काठमाडाैँ- पछिल्लाे समय जापान अध्ययनमा जान चाहने विद्यार्थीकाे संख्या बढ्दाे क्रममा छ। यससँगै चुनाैतिहरू पनि थपिएका छन्। सरकारले यस व्यवसायलाई व्यवस्थित गर्नेतर्फ ध्यान नदिदाँ विभिन्न खाले समस्या देखा पर्ने गरेका छन्। यसै सन्दर्भमा व्यवसायीले भाेग्नुपरेका समस्या, जापान अध्ययन अवसर र चुनाैती लगायतका विषयमा एप्क्यान उपाध्यक्ष एंव माउन्ट फूजी एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अर्जुन कुमार बस्नेतसँग गरिएकाे कुराकानीकाे मुख्य अंश।
जापान नेपाली विद्यार्थीका लागि कस्तो शैक्षिक गन्तव्य हो?
जापान नेपाली विद्यार्थीका लागि दोस्रो ठूलो शैक्षिक गन्तव्य हो। यो सुरक्षित देश हुनुका साथै विद्यार्थीलाई दैनिक जिवनमा समस्या पनि कम पर्ने भएकाले जापान नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। विशेष गरेर मध्यमवर्गिय परिवारका विद्यार्थीको रोजाइमा जापान पर्ने गरेको छ। जापान सरकारले विद्यार्थीलाई सुविधा पनि दिने गरेको छ।
जापान अध्ययनमा जाने विद्यार्थीले के – के कुरामा ध्यान दिने?
उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीले परामर्श दिन आउँदा उक्त देशको बारेमा पूर्ण रुपमा जानकारी लिनुपर्छ। विद्यार्थीको रुपमा उनिहरूले त्यहाँ हप्ताको २८ घण्टा काम गर्न पाउने कुरादेखि सोमबार देखि शुक्रबारसम्म कुनै पनि क्लास मिस गर्नुहुँदैन भन्ने कुरा जान्न जरुरी छ।
आफ्नो रोजाइको विषय छानोट गरेर भाषा अध्ययन पश्चात भोकेसनल एजुकेसन तर्फ लाग्ने कि विश्वविद्यालय शिक्षा लिने भन्ने विषयमा विद्यार्थीले ध्यान दिनुपर्छ। उच्च शिक्षा अध्ययन गर्नलाई जापानीज भाषामा दक्षता भने अनिवार्य छ। नेपालबाटै एनटु लेभल उत्तिर्ण गरेर जाने हो भने जापानीज राजदुताबास मार्फत विश्वविद्यालयमा सिधै भर्ना पाउन सकिन्छ।
विद्यार्थीले दक्ष अनुभवि परामर्श व्यवसायी छनोट गरेर जापानका स्कुलको भर्ना समय (चारवटा इन्टेक) जनवरी, अप्रिल, जुलाई र अक्टुवर इन्टेकको बारेमा बुझेर मात्र जानु उपयुक्त हुन्छ। कुन इन्टेकमा गयो भने कति समय पढ्नुपर्छ भन्ने विषयमा परामर्श व्यवसायीबाट जानकारी लिएर भाषागत दक्षता हासिल गरेर आफ्नो भविष्यको योजनासहित जापान जान सुझाब दिन्छु।
जापान अनुशासित मुलुक हो। त्यहाँको शिक्षा प्रणाली, त्यहाँको भौतिक शैक्षिक वातावरण र पार्टटाइम कामको बारेमा बुझेर जानु उपयुक्त हुन्छ। पढाई सकेपछि विद्यार्थी आफ्नो स्टुडेन्ट भिसालाई वर्किङ भिसामा परिवर्तन गर्न सक्छन्।
जापान नेपाली विद्यार्थीको रोजाइको पहिलो शैक्षिक गन्तव्य नहुनुको कारण के देख्नुहुन्छ?
सामन्यता नेपाली विद्यार्थीको पहिलो रोजाइमा अंग्रेजी भाषा बोलिने राष्ट्रहरू नै पर्ने गरेका छन्। अभिभावकले पनि त्यसलाई नै सहज रुपमा लिएका हुन्छन्। अमेरिका, अष्ट्रेलिया, क्यानडामा भिसा नलाग्दै गर्दा तिनै विद्यार्थीले भाषा अध्ययन गरेर जापान अप्लाइ गर्ने प्रचलन पनि छ।
विशेष गरेर मध्यम वर्गिय अभिभावक र विद्यार्थीको रोजाइमा जापान शैक्षिक गन्तव्यको रुपमा स्थापित छ भने नेपाली विद्यार्थीको रोजाइमा पर्ने दोस्रो ठूलो शैक्षिक गन्तव्य हो। यो एसियन मुलुक भएकाले पनि विद्यार्थीले त्यसरी लिएका हुनसक्छन्।
जापान जाने विद्यार्थीको उद्देश्य पढ्ने नै हुन्छ?
हामीले विद्यार्थीलाई पढ्नकै लागि भनेर शैक्षिक परामर्श प्रदान गर्ने गरेका छौँ। विद्यार्थीलाई हामीले पढ्न विदेश जानु पर्छ भन्दैनौ। उनीहरूको रोजाइ र भविष्यको योजना अनुसार नै हामीले सुझाब दिन्छौँ।
हामी काम गर्नका लागि विद्यार्थीलाई सहजिकरण गर्ने संस्था पनि होइनौ। विद्यार्थी जापान पढ्नकै लागि गएका हुन्। विद्यार्थीले जापानमा काम गर्दै पढेको अवस्था छ।
जापान अध्ययनको विषयमा एप्क्यानले के – कस्तो काम गर्दै आएको छ?
विभिन्न संघमा आवद्ध भएका व्यवसायी मिलेर केही समय अघि स्थापना भएको यस संस्थाले आफ्ना सदस्यलाई जापानको शैक्षिक गन्तव्यका विषयमा जानकारी दिने काम गरेको छ। जापान विभागले जापान काम गर्ने परामर्श व्यवसायीलाई नीति नियम भित्र रहेर काम गर्न सुझाब दिएका छौँ।
गलत प्रचार गर्ने व्यवसायीलाई सजग गराउने, जापान अध्ययनका विषयमा केही समस्या आए सबैजना मिलेर समाधान गर्ने प्रयास गरेका छौँ। जापानको स्कुल नभएका व्यवसायीलाई सहजीकरण गर्नेतर्फ हामीले ध्यान दिएका छौँ।
उच्च शिक्षा विद्येयक र एनओसी समस्याका विषयमा एप्क्यानको धारणा के छ?
जापान अध्ययनको विषयमा विदेश अध्ययन अनुमतिपत्र जारी गर्ने सवालमा सरकारले खासै चासो दिएको छैन। उच्च शिक्षा ऐन मार्फत यस व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने दायित्व राज्यकै हो।
विधेयकमा भाषा अध्ययन गर्न जाने विद्यार्थीलाई उच्च शिक्षाको मापदण्ड भित्रै राख्नुपर्छ भन्ने हो। हामीले शिक्षामन्त्रालयलाई पनि यस विषयमा जानकारी गराइसकेका छौँ। हाम्रो कार्यक्रममा शिक्षा सचिवले पनि यस व्यवसायमा देखिएका समस्या समाधान गर्न आफूले तत्परता देखाउने भन्नुभएको थियो।
शिक्षा मन्त्रालयले हाम्रो सुझाबलाई मध्यनजर गर्दै छलफल गरेर निर्णय गर्नुपर्छ। विद्यार्थीलाई आफ्नो पढ्न पाउने अधिकारबाट बञ्चित नहुनेगरि सरकारले निर्णय गर्नुपर्छ। जापानको भाषा शिक्षा भनेको विश्वविद्यालय शिक्षाको प्रवेश विन्दु हो।
यो पनि कक्षा १२ पछि अध्ययन गर्ने विश्वविद्यालय शिक्षा अघिको पूर्वतयारी कक्षाको रुपमा लिनुपर्छ। एनओसीको विषयमा पनि कुनै स्कुलले ६ महिनाको सिओइ पठाएपनि एनओसी रोक्नु हुँदैन। सिओइ ६ महिनाको आएपनि विद्यार्थीलाई पढ्न कुनै समस्या हुँदैन भन्ने बुझ्नुपर्छ।
जापान जाने विद्यार्थीले नक्कली कागजपत्र बनाउछन् भन्ने सुनिन्छ नि?
जापान अध्ययनमा जाने विद्यार्थीले नक्कली कागजपत्र बनाउनु पर्दैन। अहिले जापानले स्कुललाई पनि वर्गीकरण गरेको छ। हामीले संस्थागत रुपमा नै गलत काम नगर्न सुझाब दिएका छौँ। विद्यार्थी आफूले नै गलत कागजपत्र बनाएको छ भने पनि त्यसलाई भेरिफाइ गर्न पनि पहल गर्ने गरेका छौँ। नराम्रा कामलाई निरुत्साहित गर्दै अघि बढ्नुपर्छ।
आम अभिभावक र विद्यार्थीले जापान अध्ययनका लागि कस्तो परामर्श व्यवसायी छनोट गर्ने?
जापान अध्ययनमा जाने विद्यार्थीले एप्क्यानबाट मान्यता प्राप्त संस्थाबाट शैक्षिक परामर्श सेवा लिएर अध्ययनका लागि जान सुझाब दिएका छौँ। यहाँ आवद्ध भएका परामर्श व्यवसायी जापान गएर लामो समय बसेर नेपाल फर्किएर व्यवसाय गरेका अनुभवि दक्ष परामर्श व्यवसायी हुनुहुन्छ।
हामीले जापानको स्कुलको बारेमा सम्पूर्ण जानकारी दिन सक्ने परामर्श व्यवसायी छनोट गर्न सुझाब दिन्छौँ। हामीले नेपालमा मात्रै होइन जापानमा गएपछि पनि विद्यार्थीलाई सहजिकरण गर्ने गरेका छौँ।
यदी तपाई पनि जापान अध्ययनमा जान चाहानुहुन्छ भने प्रवन्ध निर्देशक बस्नेतसँग सम्पर्क गर्न सक्नुहुनेछ।
