काठमाडाैँ- जापान नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य हो। जापानमा अध्ययन गरेर आफ्नो उज्जवल भविष्य बनाउने योजनासहित विद्यार्थी त्यहाँ जाने गरेका छन्। जापानमा ‘पढ्दै कमाउँदै’ गर्न सकिने भएकाले पनि नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। जापानकाे शिक्षा प्रणाली, जापान अध्ययनका विषयमा विद्यार्थीले ध्यान दिनुपर्ने कुरा, गर्नुपर्ने तयारी लगायतका विषयमा परामर्श व्यवसायीहरूकाे छातासंगठन आइरिनकाे उपाध्यक्ष एवं नेपाल जापान सेवा सेन्टरकी सिइओ रमा कंडेलसँग गरिएकाे कुराकानीकाे मुख्य अंश।
नेपाली विद्यार्थी जापान अध्ययनमा किन जाने?
विदेशमा विद्यार्थी अध्ययन गर्न जाँदा जापान नै जानु पर्छ भन्ने त होइन तर जापान जाने प्रक्रिया सहज भएका कारण विद्यार्थी गएका हुन्। एउटा परिवारको सदस्य, आफन्त, साथीभाई जापान गएको अवस्था छ भने नेपालको संस्कृतिसँग जापानको संस्कृति पनि केहि हदसम्म मिल्ने भएकाले विद्यार्थीले जापानलाई आफ्नो शैक्षिक गन्तव्य बनाएका छन्।
जापान एउटा नेपालको मंगोलियन कम्युनिटिमा बसेको जस्तो छ। जापानीजहरूले नेपालीलाई माया पनि गर्छन्। जापानमा पार्टटाइम जब गरेर पढ्ने सुविधा पनि छ। नेपालको मध्यमवर्गिय परिवारको रोजाइमा जापान परेको देखिन्छ।
जापान जानु अघि विद्यार्थीले ध्यान दिनुपर्ने विषयहरू के – के छन्?
जापान मात्रै होइन जुनसुकै देशमा जान त्यहाँ बोलिने भाषा, संस्कृति, आर्थिक अवस्था, नीति नियम, बाह्य वातावरणको विषयमा जान्न जरुरी छ। विशेष गरी जापानमा भाषा सिकेर जाने हो। भाषागत ज्ञान नहुने हो भने दैनिकी असहज हुन्छ।
भाषा नजान्ने हो भने पैसा भएपनि किनेर खान सकिदैन। विकसित देशमा जाने भएकाले त्यहाँको अवस्था, ठाँउको बारेमा बुझेर जानुपर्छ। त्यहाँको अवस्थितिको बारेमा जानकारी लिएर मात्र जानुपर्छ। जापान सोचेजस्तो सजिलो छैन। जापानीजहरू कामलाई प्राथमिकतामा राख्ने अनुशासित हुन्छन्।
नेपालमा जस्तो जापानमा चर्को स्वरले बोलेको पनि राम्रो मानिदैन। जापान जाने विद्यार्थीले लाउने खाने कुरामा पनि ध्यान दिनुपर्छ। आफूले भाषागत ज्ञानसँगै त्यहाँको वातावरणको बारेमा बुझेर जानु उपयुक्त हुन्छ। त्यहाँको मौसम र खानपिनमा एडजस्ट हुन विद्यार्थी मानसिक रुपमा तयार भएर जानुपर्छ।
विद्यार्थी जापान किन जाने?, भाषा अध्ययन गरेपछि भोकेसनल कलेजमा जाने हो की, युनिभर्सिटिमा जाने हो वा काम गर्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्छ। विद्यार्थीले ६ महिना अघि देखि नै तयारी गरेर बुझेर जानुपर्छ। भाषागत दक्षता भएकालाई अवसर पनि छ। तर विद्यार्थी नबुझेर गएका कारण दुःख पाएका छन्।
नेपाली विद्यार्थीका लागि जापानमा अध्ययन पश्चातका अवसरहरू के – के छन्?
सिप सिकेर गएको खण्डमा उनीहरूलाई फाइदा हुन्छ। उनीहरूले पारिश्रमिक धेरै पाउँछन्। तर, यही सिप सिकेर जानुपर्छ भन्दा पनि भाषागत दक्षता नै महत्वपूर्ण हुन्छ। जापानको भोकेसनल कलेजको एजुकेसन जापानमा काम गर्नका लागि दक्ष जनशक्ती उत्पादनसँग केन्द्रित छ।
विश्वविद्यालयका विद्यार्थीले भन्दा व्यवसायीक शिक्षा आर्जन गरेका व्यक्तीले धेरै आम्दानी गर्न सकेको पनि देखिन्छ तर विश्वविद्यालयको डिग्री विश्वभर मान्यता प्राप्त हुन्छ। आफ्नो रुचिको विषयमा विद्यार्थीले अध्ययन गर्न सक्छन्। आईटी, होटलम्यानेजमेन्ट, विजनेस, अटोमोवाइल क्षेत्रमा काम गर्न सक्छन्।
ठूलो संख्यामा जापान जादैँ गर्दा ब्रेनड्रेन भएको भन्ने सुनिन्छ, अब ब्रेनगेन गर्न के गर्नुपर्छ ?
जापान अध्ययनमा गएका विद्यार्थीलाई नेपाल फर्काउन हिसाबले राज्यले पोलिसी बनायो भने उनीहरू फर्किन पनि सक्छन्। विद्यार्थीले जापानमा आफ्नो करिअर बनाएर नेपाल फर्किन पनि सक्छन्। सरकारले पढ्न जाउ तर पढेर आइसकेपछि तिमीलाई यहाँ अवसर छ भन्ने बनाउनुपर्यो। फर्केर आउने वातावरण बनाउनुपर्छ।
विद्यार्थी नेपाल फर्किएर आएर यहाँ काम गर्ने वातावरण नभएपछि फेरी अर्को देश पनि गएका छन्। सरकारले युवालाई नेपालमा टिकाउने पोलिसि बनाउनुपर्छ। नेपालमा केही गर्छु भनेर आएकालाई सरकारको संरचनाले नै निरुत्साहित बनाएको छ। तिमीले सिकेको सिप नेपालमै आएर केही गर्नुपर्छ भन्ने हुनुपर्छ।
आइरिनले जापानको शिक्षाबारे सरकार, विद्यार्थी र अभिभावकलाई के – कस्ता विषयमा सजग गराउने काम गरेको छ?
हामीले सरकारलाई जापान कस्तो देश हो? त्यहाँको शिक्षा प्रणाली कस्तो छ, भन्ने विषयमा ध्यानाकर्षण गराएका छौँ। जापानमा नेपाली विद्यार्थी जापानीज भाषामा नै अध्ययन गर्न जान्छन्। विद्यार्थी जापानका भाषा स्कुलमा पढेपछि विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछन् भन्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छौँ। सरकारले नीति बनाउँदा अन्य मुलुकको दाजोमा जापानलाई लिन मिल्दैन।
नेपाल सरकारले नेपालको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ। नेपाललाई शैक्षिक गन्तव्य बनाउने विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ। विद्यार्थी पढ्न जाँदा पैसा लगेका मात्रै छैनन्।
उनीहरूले नेपालमा रेमिट्यान्सको रुपमा पैसा पठाएका पनि छन्। आइरिन एउटा सानो परिवार जस्तो संस्था हो। यहाँ दशौँ वर्ष शैक्षिक परामर्श क्षेत्रमा समय बिताएका व्यवसायी साथिहरू हुनुहुन्छ। आइरिनमा आवद्ध संस्थाहरूले विदेश पठाउन परामर्श दिने भन्दा पनि विद्यार्थीको भविष्य केन्द्रित भएर शैक्षिक परामर्श प्रदान गर्ने काम गरेका छन्।
हामीले विद्यार्थीलाई बाटो देखाइदिने काम गर्छौ। विद्यार्थीको इच्छा चाहाना र अभिभावकको आर्थिक क्षमतालाई बुझेर शैक्षिक परामर्श प्रदान गर्ने काम गरेका छौँ। अभिभावकलाई हामीले जापान अध्ययनका राम्रा र नराम्रा दुवै पाटो देखाइदिन्छौँ। हामीले पठाएका विद्यार्थी अहिले जापानमा स्थापित भएका थुप्रै उदाहरण छन्। जापानमा व्यवसायी, प्रोफेसर, विभिन्न विषयका विज्ञ, सरकारी जागिरमा पनि हुनुहुन्छ।