काठमाडौँ- नेपालबाट विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीको पहिलो रोजाइको गन्तव्य अष्ट्रेलिया हो। पछिल्लो समय अष्ट्रेलियाको विदेशी विद्यार्थी केन्द्रित शिक्षा नीतिमा आएको परिवर्तनका कारण भिसा सक्सेस रेट घट्दो क्रममा छ। जसका कारण आवेदन गर्नें विद्यार्थीको संख्या पनि घटेको छ।
यसै सन्दर्भमा अष्ट्रेलियाले शिक्षा नीतिमा गरेको परिवर्तन, वर्तमान शैक्षिक अवस्था, अष्ट्रेलिया अध्ययनमा जानुअघि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुराहरूका विषयमा एसोसियसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ्स इन नेपाल (ऐरी नेपाल)का अध्यक्ष महेशबाबु तिमल्सिनासँग गरिएको कुराकानीको मुख्य अंश।
अष्ट्रेलियाको शिक्षा नीतिमा आएका परिवर्तनको बारेमा स्पष्ट पार्दिनुहोस् न।
अष्ट्रेलियन सरकारले ‘माइग्रेसन स्ट्राटेजी’मा केहि परिवर्तनहरू गरेको छ। अष्ट्रेलियामा अध्ययन गर्न विभिन्न मुलुकबाट फरक-फरक पृष्ठभूमिका विद्यार्थी जाने गरेका छन्। विदेशी नागरिकहरूका कारण अष्ट्रेलियाको मानवसंशाधनमा देखिएको प्रभावका कारण विद्यार्थी भिसामा आएकाहरू लामो समयसम्म बस्ने र गुणात्मक वृद्धि नगरेका कारण अष्ट्रेलियाले आफ्नो आप्रवासन फ्रेमवर्कमा नै परिवर्तन गरेको छ।
११ डिसेम्बर २०२३ मा अष्ट्रेलियाको गृह मन्त्रालयले जुन संख्यामा विदेशबाट विद्यार्थी आप्रवासन भएका छन्। त्यसलाई संख्यात्मक रुपमा घटाएर गुणात्मक रुपमा वृद्धि गर्ने लक्ष्य लिएको देखिन्छ। यसलाई लागु गर्न अष्ट्रेलिया सरकारले नीतिगत रुपमा नै परिवर्तनहरू गरेको अवस्था हो।
त्यसपछि त्यसैलाई केन्द्रित गरेर विभिन्न सूचनाहरू आइरहेका छन्। अष्ट्रेलियाले तीनवटा विषयलाई प्राथमिकताका साथ अवलम्बन गरेको देखिन्छ। पहिलो कुरा उच्च स्तरका शिक्षा प्रादायक संस्थामा आवेदन दिने विद्यार्थीलाई प्राथमिकता दिने जसका लागि ‘लेभल वान’का शिक्षणसंस्थामा आवेदन दिने विद्यार्थीलाई केन्द्रमा राखेको देखिन्छ। दोस्रो कुरा अंग्रेजी भाषाको मापदण्ड वृद्धि गरेको छ। अष्ट्रेलिया विद्यार्थी भिसामा गएका तर ३५ वर्ष कटेका विद्यार्थीले पोष्ट स्टडी वर्क (पिएसडब्लु)का लागि भिसा आवेदन दिन नपाउने लगायतको परिवर्तन गरेको छ।
जिटिईलाई परिवर्तन गरेर जिएसटी बनाउने जस्ता परिवर्तन गरेको छ। विद्यार्थीले यस अघि भिसा अप्लाई गर्दा आफू अष्ट्रेलिया जान चाहनुको उद्देश्य तीनसय शव्दमा लेख्नुपर्ने थियो यसमा परिवर्तन गरेर पाँचवटा प्रश्नको उत्तर दिनुपर्ने जस्ता परिवर्तनहरू भएका छन्। यसले विद्यार्थीको उद्देश्य र क्षमता पहिचान गरेर मात्र लान खोजेको जस्तो देखिन्छ। अष्ट्रेलियामा अध्ययन पश्चात रोजगारीमा जान सक्ने क्षमता भएका विद्यार्थीलाई प्राथमिकतामा राखेको देखिन्छ।
अबदेखि अष्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीले के-के कुरामा ध्यान दिनुपर्छ?
अष्ट्रेलियाले संख्यात्मक रुपमा घटाउने र गुणात्मक रुपका विद्यार्थी बढाउने नीति लिएको देखिन्छ। त्यसैले विद्यार्थीले कागजपत्र बनाउँदा ध्यान दिनुपर्छ। विदेश अध्ययनमा जानुअघि विद्यार्थीको तीनवटा कुरा महत्वपूर्ण हुन्छ। विद्यार्थीको शैक्षिक योग्यता, भाषागत दक्षता र आर्थिक अवस्था। यी तीन कुरा राम्रो छ भने विद्यार्थीलाई भिसा पाउन सहज हुन्छ।
अहिले अष्ट्रेलियाले उत्कृष्ट शैक्षिक योग्यता भएका, विषयगत दक्षता हासिल गरेका विद्यार्थीलाई केन्द्रमा राखेको छ। अष्ट्रेलियाले इन्जिनियरिङ, नर्सिङ, लगायतका अनुसन्धानमुलक प्राविधिक विषय अध्ययन गर्न जाने विद्यार्थीलाई सहज बनाएको छ।
अष्ट्रेलियाले सम्पूर्ण हिसाबले गुणस्तरीय विद्यार्थी लान खोजेको देखिन्छ। साधारण विषय व्यवस्थापन र आईटी अध्ययन गर्न धेरै विद्यार्थी जान्छन् तर उनीहरूको आउटकम देखिदैन। विशेषज्ञता हासिल गर्न अंग्रेजी भाषामा दक्ष नहुँदा समस्या हुने भएकाले पनि भाषागत दक्षतालाई प्राथमिकतामा राखेको छ।
त्यसैले अंग्रेजी भाषा परीक्षामा राम्रो अंक ल्याएर मात्र विदेश अध्ययनमा जानुपर्छ। नेपालमा विद्यार्थीले आम्दानीको स्रोत पारदर्शी रुपमा बैंकबाट कारोबार भएको देखाउनुपर्छ। कर तिरेको आम्दानीलाई अष्ट्रेलिया सरकारले मान्यता दिन्छ। अबदेखि अष्ट्रेलिया जान चाहने विद्यार्थीले अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) ओभरअलमा ६ अंक ल्याउनुपर्ने हुन्छ।
न्यूनतम योग्यता पुरा गरेका विद्यार्थीको हकमा भिसा सक्सेस रेट कस्तो छ?
अहिले विद्यार्थी, परामर्शदाता र अष्ट्रेलियाका कलेज पनि अन्योलमा रहेको अवस्था छ। प्रत्येक दिन नयाँ - नयाँ अपडेटहरू आएका छन्। त्यसैले अब जुन जुलाई इन्टेकमा जाने विद्यार्थीले नयाँ नीतिगत परिवर्तनलाई ध्यान दिएर मात्र जानु उपयुक्त हुन्छ।
विद्यार्थीको भिसा अप्लाई गर्ने फारम नै परिवर्तन हुन लागेको छ। जीटीबाट जीएसटीमा जाँदैछ। त्यसलाई हेरेरमात्र के हुन्छ भन्न सकिन्छ । तर २०२१/२२मा ७० प्रतिशत भिसा सक्सेस रेट रहेकोमा २०२३ मा त्यो घटेर ५५ प्रतिशतको हाराहारीमा आउन पुग्यो। अहिले त अष्ट्रेलिया आवेदन गर्ने विद्यार्थीको संख्या नै घटेको छ।
पछिल्लो परिवर्तन पश्चात शैक्षिक गन्तव्य परिवर्तन गरेका विद्यार्थीले अष्ट्रेलियालाई नै आफ्नो शैक्षिक गन्तव्य बनाउन सक्ने अवस्था आएको हो?
विद्यार्थी अष्ट्रेलिया अध्ययनमा जान चाहान्छ भने विद्यार्थी हतोत्साहित हुनुपर्ने अवस्था होइन। तर अहिले नेपाली विद्यार्थीले आफ्नो शैक्षिक गन्तव्य अष्ट्रेलिया बाहेक अन्य मुलुकलाई रोजेको अवस्था हो। अष्ट्रेलिया जाने विद्यार्थीको संख्या घटेसँगै क्यानडा, जापान, युके र अमेरिका अध्ययनमा जान चाहने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
जापान जाने विद्याथीैको संख्या अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको छ भने क्यानडाको १२१ प्रतिशतले, युकेको ५० प्रतिशत भन्दा माथिले बढेको अवस्था छ। अष्ट्रेलियाको घट्दै गर्दा नेपालबाट एनओसी लिने विद्यार्थीको संख्यामा अन्य मुलुकमा २०२२ मा भन्दा २०२३ मा बढेको देखिन्छ।
अष्ट्रेलियाको भिसा लाग्ने दर घटेसँगै आवेदन गर्ने विद्यार्थीको संख्या पनि घटेको छ। विद्यार्थीले भिसा सहज रुपमा प्राप्त हुने मुलुकलाई आफ्नो शैक्षिक गन्तव्य बनाएको देखिन्छ।
ऐरी नेपालले विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षाबारे के - कस्ता कुरामा ध्यान दिन्छ?
ऐरी नेपालले अष्ट्रेलियाको भिसा पोलिसिका बारेमा सुसुचित गर्ने र विभिन्न फोरमहरूमा नेपाली विद्यार्थीको बारेमा आवाज उठाउने काम गरेको छ। अष्ट्रेलियाको शिक्षा प्रवर्धन गर्ने सवालमा यसको भूमिका महत्वपूर्ण छ। नेपालको अवस्थालाई हामीले अष्ट्रेलियाको हाइकमिसनमा पनि राखेका छौँ।
ऐरी नेपालको प्रतिनिधिमण्डलको तर्फबाट भिसा पोलिसी क्लिएर हुनुपर्ने विषयमा मैले आफ्नो कुरा पनि राखेको छुँ। यो बजारमा त्रास फैलाउने काम कसैले गर्नु हुँदैन। अष्ट्रेलिया राम्रो शैक्षिक गन्तव्य भएकाले यसबारेमा गलत प्रचार हुने अवस्था आउनु हुँदैन। यस विषयमा सबै सजग हुन जरुरी छ।
अन्त्यमा, अष्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्य बनाउन चाहने विद्यार्थी र तिनका अभिभावकलाई के भन्नुहुन्छ?
अष्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीको न्युनतम मापदण्ड पुगेको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो। विद्यार्थीले पनि कक्षा १२ उत्तिर्ण गरेपछि दुईबर्ष ग्याप भएको छ भने आवेदन दिनु हुँदैन। विद्यार्थीले चाहेर मात्र जान मिल्ने अवस्था हुँदैन।
न्युनतम योग्यता पुरा हुन्छ भने आर्थिक कागजपत्र बनाउन उसले समय लिन सक्छ तर जसको न्युनतम मापदण्ड नै पूरा हुने अवस्था छैन। उसले अहिलेको परिवर्तनलाई पर्खिनुपर्ने कुनै कारण हुँदैन।
अष्ट्रेलिया जान योग्य र इच्छुक विद्यार्थीले अहिलेको भिसा पोलिसिमा आएको परिवर्तन अनुसार आफ्नो कदम चाल्न सक्छन्। अन्यको हकमा भने अष्ट्रेलिया बाहेकका गन्तव्य रोज्नु उपयुक्त हुन्छ। समय खेर फाल्नु हुँदैन। शैक्षिक परामर्श व्यवसायी र अभिभावकले पनि यी विषयलाई ख्याल गर्नुपर्छ।