काठमाडाैँ- जापान नेपाली मध्यम वर्गिय परिवारको रोजाइको गन्तव्य हो। नेपालमा रोजगारीको अवसर नभएपछि विद्यार्थी विदेशियका छन्। विदेश जाने विद्यार्थीका लागि पढाइसँगै प्रयोगात्मक शिक्षा र पढ्दै काम गर्ने अवसर भएकाले पनि नेपाली विद्यार्थी त्यस तर्फ गएका छन्।
जापानको ट्युसन फी पनि त्यति महंगो छैन। तर विद्यार्थी जापानको भाषा, संस्कृति बुझेर मात्र जानु पर्छ। विद्यार्थीले त्यहाँको समाज र शैक्षिक प्रणालीलाई बुझेर जाने हो भने उनीहरूले जापानमा दुःख पाउँदैनन्।
जापान अध्ययनमा जाने विद्यार्थीले भाषागत तयारीसँगै समाजमा घुलमिल हुन सक्ने भएर जानुपर्छ। जापानमा समयको महत्व हुन्छ। उनीहरूले पार्टटाइम जबमा पनि समयमा नै पुग्नुपर्छ। विद्यार्थी स्कुल जाँदा पनि समयलाई ध्यान दिनुपर्छ। विद्यार्थी भारी बोक्ने सोचमा जापान जानु हुँदैन। विद्यार्थी आफू जाँदै गर्दा बुझेर जानुपर्छ। जापान जाने विषयलाई हल्का रुपमा लिनुहुँदैन।
पढ्ने उद्देश्य बोकेर जापान गएका विद्यार्थीलाई कुनै पनि समस्या हुँदैन। तर नेपाली विद्यार्थी पढ्ने भन्दा पनि रोजगारका लागि गएको अवस्था छ। जापानमा अध्ययन पश्चात अवसरहरू छन्। नेपाली विद्यार्थी अनुशासित हुनुका साथै भाषा पनि चाडै सिक्ने भएकाले जापानीजले नेपाली विद्यार्थीलाई रुचाएको अवस्था छ।
अध्ययन पश्चात अवसरको खोजीमा विद्यार्थी जापान गएका हुन्। सरकारले नीति बनाउँदै गर्दा जापानको शिक्षा प्रणालीलाई बुझेर नीति अख्तियार गर्नुपर्छ। सरकारले नेपाली विद्यार्थी भाषा पढ्न जाने हो भन्ने कुरा बुझ्नुपर्छ।
जापानका स्कुलले ६ महिनाको सिओई दिएपनि त्यसको अवधि बढाउँदै लान्छन्। यसलाई समस्याको रुपमा लिनुहुँदैन। सरकारले जापानीज भाषा अध्ययन गराउने र शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीलाई धरौटीको व्यवस्था गर्नुहुँदैन। व्यवसायीले विद्यार्थीसँग शुल्क लिने होइन। त्यसैले यस व्यवसायमा धरौटी आवश्यक हुँदैन।
जापान अध्ययनमा जाने विद्यार्थीको समस्या संयुक्त रुपमा समाधान गर्ने उद्देश्यले जापानीज भाषा अध्ययन गराउने स्कुलहरूको एसोसियसन जालसानको स्थापना गरेका हौँ। जालसानले जापानीज स्कुल, विद्यार्थी र अभिभावकको बीचमा इन्फरमेसन सेयर गरेको छ। परामर्श व्यवसायीले गलत परामर्श दिएमा जालसानले सचेत पनि गराउने गरेको छ।
जापान जाने विद्यार्थीले नक्कली कागजात बनाउनु पर्दैन। जापानको सम्बन्धित निकायले कुनै पनि गलत कुरा थाहाँ पाएमा हाम्रो इमेज राम्रो ह्ुँदैन। कसैले गलत गरेको छ भने कारवाहीको भागिदार हुनुपर्छ।
जापान अध्ययनमा जाने विद्यार्थीको उद्देश्य स्पष्ट हुनुपर्छ। ऋभिभावक र विद्यार्थीले जापान अध्ययनमा जानुपूर्व गर्नुपर्ने तयारी, स्कील डेभलपमेन्टको विषयमा जानकारी लिनुपर्छ। अभिभावकले पनि विद्यार्थी भाषा र भोकेसनल कोर्स अध्ययन गरेपछि मात्र पूर्ण रुपमा काम गर्न पाउने भएकाले जाने वित्तिकै पैसा कमाएर पठाउँछ भन्ने सोच्नुहुँदैन।
विद्यार्थी भन्दा भन्दै पनि नेपालमा पूर्वतयारी नगरी जाने गरेका कारण दुःख पाउँछन्। विद्यार्थीलाई भाषा स्कुलमा छात्रवृत्तिको व्यवस्था हुँदैन। तर पछि अन्य विषय केयर गिभर, इन्जिनियरिङ गर्दा छात्रवृत्ति पाउन सक्छन्। विद्यार्थीलाई जापानमा विश्वविद्यालय शिक्षामा छात्रवृत्तिको अवसर हुन्छ।
बज्राचार्य जापानीज भाषा स्कुल संघ (जालसान)का संस्थापक अध्यक्ष एंव सगरमाथा जापानीज ल्याङ्वेज इन्सटिच्युटका प्रिन्सिपल हुन्।