काठमाडाैँ- विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित भएका छन्। युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उनलाई सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उपाध्यायलाई सम्मान गरेका थिए। सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी, रुद्राक्ष/फूलको माला र टीका तथा फूल वर्षासहित सम्मान गरिएको थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष कवि राजेन्द्र श्रेष्ठलाई स्वागत सम्मान गरिएको कार्यक्रममा विशेष अतिथिहरू गीतकार संघका अध्यक्ष वसन्त बित्यासी, समालोचकहरू प्रमोद प्रधान र प्राडा गोविन्दमान सिंह कार्की, साहित्यकारहरू खेमनाथ दाहाल, र लेखनाथ पोखरेलको उपस्थिति थियो।
कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, रमेश दाहाल, सुधा शर्मा, रुद्र अधिकारी, नीता श्रेष्ठ, कल्पना खरेल, सुरेन्द्र थापा, गीता अधिकारी, गायक संगीतकार सागर अधिकारी ‘शरद’,लगायतको उपस्थिति थियो।
डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन्। यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन्। दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन्।