काठमाडाैँ- पछिल्लो समय जापान जाने विद्यार्थीको संख्या बढेसँगै चुनौतिहरू पनि थपिएका छन्। जापान लामो समयदेखि नेपाली विद्यार्थीको रोजाइको दोस्रो ठूलो शैक्षिक गन्तव्य हो। जापानमा विद्यार्थी भाषा स्कुलमा अध्ययनका लागि जाने गरेका छन्।
जापान जाने विद्यार्थीले एनओसी लगायतका समस्या भोग्नुपरेको अवस्था पनि छ। यसै विषयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रिय सदस्य एंव जापान विभाग प्रमुख, ओसिश एजुकेशनल कन्सलटेन्सीका प्रवन्ध निर्देशक श्रीराम गिरीसँग गरिएको कुराकानीको सम्पादित अंश।
जापान नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक गन्तव्य मध्ये दोस्रो ठूलो शैक्षिक गन्तव्य हुनुको कारण के देख्नुहुन्छ ?
जापानमा नेपाली विद्यार्थी अध्ययनसँगै रोजगारीको अवसरको खोजीमा जाने गरेका छन्। सुरुमा विद्यार्थी जापानीज भाषा स्कुलमा अध्ययनका लागि जान्छन्। अन्य अंग्रेजी भाषा बोलिने मुलुकको तुलनामा जापानमा १८,२४ र २१ महिना भाषा अध्ययन गरेपछि मात्र विश्वविद्यालयमा भर्ना पाउने भएकाले पनि विद्यार्थीको रोजाइको दोस्रो ठूलो शैक्षिक गन्तव्यको रुपमा परिचित छ।
जापानमा विद्यार्थीले दुईवर्षमा जापानीज भाषा परीक्षा जापानीज ल्याङ्वेज प्रोफिसेन्सी टेस्ट (जेएलपीटी) एन फोर लेबल हुँदै एन टु लेबल पास गर्नुपर्ने हुन्छ। विद्यार्थीले भाषागत दक्षता हासिल गरेपछि मात्र सहज रुपमा रोजगारीको अवसर प्राप्त हुन्छ।
इक्यानले जापान अध्ययनमा जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने व्यवसायीलाई केन्द्रित गरेर के – कस्ता गतिविधी गर्दै आएको छ?
इक्यानले जापानलाई मूल शैक्षिक गन्तव्य बनाएर भाषा तयारी कक्षा र शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीलाई जापानको परिवर्तित शिक्षा नीति र भिसा आवेदन प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम गर्दै आएको छ। उनीहरूलाई आइपर्ने समस्या समाधान गर्दै आएको छ।
इक्यानले विद्यार्थीलाई जापान पठाउन भन्दा पहिले भाषागत दक्षता वृद्धि गरेर मात्र पठाउन सुझाब दिने गरेको छ। विद्यार्थीले भाषागत दक्षता वृद्धि नगरी जापान गएमा दुःख पाउन सक्छन्। यस विषयमा परामर्श व्यवसायी सचेत हुनुपर्छ।
जापानलाई नयाँ शैक्षिक गन्तव्यको रुपमा काम गर्न सुरु गर्ने इक्यानका सदस्यलाई तालिम प्रदान गर्ने र उनीहरूलाई जापान अध्ययनको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्न इक्यानले भूमिका निर्वाह गर्दै आएको छ।
जापान अध्ययनका लागि परामर्श प्रदान गर्ने व्यवसायीले ध्यान दिनुपर्ने कुराहरू के – के छन्?
जापान अध्ययनका लागि परामर्श प्रदान गर्ने व्यवसायीले विद्यार्थीलाई भाषागत दक्षता अभिवृद्धि गर्ने सवालमा ध्यान दिनुपर्छ। विद्यार्थी काम भन्दा पनि पढ्न जाने भएकाले उनीहरूलाई पढाइ केन्द्रित परामर्श प्रदान गर्नुपर्छ।
विद्यार्थीलाई पार्ट टाइम जव, त्यहाँको एजुकेसन सिस्टम, कानुनी प्रावधान, दैनिक जिवनमा आवश्यक पर्ने विषयबस्तुमा परामर्श व्यवसायीले सम्पूर्ण जानकारी दिएर मात्र पठाउनु उपयुक्त हुन्छ।
जापान जान चाहने विद्यार्थीले एनओसी समस्या भोग्नुपरेको छ नि। यस विषयमा इक्यानले कस्तो पहलकदमी लिएको छ?
विद्यार्थीले जापानको भाषा स्कुलमा शुल्क तिर्न नो अव्जेक्सन लेटर (एनओसी) बनाउनुपर्ने हुँन्छ। विगतमा विद्यार्थीले एनओसी बनाउन स्कुलको नाम लिस्टिङ नहुँदा समस्या भोग्नुपरेको अवस्था थियो।
अहिले इक्यानको पहलमा हामीले सम्बन्धित निकायसँग छलफल गरेर एनओसी समस्या समाधान गर्न पहल गरेका छौँ। केही स्कुलले विद्यार्थीलाई छ महिनाको लागि मात्र सर्टिफिकेट अफ इलिजिविलिटि (सिओई) दिने गरेका छन्।
इक्यानले छ महिनाको सिओईलाई पनि एनओसी जारि गर्न माग गर्दैै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ। अन्य मुलकका शैक्षिक गन्तव्य जस्तै जापानमा पनि अफर लेटरको आधारमा नै एनओसी जारी गर्न हामीले पहल गरेका छौँ।
उच्च शिक्षा विधेयकमा शैक्षिक परामर्श व्यवसाय केन्द्रित व्यवस्था प्रति जापान विभागको तर्फबाट इक्यानको धारणा के छ ?
जापान विद्यार्थी भाषा पढ्न जाने हो भन्ने विषय सबैले बुझ्न जरुरी छ। विद्यार्थी जापानका विश्वविद्यालयमा सिधै भर्ना हुन कमै मात्र जाने गरेका छन्। जापानका अधिकाशं विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारीधी तहमा नेपालबाट सिधै भर्ना लिदैनन्।
त्यसैले उच्च शिक्षा विधेयकको मस्यौदामा भाषा पढ्न जाने, व्यवसायीक तालिम लिन जाने विद्यार्थीलाई विदेश अध्ययनमा जान पाउने व्यवस्था गर्नुपर्छ। जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई रोक्ने ढंगबाट कानुन निर्माण हुनुहुँदैन। यस विषयमा हामीले सामुहिक रुपमा परामर्श व्यवसायीका तर्फबाट सुझाब पनि दिइसकेका छौँ।
आफ्ना सन्तानलाई जापानमा अध्ययन गर्न पठाउन चाहने अभिभावकलाई के भन्नुहुन्छ ?
जापानमा भाषागत दक्षता हासिल गरेका विद्यार्थीले अध्ययनसँगै रोजगारीको अवसर पनि पाउँछन्। विद्यार्थी काममा केन्द्रित हुँदा उसले पढाइमा ध्यान दिँदैन। जापानको नियम कानुन मानेर आफ्नो पढाइ र भाषागत दक्षता अभिवृद्धि गर्न चाहने विद्यार्थीलाई जापानमा समस्या छैन।
अभिभावकले पनि सुरुमा विद्यार्थीलाई कामका लागि दबाब दिनु हुँदैन। उसले पढाइसँगै पार्ट टाइम काम गर्ने भएकाले उसले आफ्नो पढाइसकेपछि मात्र पैसा कमाउन सक्छ भन्ने बुझ्नुपर्छ।