शिक्षा नै देश विकासको मूल आधार हो । राज्यलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न एउटा शिक्षकको भूमिका अतुलनीय हुन्छ । एउटा शिक्षक कुनै ठाउँमा जाँदा आफ्नो विद्यार्थीले गरेको प्रगति देख्दा अत्यन्त खुसी हुन्छ । वि. सं.२०५२ मा आफूले पढाएका आफ्नो स्कूलका विद्यार्थी एसएलसी परीक्षामा शतप्रतिशत उत्तीर्ण हुँदाको खुसीको क्षणले उनलाई सधैं ऊर्जा दिने काम गर्याे ।
राजधानी आउँदा खाली हात आएका उनी आज शिक्षण पेशाबाटै आफू स्थापित बन्न पुगेकोमा खुसी छन् । अवसरको खोजीमा राजधानीलाई कर्मथलो बनाएका उनले विभिन्न अवसरलाई छोड्दै शिक्षण पेशामा नै आफ्नो भविष्यको रेखा कोर्न सफल भए । आफू वर्षौंदेखि निरन्तर यही क्षेत्रमा लागिपर्नु र जुनसुकै अवस्थामा पनि धैर्य गर्नुको उपज नै आज आफ्नो विद्यालय स्थापित हुन पुगेको उनको बुझाई छ ।
सरकारी जागिरतिर मोह नभएरै शिक्षण पेशामा होमिएका उनले शिक्षण पेशामै रमाएर सरकारी जागिरको लागि कहिल्यै फाराम भरेनन् । पञ्चायती व्यवस्था छँदै शिक्षण पेशा सुरु गरेका उनले शिक्षण पेशामै आफ्नो भविष्यको रूपरेखा कोर्न सफल भए । उनी शिक्षक, निजी विद्यालय सञ्चालक, प्रधानाध्यापक हुँदै निजी विद्यालयको छाता संगठन प्याब्सनको उपाध्यक्षसमेत भइसकेका छन् । उनी सरकारले शिक्षालाई गुणस्तरीय बनाउँदै विद्यार्थीलाई पहिले देश अनि विदेशमा पढ्न जाने वातावरण बनाउनुपर्नेमा जोड दिन्छन् । शिक्षा आर्जन गरिसकेपछि स्वदेशमै सेवा गर्नुपर्छ भन्ने उनको बुझाई छ ।
प्रस्तुत छ उनै असल, सफल र शालीन व्यक्तित्व एवं मुनलाइट सेकेन्डरी स्कूल कुमारीपाटी ललितपुरका प्रिन्सिपल ईश्वरबहादुर गुरुङसँग ईडियू सवालले गरेको कुराकानीको मुख्य अंश–
जन्म
विक्रम सम्वत् २०१९ भाद्र १२ गते स्याङ्जा जिल्लाको दरौ गाउँ पञ्चायत वडा नं ९ मा बुवा पूर्णबहादुर गुरुङ र आमा राजकुमारी गुरुङको कोखबाट उनको जन्म भएको हो ।
शिक्षा
प्राथमिक शिक्षा : उनको बाल्यकाल स्याङ्जा जिल्लाको दरौ भन्ने ठाउँमा बित्यो । घरनजिकैको स्कूलबाट अध्ययन सुरु गरेका उनी पढ्न र लेख्न अब्बल थिए । उनको गाउँमा २००९ मा स्कूल स्थापना भएकाले पनि पढ्नुपर्छ भन्ने चेतनाको विकास भएको र आफू शिक्षित वातावरणमा हुर्किन पाएकोमा उनले खुसी व्यक्त गरे । उनले त्यो समयमा पनि डेक्स र बेन्चमा बसेर पढ्ने अवसर पाए । तत्कालीन दरौ निम्नमाध्यमिक विद्यालयमा उनले ७ कक्षासम्मको अध्ययन गरे र पछि छिमेकी गाउँ सिरुवारीमा त्रिशहिद उच्च माध्यमिक विद्यालयमा १० कक्षासम्म पढे ।
माध्यमिक शिक्षा : उनले आफ्नै गाउँबाट सात कक्षा पास गरेपछि ८ कक्षा पढ्न आफ्नो घरबाट २ घण्टाजति हिँड्नुपर्ने भएकाले आफ्नै काका पूर्व माननीय हरिप्रसाद गुरुङको घरमा बसेर पञ्चलमूल गाउँस्थित त्रिशहिद माध्यमिक विद्यालयमा पढे र त्यही विद्यालयबाट २०३६ मा प्रथम श्रेणीमा एसएलसी पास गरे ।
विश्वविद्यालयस्तरीय शिक्षा : उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट २०३८ मा आईएससी पास गरे । घरायसी समस्याका कारण विज्ञान संकाय छोडेर काठमाडौँको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसबाट बीबीएस पास गरे । यसपछि नेपाल कमर्स क्याम्पस, मीनभवन, काठमाडौँबाट एमबीएस पास गरे ।
शिक्षण पेशामा प्रवेश : एसएलसी दिएपछिको खाली समयमा स्थानीय प्राथमिक विद्यालयबाट शिक्षण पेशामा प्रवेश गरेका उनले राजधानी आएपछि पूर्व मन्त्री तोरणबहादुर गुरुङको सहयोगमा निजी माध्यमिक विद्यालयबाट अध्यापन सुरु गरे ।
शिक्षाक्षेत्रमा ३५ वर्ष
उनले आईएससी पास गरेर राजधानी आएपछि बीबीएस पढ्दै गर्दा २०३९ देखि २०४१ सम्म ललितपुर कुपण्डोलस्थीत माउन्ट भ्याली स्कूलमा निम्नमाध्यमिक तहमा अध्यापन गरे ।
उनले २०४७ मा मुनलाइट माध्यमिक विद्यालयको स्थापना गरे र सरकारले त्यो वर्ष ६ कक्षाको स्वीकृति पाउँदा नै माध्यमिक विद्यालय हुने व्यवस्था गरेको थियो । फलस्वरूप माध्यमिक विद्यालय भयो । अहिले विद्यालय २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको छ । मुनलाइट मा.वि.का विद्यार्थीले २०५२ बाट एसएलसी दिएर २०७२ सम्म २१ औँ ब्याजले एसएलसी दिइसकेका छन् ।
उनले शिक्षाक्षेत्रका अनुभवी व्यक्तिको एकेडेमिक समूह निर्माण गरी २०६४ सालमा विद्यालयस्तरीय शिक्षालाई विस्तार गर्न मुनलाइट उच्च माध्यमिक विद्यालयको रूपमा विकास गरे ।
ललितपुर जिल्लामा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापना गर्न यही समूहले नेशफिल्ड एजुकेशन फाउन्डेशन अन्तर्गत नेशफिल्ड इन्टरनेशनल कलेजको स्थापनासमेत गरेको छ ।
शिक्षाक्षेत्रमा अनुभव
शिक्षाक्षेत्रमा ३१ वर्षसम्म लागिरहँदा समयअनुसारको शिक्षा दिनुपर्ने, अहिलेका विद्यार्थीको मनोभावनालाई बुझेर पुरातनवादी ढङ्गबाट नभई समयसापेक्ष रूपमा अघि बढ्न सकेमात्र दिइएको शिक्षा प्रभावकारी हुने उनको बुझाइ छ । उनी भन्छन्– “सूचना र प्रविधिको प्रयोग गरी शिक्षा दिनु आजको आवश्यकता हो ।”
प्याब्सनको स्थापना र प्रवेश
२०४७ को प्रजातन्त्रपश्चात नेपालमा थुप्रै निजी विद्यालय खुल्ने क्रम चल्यो । सोही समयमा यिनै निजी विद्यालयको आवाज राज्यका विभिन्न निकायसम्म पुर्याउन प्याब्सनको स्थापना हुन पुग्यो । उनी प्याब्सनको ललितपुर जिल्ला सदस्य, जिल्ला अध्यक्ष हुँदै वर्तमान प्याब्सन केन्द्रीय समितिको कोषाध्यक्ष हुँदै अहिले उपाध्यक्ष छन्। उनी भन्छन्– “राज्यलाई निजी विद्यालयले पुर्याएको योगदानको कदर सरकारले गर्न सकेको छैन ।” यसरी निजी विद्यालयको स्थापनाले माध्यमिक तहसम्मको शिक्षा लिनका लागि छिमेकी देशमा अध्ययन गर्न जानुपर्ने समस्या न्यून गर्न प्याब्सन सफल भयो ।
जीवन संघर्ष
सबै मानिसले आफ्नो जीवनकालमा विभिन्न किसिमको उतारचढावको सामना गरेका हुन्छन् । यस्तै उतारचढाव गुरुङको जीवनमा पनि आइप¥यो । एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि स्वास्थ्य क्षेत्रमा लाग्ने उद्देश्यका साथ महाराजगन्जस्थित टिचिङ अस्पतालमा हेल्थ एसिस्टेन्टको कोटामा नाम निस्किएपछि उनी पृथ्वीनारायण क्याम्पसमा भर्ना भए र आईएससी पास गरे ।
त्यही समयमा अध्ययन गर्ने क्रममै उनले २०३८ सालमा बुबाको साथ गुमाउनुपर्यो । त्यसपछि अध्ययनका लागि नै आर्थिक समस्या हुने भएपछि उनले विज्ञान विषयलाई आफ्नो भविष्य बनाएनन् र व्यवस्थापन संकायतर्फ मोडिन पुगे । २०३८ सालमा राजधानी प्रवेश गर्दा सही ढङ्गको शिक्षा र फराकिलो दायराभित्र अध्ययन गरी अवसरको खोजीमा काठमाडौँ प्रवेश गरेका उनी काठमाडौं आएर आफ्ना दाइहरुसँग टेकूछेउको लगनमा भाडाको कोठामा बसे ।
उनलाई महेन्द्रमान गुरुङले बस्न र पढ्नलाई सहयोग गरे भने तत्कालीन समयमा आफन्तले नै माउन्ट भ्याली स्कूलमा शिक्षक चाहिएको भनेपछि उनी शिक्षण पेशामा जोडिएका हुन् । उनी भन्छन्– “त्यही स्कूलबाटै मैले घेरै कुरा सिकेर अनुभव बटुल्दै २०४७ सालमा मुनलाइट स्कूल स्थापना गरेको हुँ ।”
मानिस आफ्नो विवेकले कर्मनिष्ठ भई सामाजिक प्राणीको रूपमा व्यवहार गर्दै अघि बढ्न सक्नुपर्छ । अहिले राज्यले दक्ष जनशक्ति बाहिर जानेक्रमलाई रोक्न सकेको छैन । यसलाई न्यून गर्न कुनै ठोस योजना र पहलकदमी आवश्यक छ ।
परिवार
गुरुङले २०४६ सालमा सेती अञ्चलाधीश भीमबहादुर गुरुङकी कान्छी सुपुत्री शर्मिला गुरुङसँग मागी विवाह गरे । गुरुङ दम्पतिका दुई छोरा छन् । उनी आमा, श्रीमती र छोराहरुसँग बानेश्वरको आफ्नै निजी निवासमा बस्दै आएका छन् । उनले पारिवारिक सहयोग र समर्थनबाटै आज आफू यो स्थितिमा आइपुग्न सकेकोमा खुसी व्यक्त गरे ।
राजनीतिक आस्था
उनका आफन्त तत्कालीन पञ्चायती व्यवस्थासित नजिक भए पनि विद्यार्थी अवस्थामा नै उनी नेकपा माले निकट अखिलको स्कूल एकाइको सचिव बन्न पुगे । राजनीतिक रूपमा त्यति सक्रिय नभए पनि आफू कम्युनिष्ट विचारधारासँग आबद्ध हुन पुगे । उनी व्यावहारिक कुराले गर्दा राजनीतिसँग नजोडिए पनि प्याब्सनभित्रको चुनावी माहोलमा कम्युनिष्ट साथीहरुको प्यानलबाटै आएका हुुन् ।
कार्यक्षेत्र ललितपुर
उनी काठमाडौँमा बस्ने र त्यहीं पढ्ने भए पनि उनले कार्यक्षेत्र ललितपुरलाई रोजे । उनले सुरुका दिनमा अध्यापन गरेको स्कूल माउन्ट भ्याली ललितपुरमा भएको र यहाँकै साथीहरुसँग बढी नजिक भएकाले पनि यो क्षेत्र संयोगको रूपमा कार्यक्षेत्र बन्न पुग्यो ।
अन्त्यमा
उनको बुझाइमा जीवन संघर्ष नै संघर्षको उतारचढाव हो । कुनै पनि काममा निरन्तर रूपमा लागेमा मात्र आफ्नो उद्देश्यअनुरूप गन्तव्यमा पुग्न सकिन्छ । मानिस आफ्नो विवेकले कर्मनिष्ठ भई सामाजिक प्राणीको रूपमा व्यवहार गर्दै अघि बढ्न सक्नुपर्छ । अहिले राज्यले दक्ष जनशक्ति बाहिर जानेक्रमलाई रोक्न सकेको छैन । यसलाई न्यून गर्न कुनै ठोस योजना र पहलकदमी आवश्यक छ । आफ्नो जीवनकालको अन्तिम समयसम्म यही क्षेत्रमै समर्पित हुने र यसमा देखिएका समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने उनको योजना छ ।