धुलिखेल- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शिक्षकहरूले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज बनेपामा आयोजना गरेको ‘प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रममा उनले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वांगीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको बताए।
उपाध्यक्ष सापकोटाले अहिलेका राजनीतिक दलहरूबीच भएको साझा सहयात्रा गठबन्धन नभएर समीकरण भएको बताए।
अहिलेको राजनीतिक समीकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुसी र आशा पलाएको पाएको उनको दाबी थियो।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज तेजबहादुर मिजारले संगठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गरे।
प्रथम जिल्ला परिषद्ले अब नयाँ ढंगले शिक्षकहरू अगाडि बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकामा उनले जोड दिए।
माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनका निम्ति र नेपालीको भविष्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरूले भूमिका खुल्नुपर्नेमा जोड दिए।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिका स्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरूमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नुपरेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताए।
कार्यक्रममा संगठनमा आबद्ध भई शिक्षण पेसामा लागेर सेवा निवृत्त भएका र दीर्घ सेवा प्रदान गरिरहेको एक सय सात शिक्षकलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।