काठमाडाैँ- किशोर दुलालले आफ्नो श्रव्यदृश्य गीत समर्पण सार्वजनिक गरेका छन्। नयाँ वर्षको अवसर पारेर बैशाख १ गते दुलालले आफ्नो गीत समर्पण सार्वजनिक गरेका हुन्।
नेपाली समाजको वास्तविक अवस्थाको चरित्र चित्रण गरिएको गीतमा समाजमा हुँदै आएका घटनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
प्रायः नेपाली समाजमा श्रीमान्को मृत्युपछि महिलाले जीवनभर विधवा रहेर दिवंगत श्रीमान्का परिवारको हेरचाह गर्दै वियोगपूर्ण जीवन बिताउने गरेको पाइन्छ।
त्यसको ठीक विपरीत श्रीमतीको मृत्यु भएमा श्रीमान्ले वर्ष दिन पनि नबित्दै अर्की भित्र्याउने र विगत बिर्सेर नयाँ जीवनमा रमाउने गरेको पाइन्छ।
झापा गौरादहका कलाकार दुलालको यो गीतमा भने एक पुरुष श्रीमतीको मृत्युपछि तिनै दिवंगत जीवन संगिनीको सम्झनामा विछोडको पीडामा तड्पिदै रुँदै गरेको अवस्थालाई चरित्र चित्रण गरिएको छ।
गौरादह नगरपालिका ३ का स्थानीय दुलाल काठमाडौँ बानेश्वरस्थित युनिक एजुकेसन कर्नरका निर्देशन हुन्। प्रविन थापाद्वारा निर्देशित उक्त गीतमा कलाकारहरू अनु साह, किशोर दुलाल, रोशन भुसाल, नवराज भट्टराई लगायतले जीवन्त अभिनय गरेका छन्।
पवन रानाभाटको संयोजन तथा रेकर्डमा उक्त गीत धादिङ जिल्लाको धुनिवेशी नगरपालिकास्थित धुलिखेल अस्पतालको धुनिवेशी शाखा परिसर लगायतका स्थानमा छायाँकन गरिएको छ।साथै फाइन ट्युनले उक्त गीत बजारमा ल्याएको छ।