काठमाडौँ - शिक्षकले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा डेढ वर्षमा छात्रा बलात्कार अभियोगमा १९ शिक्षक पक्राउ परेका छन्।चितवनको माडी नगरपालिकास्थित सोमेश्वर उमाविका शिक्षक सुरज लामिछाने छात्रामाथि दुर्व्यवहारकै अभियोगमा पक्राउ परे ।यस्तै मोरङको लेटाङ नगरपालिका ५ मा रहेको शिक्षा विकास माध्यामिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा पढ्ने छात्रालाई गत शुक्रबार दुर्व्यवहार गरेको आरोप छ । यी विद्यालयमा बढेको अनुशासनहीनता र अपराध झल्काउने प्रतिनिधि घटना हुन् ।
यौन दुर्व्यवहार मात्र होइन, कतिपय छात्राहरू शिक्षकबाटै बलात्कारमा परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आफ्नै छात्रालाई बलात्कारको आरोपमा गत आर्थिक वर्षमा १५ जना शिक्षक पक्राउ परेका थिए ।
यो वर्षको गत माघसम्म चारजना पक्राउ परेको प्रहरी तथ्यांक छ । आफ्नै शिक्षकबाट छात्राहरूले यौन दुर्व्यवहार भोगेका घटना प्रशस्तै हुने गरेका छन् । कतिपय यस्ता घटनामा समाजमै मिलापत्रसमेत हुने गरेको छ । पछिल्ला घटनाले विद्यालयमा आपराधिक घटना बढेको र यसमा सुधारको आवश्यकता देखिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसी बताउँछन् ।
सोमेश्वर उमाविका शिक्षक लामिछानेले कक्षा ९ की छात्राले झोला नल्याएको विषयलाई लिएर यौन दुर्व्यवहार गरेकाे तथ्य सार्वजनिक भएकाे छ । २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए । तर ती महिला शिक्षकले छात्रालाई सहयोग गर्नुको सट्टा विद्यालयको कुरा बाहिर हल्ला नगर्न सुझाव दिएर चुप बस्न भने ।यसअघि पनि यस्तै दुर्व्यवहार खेपिरहेका विद्यार्थीहरुले विद्यालयमा राखिएको उजुरी पेटिकामा निवेदन हाले । तर त्यो उजुरी पेटिका अझै नखोलिएको बताउँछन् ।
२९ गतेको घटनापछि कक्षा ९ देखि १२ मा पढ्ने विद्यार्थीहरुले शिक्षक लामिछानेले यौनजन्य र अमर्यादित व्यवहार गर्ने गरेको विद्यालय प्रशासनसँग विभिन्न माध्यमबाट गर्न खोजेको संवादमा विद्यालयको ध्यानाकर्षण नभएपछि २९ फागुनमा सामूहिक प्रतिकार गरेको बताउँछन् ।
प्रतिकारमा विद्यार्थीहरुले शिक्षक लामिछानेलाई मोसो दल्ने प्रयास गरेका थिए । त्यसपछि विद्यालयले सर्वदलीय बैठक बसी शिक्षकलाई विद्यालयबाट निष्कासन गरेको थियो । विद्यार्थीहरुले ४ चैतमा माडीस्थित इलाका प्रहरी कार्यलयमा शिक्षक लामिछानेविरुद्ध उजुरी दिए । उजुरी परेपछि पीडित विद्यार्थी र प्रहरीसमेतलाई उजुरी फिर्ता लिन र विषयलाई जिल्ला प्रहरी कार्यलयसम्म ल्याएर जाहेरी दर्ता गर्न नदिन राजनीतिक दलका नेताहरु नै लागे । तर जाहेरी दर्ता भएपछि शिक्षक लामिछाने पक्राउ परेका छन् ।
यस्तै मोरङको लेटाङ नगरपालिका ५ मा रहेको शिक्षा विकास माध्यामिक विद्यालयका पौडेलले कक्षा ७ मा पढ्ने बालिकाको घरमै गएर करणीको प्रयास गरेको उजुरी परेकाे छ ।
विद्यार्थीको उजुरीपछि शिक्षक पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भएको थियो । घटना भएपछि शिक्षक विद्यालयमा नै रहेको सूचना पाएका स्थानीयले विद्यालय घेराउ गरेका थिए । स्थानीयले शिक्षकलाई प्रहरी कहाँ लगेर जोगाउन खोजेको भन्दै आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अनियन्त्रित भएको थियो । सोही क्रममा भीडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएकाे छ ।
छात्रामाथि यौन दुव्र्यवहार गरेको घटनाप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल केन्द्रीय कार्यसमिति घोर भत्र्सना समेत गरेको छ ।