काठमाडौँ- नयाँ शैक्षिक सत्र २०८१ का लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ देशभर नै अभियान सुरु हुन लागेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न सरोकारवाला निकायलाई केन्द्रले आग्रह गरेको हो।
केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।
अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।
स्थानीय तहको निर्देशनअनुरूप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थाल्ने कार्य योजना बनेको छ।
त्यस्तै वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन आह्वान गर्नेलगायत कार्यक्रम छन् ।
त्यस्तै सामुदायिक सिकाइ केन्द्रहरूले भर्ना अभियानमा सहजीकरण गर्ने समेत कार्य योजना बनेको छ । त्यस्तै भर्ना अभियानको संयोजक मार्फत विवरण तयार गर्ने र भर्ना हुन बाँकी बालबालिकाको अनुमानित विवरण स्थानीय तह र विद्यालयहरूले गर्ने कार्य योजना बनेको छ।
अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ।
वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने कार्य योजना बनेको छ ।
‘केन्द्रको फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्ना दर ९४।९ प्रतिशत छ ।