काठमाडाैँ- नेपाली विद्यार्थीका लागि जापान दोस्रो ठूलो शैक्षिक गन्तव्य हो। गत वर्ष जापानमा अध्ययन गर्न जान नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २१ हजार ६ सय ९१ जना विद्यार्थीले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए। हाल जापानमा रहेका विदेशी विद्यार्थीहरूमा नेपाली तेस्रो नम्बरमा रहेका छन्। उनीहरू १ लाख ५६ हजारको हराहारीमा जापानमा बसोवास गरिरहेको जापानीज राजदुताबासको तथ्याङ्क छ।
जापान नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य हो। जापानमा अध्ययन गरेर आफ्नो उज्जवल भविष्य बनाउने योजनासहित विद्यार्थी त्यहाँ गएका हुन्छन्। जापानमा ‘पढ्दै कमाउँदै’ गर्न सकिने भएकाले पनि नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको जानकारहरू बताउछन्।
जापानीज भाषा स्कुल संघ, नेपालका अध्यक्ष रमेश देवकोटाले विद्यार्थी सुरक्षित भविष्यको खोजीमा जापान गएको बताए। उनका अनुसार जापानमा विद्यार्थीले भाषा पढ्दै गर्दा त्यहाँको नीति नियम भित्र रहेर काम गर्न पाउछन्। भाषा अध्ययन पश्चात विद्यार्थीलाई अन्य अवसरको ढोका खुल्छ। जापान सुरक्षित मुलुक हुनुका साथै विद्यार्थीलाई दैनिक जिवनमा पनि कम समस्या आइपर्ने भएकाले नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य बन्न पुगेको हो। विशेष गरेर मध्यमवर्गिय परिवारका विद्यार्थीको रोजाइमा जापान पर्ने गरेको छ।
अध्यक्ष देवकोटाका अनुसार विद्यार्थीले जापानमा अध्ययनकै क्रममा हप्ताको २८ घण्टा काम गर्न पाउछन्। स्कुल बिदाको समयमा पनि काम पाउने भएकाले शिक्षण शुल्क तिर्न विद्यार्थीलाई त्यति समस्या हुँदैन। स्कुल बिदाको समयमा हप्ताको ४० घण्टासम्म काम गर्न पाउछन्। जापानमा विद्यार्थीलाई स्कुल परिवर्तन गर्ने सुविधा पनि छ। विद्यार्थीले एक वर्षपछि स्कुल र ठाउँ परिवर्तन गर्न सक्छन्।
जापानीज भाषा स्कुलको शुल्क ७ देखि ९ लाख सम्म हुने र विद्यार्थीले एक वर्षको शिक्षण शुल्क तिरेर मात्र जापान जान उपयुक्त हुने सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान) का अध्यक्ष किशोर तिवारीले बताए। उनका अनुसार विद्यार्थीले आफ्नो शिक्षण शुल्क, बसोबासको खर्चको बारेमा बुझेर मात्र जापान अध्ययनमा जानु उपयुक्त हुन्छ। उनले भने,‘पार्ट टाइम कामबाट कुन–कुन आवश्यकता पूरा हुँन्छन्, कुन हुँदैनन् भन्ने विषयमा विद्यार्थीले ध्यान दिनुपर्छ। खर्च व्यवस्थापन गर्न सक्छु भनेर जानुपर्छ। जापानमा काम गर्दै शिक्षण शुल्क तिर्न सहज हुन्छ भन्ने सोच्नु हुँदैन।’ उनले सबै प्रक्रिया बुझेर मात्र विद्यार्थीलाई जापान अध्ययनमा जान सुझाब दिए।
शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)का महासचिव एंव डिडास योकोसो एजुकेसनल कन्सलटेन्सिका प्रवन्ध निर्देशक अनिल शर्मा पौड्यालका अनुसार जापान नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य हुनुको कारण यो एसियन मुलुक हुनुका साथै सामाजीक, साँस्कृतिक रुपमा पनि नेपाली विद्यार्थीका लागि सहज छ।
‘जापानमा विद्यार्र्थीले अध्ययनसँगै रोजगारीको अवसरहरू पनि पाएका छन्। शैक्षिक गुणस्तरका हिसावले पनि दुईवर्ष जापानीज भाषा अध्ययन गरे पश्चात उनीहरूले विश्वविद्यालयमा भर्ना भएर थप उच्च शिक्षा हासिल गर्न सक्छन्। उनीहरूले सम्बन्धित विषयमा जागिर पनि पाएका छन्। जापानको शिक्षा प्रविधिमैत्री हुनुका साथै नवप्रवर्तनसँग जोडिएको छ’,उनले भने।
जापानले भाषा स्कुललाई इमिग्रेसन अन्तर्गत नराखेर शिक्षा मन्त्रालय अन्तर्गत राख्ने पक्रिया सुरु गरिसकेको जापानीज स्कुलले जनाएका छन्। जापानमा स्कुललाई वर्गिकरण गरिएको हुनाले जुन वर्गको स्कुलमा जाने हो सोहि अनुसारको कागजपत्रको मापदण्ड तय गरिएको हुन्छ।
जापानमा नेपाली स्थायी बसोबास र परिवारसँगै बसेर व्यापार व्यवसायमा पनि संलग्न भएको पाइन्छ। जापान जाँदा भाषागत दक्षता हासिल गरेर जानु उपयुक्त हुने सरोकारवालाको बुझाइ रहेको छ। जापानीजहरूले अन्य भाषालाई कम मान्यता दिएका कारण विश्वविद्यालयमा भर्ना पाउनकै लागि भाषागत योग्यता पनि तोकेका हुँन्छन्। जापानीज भाषाको टेस्ट (एनटु लेभल) उत्तीर्ण गरेकाले मात्र विश्वविद्यालयमा भर्ना पाएको अवस्था छ। विदेशी विद्यार्थीले भाषागत दक्षता हासिल नगरेसम्म राम्रो कलेज र काम पाउन सक्दैनन्।
जापानमा नेपाली समुदाय बढ्दै गएकाले दैनिकीमा भने अहिले केही सहज हुँदै गएको जानकारहरू बताउछन्। नेपाली विद्यार्थीले जापानलाई नै आफ्नो शैक्षिक गन्तव्य बनाउन सक्छन् जसका लागि जापानमा भएको गुणस्तरीय सेवा सुविधा नै महत्वपूर्ण हो। त्यहाँको प्राविधिक शिक्षा विश्वमै उत्कृष्ट हुनुका साथै अध्ययन पश्चात अवसरहरूका लागि सहजता हुन्छ। अध्ययन पश्चात त्यहाँका कम्पनिबाट ग्राजुएसन अघि नै जब सेटलमेन्टको अवसर प्राप्त हुन्छ।
लागत खर्च
विद्यार्थी भाषा तयारी कक्षामा सहभागि हुनेदेखि जापान अप्लाई गर्दासम्म विभिन्न शिर्षकमा खर्च हुन्छ। जापान जानुपूर्व भाषागत दक्षता हासिल गरेरमात्र जानुपर्ने भएकाले भाषा पढ्न र त्यसको परीक्षा दिन शुल्क तिनुपर्ने हुन्छ। परीक्षा अनुसारका शुल्क फरक–फरक छन्। सम्बन्धित अध्यागमन विभागबाट सिओई आएपछि विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने हुन्छ। यसका लागि नेपाल सरकारलाई राजस्व बुझाउनुपर्छ। त्यसपछि विद्यार्थीले सम्बन्धित स्कुलमा ७ देखि ९ लाख वार्र्षिक शिक्षण शुल्क तिरेर भिसाका लागि आवेदन दिन सक्छन्। जापान अध्ययनमा जान १२ देखि १६ लाख रुपैयाँसम्म खर्च लाग्छ।
भाषागत दक्षता
जापान अन्य मुलुकमा भन्दा भाषागत दक्षता हासिल गरेर जानु उपयुक्त हुन्छ। जापानीजहरूले अन्य भाषालाई कम मान्यता दिएका कारण विश्वविद्यालयमा भर्ना पाउनकै लागि भाषागत योग्यता पनि तोकेका हुँन्छन्। जापान जाने विद्यार्थीले नेपालमा सञ्चालित जेएलपीटी, टप जे, जे टेस्ट, नाट, जे सट, जेएलसीटी, जेपीसी लगायतका जापानीज भाषा परीक्षाको एनफोर लेभल उत्तीर्ण गरेको हुनुपर्छ। जापानमा (एनटु लेभल) उत्तीर्ण गरेकाले मात्र विश्वविद्यालयमा भर्ना पाउँछन्।
विदेशी विद्यार्थीले भाषागत दक्षता हासिल नगरेसम्म काम पाउन पनि गाह्रो हुन्छ। विद्यार्थीले जापनीज भाषाको छोटो अनुच्छेदहरू पढ्नु पर्छ। जसका लागि जापानी भाषाको राम्रो ज्ञान हुनु जरुरी छ। जापानी वर्णमालालाई काना भनिन्छ। विद्यार्थीले हिरागाना, काताकाना, खान्जी मिस्रित वाक्यहरुलाई पढ्न सक्ने हुनुपर्दछ।
रोजगारीको अवसर
नेपालबाट मध्यम वर्गिय परिवारका विद्यार्थी जापानमा अध्ययनका लागि गएका छन्। उनीहरूले अध्ययनकै क्रममा पार्ट टाइम काम गर्नुपर्ने हुन्छ। विद्यार्थीले जापानमा हप्ताको २८ घण्टा काम गर्न पाउछन्। स्कुल बिदाको समयमा पनि काम पाउने भएकाले शिक्षणशुल्क तिर्न विद्यार्थीलाई त्यति समस्या हुँदैन। विद्यार्थीले स्कुल बिदाको समयमा हप्ताको ४० घण्टा काम गर्न पाउँछन्। तर, विद्यार्थीले जापानमा काम गर्नकै लागि गएको हो भन्ने सोच्न नहुने परामर्श व्यवसायीको सुझाब छ।
उनीहरूका अनुसार जापानको नीति नियममा रहेर काम गर्नुपर्छ। विद्यार्थीले जापानमा आफ्नो बायोडेटा दिएर सिप र योग्यता अनुसार काम खोज्न सक्छन्। विद्यार्थीले अध्ययन गर्दै गर्दा डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, फास्टफुड क्याफे, ग्रोसरी, क्लिनिङ आदिमा पार्टटाइम काम गर्ने अवसर पाउछन्। उच्च शिक्षा अध्ययन गरिसकेपछि भने विभिन्न मल्टीस्टार कम्पनीमा काम पाउने सम्भावना रहन्छ।
उच्च शिक्षा विधेयकलाई गुणस्तरीय बनाउन नै मन्त्रालयले सराेकारवालासँग सुझाब मागेकाे हाे: श्रीप्रसाद भट्टराई [अन्तर्वार्ता]
जालसान जापानकाे शिक्षाका बारेमा सरकारसँग छलफल गर्न तयार छ : अध्यक्ष देवकोटा
जापान गएका विद्यार्थीले नेपालबाट पैसा लगेका मात्रै छैनन् पठाएका पनि छन् : अध्यक्ष तिवारी [अन्तर्वार्ता]
जापान नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो : अर्जुन कुमार बस्नेत
सरकारले परामर्श व्यवसायीका मुद्दालाई ऐन मार्फत सम्बोधन गर्नुपर्छ : भवनाथ हुमागाई [अन्तर्वार्ता]
'गलत काम गर्ने परामर्श व्यवसायीलाई फेकनले सचेत मात्र गराउँदैन, सदस्यता नै खारेज गर्छ'
जापानमा अध्ययन, अवसर र चुनौती
‘सरकारले विद्यार्थी जापानमा भाषा पढ्न जाने हो भन्ने कुरा बुझ्नुपर्छ’
जापान नेपालमा सोचे जस्तो सजिलो छैन, पूर्वतयारीका साथ जानुपर्छ : उपाध्यक्ष कंडेल
जापानमा विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ गर्ने अवसर छ
जापानको शिक्षा प्रणालीलाई बुझेर मात्र सरकारले नीति बनाउनुपर्छ
तपाई जापान जादैँ हुनुहुन्छ, यी कुरामा ध्यान दिनुहाेस्
के तपाई अध्ययनकाे लागि जापान जाने साेचमा हुनुहुन्छ ? यी प्रक्रिया पुरा गरेर मात्र जानुहोस्