काठमाडाैं – विदेशी मुद्राको अभावका कारण कागज र मसी आयात गर्न नसकेपछी श्रीलंकाकाे पश्चिमी प्रान्तका विद्यालयमा परीक्षा स्थगित हुन पुगेकाे छ ।
डलरको अभावमा प्रिन्टिङ पेपर र मसी आयात गर्न नसकेपछि पश्चिमी प्रान्तका विद्यालयमा साेमबारदेखि सुरु हुने ९, १० र ११ कक्षाको परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको हाे। परीक्षा स्थगित हुन पुगेकाे श्रीलंकाका अधिकारीले बताएका छन् ।
श्रीलंकाकाे पश्चिमी प्रान्तको शिक्षा विभागले प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्ने विदेशी मुद्रा नपाउँदा विद्यालयका प्राध्यापकले परीक्षा सञ्चालन गर्न नसक्ने जनाएकाे छ ।
सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेको श्रीलंकामा त्यसयताकै खराब आर्थिक संकट देखिएको छ । त्यहाँ विदेशी मुद्राको अभावबाट सिर्जित आर्थिक संकटका कारण खाद्यान्न, इन्धन र औषधिको अभाव समेत देखिन थालेको छ ।
संकट गहिरिँदै गएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आर्थिक सहायताका लागि अनुरोध गरिसकेका छन् । उक्त अनुरोधबारे छलफल भइरहेको कोषले जनाएको छ ।
यसैबीच, भारतले एक अर्ब डलर ऋण दिने भएको छ । अधिकारीका अनुसार अर्थमन्त्री बसिल राजापाक्षेले नयाँ दिल्लीको भ्रमण गरेपछि भारतले सहयोग गर्ने बाचा गरेको हो ।
श्रीलंकाले यो वर्ष मात्रै ६.९ अर्ब डलर ऋण तिर्नु पर्ने स्थिति छ । तर सरकारी ढुकुटीमा फेब्रुअरीको अन्त्यसम्म केबल २.३ अर्ब डलर विदेशी मुद्रा मात्रै बाँकी छ ।
श्रीलंका सरकारले उसको मुख्य ऋणदाता चीनलाई ऋण भुक्तानीका लागि सहयोग गर्न अनुरोध गरिसकेको छ । तर चीनले हालसम्म कुनै जवाफ दिएको छैन । एजेन्सी