हेटौँडा- पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।
उनले पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा दिएका हुन्। उमेरले ५० वर्ष पूरा भएका खनालले हेटौँडा–११ स्थित निर्मल बहुमुखी क्याम्पस बस्तीपुरबाट परीक्षा दिएका हुन्। उनले विद्यालय पोसाक लगाएर आज बिहानै परीक्षाका लागि परीक्षा केन्द्रमा पुगेका थिए।
उनले अब पढाइलाई निरन्तरता दिने बताए। उनले भने, ‘मेरो दुई छोरा, श्रीमती र आमाको साथमा बस्छु, परिवारको साथ सहयोगले नै मैले पढाइतर्फ लागेको हुँ।’ उनको जेठो छोरा सिभिल इञ्जिनीयर छन् र कान्छो छोरा विएस्सी सकेर बसेका छन्।
वडाध्यक्ष खनाल बाल जीवन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्। उनले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गरेका थिए।
विसं २०५६ मा प्रवेशिका परीक्षा पास गरेका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बीचमै छाडेका थिए।
उनले भने, ‘विसं २०७८ सालमा कक्षा ११ भर्ना भएँ, ११ पास पनि गरेँ, राम्रोसँग पढेर १२ पास पनि गर्छु।’ दोस्रो पटक पनि वडाध्यक्षमा निर्वाचित खनाल नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन्।
राजनीतिकसँगै सामाजिक कार्यमा क्रियाशील रहेका खनाल मनहरीमा लोकप्रिय नेता हुन्।