्डमा न्युनतम मापदण्ड पुरा गरेका व्यक्तीले सहजै स्थाइ बसोबासको अनुमति प्राप्त गरेको अवस्था छ।
यदि तपाई फिनल्यान्डमा अध्ययनका लागि जाने याेजनामा हुनुहुन्छ भने प्रसाईसँग परामर्श लिन सक्नुहुनेछ।