काठमाडाैँ- पछिल्लाे समय नेपाली विद्यार्थीकाे शैक्षिक गन्तव्य परिवर्तन भइरहेकाे अवस्था छ। सरकारले विदेश अध्ययनमा जाने विद्यार्थीकाे हकमा आवश्यक नीति अवलम्बन गर्न नसक्दा शैक्षिक परामर्श क्षेत्रले विभिन्न चुनाैतीकाे सामना गर्नुपरेकाे छ।
दक्षिण काेरिया पनि नेपाली विद्यार्थी माझ शैक्षिक गन्तव्यकाे रुपमा स्थापित भइसकेकाे छ। यसै सन्दर्भमा, शैक्षिक पूर्वाधार, नीतिगत व्यवस्था, दक्षिण काेरियाकाे भिसा आवेदन प्रक्रिया, अध्ययन पश्चातका अवसर लगायत दक्षिण काेरिया अध्ययनका विविध विषयमा काेरिया शैक्षिक परामर्श संघ, नेपाल (केइक्यान) का अध्यक्ष गणेश शर्मासँग गरिएकाे कुराकानीकाे सम्पादित अंश।
दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो ?
छात्रवृत्ति कोटामा उच्च शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीका लागि कोरिया उपयुक्त शैक्षिक गन्तव्य हो। केहि वर्ष पहिले सरकारको छात्रवृत्ति कोटामा नै निजामति कर्मचारीहरू उच्च शिक्षा अध्ययनका लागि कोरिया जाने गरेका थिए। त्यहाँबाट शिक्षा आर्जन गरेर नेपाल फर्केर आफ्नो दक्षता प्रस्तुत गरेका छन्।
विद्यार्थीले दक्षिण कोरियामा विश्वकै उत्कृष्ट विश्वविद्यालयमा गुणस्तरीय शिक्षा लिने अवसर प्राप्त गर्छन्। पहिले कोरियन भाषामा उच्च शिक्षा अध्ययन गर्नुपर्ने थियो तर अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले अंग्रेजी भाषामा अध्ययन गर्न पाउँछन्। कोरियाका विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरू पनि अन्तर्राष्ट्रिय एक्सपोजर पाएका अनुभवि र दक्ष हुने भएकाले शिक्षाको गुणस्तर उत्कृष्ट छ।
कोरिया अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्नुको कारण के देख्नुहुन्छ?
अंग्रेजी भाषामा पढाइ हुने अन्य मुलुलको तुलनामा कोरियामा शिक्षण शुल्क कम छ। दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले समयमै भाषा तयारी गरेर जाने हो भने विद्यार्थीले पढ्दै कमाउँदै पनि गर्न सक्छन्। सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्ने सवालमा कोरिया प्रति नेपाली विद्यार्थी आकर्षित भएका छन्। विद्यार्थीलाई लिभिङ कस्ट पनि कम छ।
विद्यार्थीले अध्ययन पश्चात रोजागारीको अवसर पनि प्राप्त गरेका छन्। विद्यार्थीको आफ्नो दक्षता, सिप र भाषागत ज्ञानको आधारमा कस्तो काम पाउने भन्ने हुन्छ। नेपालबाटै गएर कोरियामा बसोबास गरेर व्यवसाय सञ्चालन गरेका व्यक्तीले पनि रोजगारीको अवसर सृजना गरेको अवस्था छ। उनिहरूले विद्यार्थीलाई सल्लाह सुझाब दिने र कामका लागि सहजिकरण गर्ने पनि गरेका छन्। त्यसैले गर्दा पनि पढाइकै क्रममा केहि गर्न सकिन्छ र अध्ययनपश्चात पनि आफ्नो क्षेत्रमा रोजगारीको अवसर प्राप्त गर्ने संभावना रहन्छ। विद्यार्थी आफैले प्रक्रिया पुरा गरेर पनि कोरियामा अध्ययनका लागि गएको अवस्था छ। परामर्श व्यवसायीले अभिभावकको अपेक्षा, आर्थिक अवस्था लगायतका विषय बुझेर विद्यार्थी पढ्न चाहेको विषय र मुलुकका विश्वविद्यालय वा कलेज छनोट गर्न सहजिकरण गर्छौ।
कोरियामा अध्ययन गर्न जान आवश्यक न्युनतम शैक्षिक योग्यता के – के हुन्?
सामान्यतया कोरियामा अध्ययन गर्न जान विद्यार्थीले कक्षा १२ वा सो सरहमा २.८ जीपीए वा सो भन्दा माथि ल्याइ उत्तिर्ण गरेको हुनुपर्छ। उसले अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस)मा ओभरअल ५.५ स्कोर ल्याएको हुनुपर्छ। तर यो भन्दा बढी स्कोर ल्याउदा भर्ना पाउने संभावना बढ्छ। विद्यार्थीको उमेर स्नातक तह अध्ययन गर्न २२ वर्ष ननाघेको र ३ वर्ष भन्दा बढी इयर ग्याप नभएको हुँदा राम्रो हुन्छ।
यदी ग्याप छ भने पनि प्रमाणीत गर्न सक्ने खालको हुनुपर्छ। शिक्षण शुल्क तिर्न सक्ने र विद्यार्थीको उद्देश्य पढ्न जाने नै भन्ने हुनुपर्छ। विद्यार्थीले आफू अध्ययन गर्न जान चाहानुको उद्देश्य खुल्ने गरि कभर लेटर लेख्नुपर्ने हुन्छ। विद्यार्थीले कोरियन भाषा अध्ययन गरेर जाने हो भने उसलाई आफ्नो दैनिक क्रियाकलापमा सहज हुन्छ।
कोरियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि छात्रवृत्ति र होस्टेलको सुविधा छ कि छैन?
कोरियामा दुई वटा छात्रवृत्तिका स्किम छन्। एउटालाई केजीएसपी भनिन्छ भने अर्कोलाई जिकेएस भनिन्छ। विद्यार्थीले सरकारी छात्रवृत्तिका लागि आफूले आवेदन दिनुपर्ने हुन्छ। विद्यार्थीले विश्वविद्यालयमा पनि आफ्नो अंग्रेजी भाषा परीक्षाको नतिजा र शैक्षिक योग्यताको आधारमा छात्रवृत्ति प्राप्त गरेको अवस्था छ।
विश्वविद्यालयले विद्यार्थीको योग्यता र क्षमतालाई हेरेर छात्रवृत्ति प्रदान गर्दै आएको छ। केहि विश्वविद्यालयमा पहिलो सेमेस्टरमा छात्रवृत्ति पाउने र पहिलो सेमेस्टरको नतिजाको आधारमा अर्कोमा पनि पूर्ण छात्रवृत्ति पाएको अवस्था छ। हरेक सेमेस्टरको जीपीएको आधारमा छात्रवृत्ति पाउने गरेका छन्। विद्यार्थीले छात्रवृत्ति पछिको शुल्क मात्र शिक्षण संस्थालाई बुझाउने हो। विद्यार्थीले विश्वविद्यायमा नै होस्टलको सुविधा प्राप्त गर्छन्।
विद्यार्थीले कमन किचनमा खान मन नपराउने भएकाले आँफै रुम लिएर बस्न पनि सक्छन्। नेपाली विद्यार्थीले प्राय गरेर साथिहरू मिलेर कोठा खोजेर बसेको अवस्था छ। कोठा भाडामा लिन मासिक भाडा डिपोजिट गर्नुपर्ने हुन्छ। कोठा खोज्न र पहिलो महिनाको घरभाडा बापत नेपाली २ लाख बराबर जोहो गर्नुपर्ने हुन्छ।
नेपाली विद्यार्थी कस्ता विषय अध्ययन गर्न कोरिया जाने गरेका छन्?
कोरियामा एप्लाइड साइन्सका विषय अध्ययन गर्न कोरियन भाषामा दक्ष हुनुपर्छ। अनुसन्धानमुलक विषय अध्ययन गर्न कोरियन भाषामा नै अध्यापन हुने भएकाले कोरियन भषामा टपिक लेबल ४ उत्तिर्ण गरेको हुनुपर्छ। कोरियामा सबै विषय अंग्रेजी भाषामा अध्यापन हुँदैन। विश्वविद्यालयले विशेष गरेर व्यवस्थापन र सूचना प्रविधि संकाय अन्तर्गतका विषय अंग्रेजी माध्यमबाट अध्यापन हुन्छ। प्राय गरेर नेपाली विद्यार्थी यस्तै विषय अध्ययन गर्न कोरिया गएका हुन्छन्।
कोरियामा अध्ययन पश्चात रोजगारीको संभावना कस्तो छ?
कोरियामा विद्यार्थीले कोरियन भाषा जानेको छ र स्नातक तह उत्तिर्ण गरेको छ भने उसले आफ्नो क्षमता अनुसारको कुनै पनि कम्पनिमा रोजगारीको अवसर प्राप्त गर्छन्। विद्यार्थीले आफ्नो भिसालाई स्किल वर्क भिसामा कन्भर्ट गरेर पनि काम गर्न सक्छन्। कोरियामा नेपालमा कक्षा १२ उत्तीर्ण गरेपछि ४ वर्षीय स्नातक तह र २ देखि ३ वर्षको असोसियट डिग्री पनि लिन पाउँछन्। विद्यार्थीले २ वर्ष पढेपछि स्किल वर्कमा आफ्नो भिसा कन्भर्ट गर्न सक्छन्।
विद्यार्थीले कोरिया अध्ययनमा जानुअघि ध्यान दिनुपर्ने कुराहरू के – के छन्?
विद्यार्थीले कोरिया अध्ययनमा जानुअघि आफूलाई कोरियाको दैनिकीमा कोरियन भाषा नै आवश्यक पर्छ भन्ने बुझ्नुपर्छ। त्यसका लागि भाषागत ज्ञान महत्वपूर्ण हुन्छ। विद्यार्थी भाषागत ज्ञानको अभावमा काम गर्ने क्षमता हुँदाहुदै पनि दुःख पाएको अवस्था छ। समयमै आफ्नो क्षमता अनुसारको काम पाउन कम्तिमा पनि ३ महिना भाषा अध्ययन गरेर जानु उपयुक्त हुन्छ।
विद्यार्थीले नेपाल र कोरियाको संस्कृति फरक हुने भएकाले पनि संस्कृतिको बारेमा बुझेर जानु उपयुक्त हुन्छ। यसका साथै विद्यार्थीले पर्सनल हाइजिन पनि मेन्टेन गर्नुपर्छ। विद्यार्थीले लहलहैमा विषय र विश्वविद्यालय छनोट गर्ने भन्दा पनि आफ्नो अवश्यकतालाई मध्यनजर गर्दै सम्पूर्ण कुरा बुझेर मात्र जानु उपयुक्त हुन्छ।
कोरिया अध्ययनका लागि जान आवश्यक पर्ने कागजातहरू के – के हुन्?
विद्यार्थी कोरिया जानु अघि कागजपत्र बनाउँदा ध्यान दिनुपर्छ। विद्यार्थीले नेपाली नागरिक भएको प्रमाणपत्र, नाताप्रमाणित, अभिभावकको आयस्रोतको कागजपत्र, ‘क’ वर्गको बैंकमा १८ हजार देखि २० हजार अमेरिकी डलर जम्मा भएको कागजात, ६ महिनाको वैंक स्टेटमेन्ट, चलअचल सम्पतिको प्रमाणित कपी, मेडिकल रिपोर्ट, पासपोर्ट, विश्वविद्यालयलाई शुल्क तिरेको रसिद, नो अब्जेक्सन लेटर, विश्वविद्यालयको विजनेश रजिस्ट्रेसन, सर्टिफिकेट अफ एडमिसन, अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र लगायतका कागजात आवश्यक पर्छ।
कोरिया अध्ययनमा जाँदा कति खर्च हुन्छ ?
कोरिया अध्ययनमा जाँदा विद्यार्थीले प्राप्त गरेको छात्रवृत्तिमा नै उसको खर्च निर्धारण हुन्छ। शिक्षण शुल्कका अलावा विद्यार्थीले कोठाभाडा, सपिङ, जादाँ लाने रकम, हवार्ई टिकट गरेर सतप्रतिशत छात्रवृत्ति पाएको अवस्थामा ४ देखि ५ लाख खर्च हुन्छ।
शिक्षण शुल्क तिरेर जानेको हकमा सरदर १.५ लाख देखि १० लाखसम्म खर्च हुन्छ। विद्यार्थी ५ लाखदेखि १० लाखसम्म खर्च गरेर कोरिया अध्ययनका लागि गएको अवस्था छ। विद्यार्थीले जाने वेलामा एउटा सेमेस्टरको शुल्क तिरेर गएका हुन्छन्। केही विद्यार्थीले नेपालबाट लगेर अरु समेस्टरको शुल्क तिरेका छन् भने अधिकांश विद्यार्थीले पार्टटाइम काम गरेरै शिक्षण शुल्कको जोहो गरेको अवस्था पनि छ। विदाको समयमा काम गरेर पनि शिक्षण शुल्क जम्मा गर्न सक्ने अवस्था रहन्छ।
केइक्यानले कोरियाको अध्ययनलाई मध्यनजर गर्दै के कस्तो कदम चाल्दै आएको छ ?
कोरिया शैक्षिक परामर्श संघले कोरिया अध्ययनमा जान चाहने विद्यार्थीलाई असहज परिस्थितिमा सहजीकरण गर्ने, परामर्श व्यवसायी र शिक्षकलाई कोरिया अध्ययनका विषयमा तालिम प्रदान गर्ने, कोरिया गएका विद्यार्थीलाई पनि सहजीकरण गर्ने गरेको छ। कोरिया अध्ययनका विषयमा केइक्यानका सदस्यसँग परामर्श लिएर जाँदा समस्या भोग्नुपर्दैन।
अन्त्यमा, विद्यार्थी र अभिभावकलाई के भन्नुहुन्छ?
विदेशमा कम शुल्क तिरेर अन्तर्राष्ट्रिय स्तरको डिग्री लिन चाहानेका लागि कोरिया उपयुक्त शैक्षिक गन्तव्य हो। विद्यार्थी र अभिभावकले अनुभवि र दक्ष परामर्शदातृकोमा गएर जानकारी लिनु उपयुक्त हुन्छ। कोरिया गएका विद्यार्थी अध्ययन पश्चात नेपालमा फर्केर आएको अवस्था छ। एसडि मिराकलले विद्यार्थीको रुचि र अभिभावकको क्षमतालाई मध्यनजर गरेर परामर्श प्रदान गर्दै आएको छ।